

Caption here (Yam Kumari Kandel, GPJ Nepal)
काठमाडौं । सल्यान जिल्लाको थापा गाउँमा सन् १९६५मा जन्मिएकी अधिकारवादी तथा जातिय उत्थानको आन्दोलनकी नेतृ उमादेवी वादी विश्वका एकसय महिलामा परेकी छन् । उनी नेपालको समग्र महिलाको आन्दोलनमा र वादी जाति तथा बादीजाति महिलाको आन्दोलनमा एक होनाहार नेतृका रुपमा चिनिन्छिन् । उनी नेपाली कांग्रेसको तर्फबाट प्रदेश नम्बर ७ को समानुपातिक उम्मेदवार भई प्रदेश सभासदका रुपमा निर्वाचित भएकी हुन् ।
उनको निरन्तर संघर्षले उनलाई आजको यो उचाइमा पुर्यायो । कुनै समयमा र अहिले सम्म पनि नराम्रो सोच र नजरले हेर्ने बादी जाति तथा यो जातिकी महिला भएर जातीय समाजको निकै नराम्रो हेपाइमा परेकी यी संघर्षशील महिलाको नामबाट सिंगो देशले नयाँ पहिचान पाएको छ । यिनी यो वर्षका १०० विश्व महिलाहरुमा १० नम्बरमा परेकी छिन् ।
नेपालमा चलेको जनयुद्ध र शान्ति प्रक्रिया सुरु भएपछि पनि कतिपय समस्याहरु असरल्ल परेका अवस्थामा बादी जाति महिला काठमाडौंको संसदभवन अगाडि आएर महिनौ धर्ना दिएर आफ्ना मागहरु राखेका थिए । त्यतिबेलाको सरकारलाई आन्दोलनकर्मी वादी महिलाहरुको तर्फबाट २६–बुँदे माग पत्र बुझाइएको थियो ।
त्यतिबेला २३ जिल्लाहरुबाट ५०० बादी आन्दोलनकर्मीहरु राजधानी सहर काठमाडौंमा ओर्लिएका थिए । तर सरकारले त्यसलाई त्यति महत्व दिएको थिएन । आन्दोलन त यतिसम्म पनि चर्किएको थियो कि तात्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले उमादेवी बादीलाई बालुवाटारमा बोलाएरै आन्दोलन स्थगित गर्न अनुरोध गर्दै उनीहरुका मागहरु पूरा गर्ने वचन दिएका थिए ।
जीवनमा निकै उतार चढाब बेहोरेकी उमा बादी अहिले आफूले पाएको सम्मान देशले पाएको, सबै नेपालीले पाएको, नेपाली महिलाले पाएको र त्यसभित्र बादी महिलाले पाएको बताउँछिन् ।