काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको वैठक बुटवल उपमहानगरपालिकाको ढबाहमा बुधवार दिउँसोबाट सुरु भएको छ । वैठकमा देशभरका केन्द्रीय समितिका सबै सदस्यहरुको उपस्थिति रहेको छ । केन्द्रीय समितिको वैठकको ठीक केही दिन अघि मात्र केन्द्रीय समितिका सल्लाहकारहरुको वैठक नवलपरासीको बर्दघाटमा सम्पन्न भएको थियो । नवगठित सल्लाहकार समितिको उक्त बैठकले पार्टीको केन्द्रीय समितिलाई संघर्षका कार्यक्रमहरु पारित गर्न र कार्यान्वयन गर्नका लागि सुझाएको थियो ।
केन्द्रीय समितिको वैठकमा पार्टी महासचिव मोहन वैद्य ‘किरण’ले ‘केन्द्रीय कार्यालयको रिपोर्ट’ शीर्षकमा ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । महासचिवद्वारा पेस गरिएको उक्त प्रतिवदेन रिपोर्टमा वर्तमान राजनीतिक परिस्थिति, पार्टी कामको समीक्षा, संगठनसम्बन्धी काम र आगामी कामहरुको बारेमा उल्लेख गरिएको बताइएको छ । प्रतिवेदन रिपोर्टमा आगामी कामका बारेमा महत्वपूर्ण एजेण्डाहरु छलफलका लागि पेश गरिएको पनि बताइएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) ले लगभग एक वर्षसम्म सञ्चालन गरेको संगठन विस्तार तथा जनपरिचालन अभियानको यो वैठकले संश्लेषण गर्ने छ । वैठकको यो संश्लेषणपछि पार्टीले आगामी केही महिनाका लागि भावी कार्यक्रमहरु तय गर्ने छ । संगठन निर्माणपछि अब सापेक्षिक संघर्षका कार्यक्रमहरुमा जोड दिइने पनि बताइएको छ ।
केन्द्रीय समितिको यो वैठक मंसीर १२ गतेदेखि १८ गतेसम्म चल्ने छ ।






























