विषय प्रवेश
कलाको विकास भएपछि कलाचिन्तनको प्रक्रिया पनि आरम्भ भयो । कलाभन्दा पनि कलाचिन्तनचाहिँ दर्शनसँग जोडिएर विकसित भएको छ । वास्तवमा कलाचिन्तनको आधार दर्शन रहँदै आएको छ । दर्शनका फलकमा उभिएरै कलासम्बन्धी चिन्तनले आकार ग्रहण गरेको देखिन्छ ।मार्क्सवादी कलाचिन्तन भौतिकवादी अझ द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित कलाचिन्तन हो भने उत्तर आधुनिकतावादी कलाचिन्तन नयाँ प्रकारको आदर्शवादी विधेयवादी कला चिन्तन हो ।
नव मार्क्सवादी र उत्तर मार्क्सवादी चिन्तन रुपमा मार्क्सवादी देखिए पनि सारतः यसले आदर्शवादमै आश्रय लिएको छ । यति बेला एउटा विभ्रम र अन्योलको स्थिति सिर्जना गरेर भौतिकवादी अर्थात् मार्क्सवादी कलाचिन्तनलाई असामयिक सिद्ध गर्ने र नव आदर्शवादी कलाचिन्तनलाई सामयिक सिद्ध गर्ने प्रयास भइरहेको छ । यो काम विशेषतः वृद्ध पुँजीवाद र अझ साम्राज्यवादको सांस्कृतिक कर्मका रुपमा भइरहेको छ । ठीक यसै पृष्ठभूमिमा यहाँ मार्क्सवादी, उत्तर मार्क्सवादी र उत्तर आधुनिकतावादी कलाचिन्तनको मीमांसा गर्दै यिनका दार्शनिक मूल मर्मको तुलनात्मक अनुशीलन गर्ने प्रयास गरिएको छ ।
२. मार्क्सवादी कलाचिन्तन : कलाचिन्तनको भौतिकवादी पद्धति
कला के हो ?
कला के हो भन्ने सम्बन्धमा अनेक सम्प्रदायका आ–आफ्ना मान्यताहरु छन् । प्लेखानोभका विचारमा कला सामाजिक परिघटना हो । मार्क्सवादी दृष्टिमा यसको जन्म श्रमप्रक्रियाका बिचबाट भएको हो र यो सामाजिक चेतनाको एउटा रुप हो, जो सुन्दरका नियमहरुबाट निरुपित हुन्छ वा आका र ग्रहण गर्छ । यो विचारधाराको एउटा रुप हो, तर यसमा हुने सुन्दरका तत्त्वले यसलाई विचारधाराका अन्य रुपबाट बेग्ल्याउँछन् । अर्को शब्दमा यो बिम्बका माध्यमबाट जगत् (यथार्थ को पुनः सिर्जन हो । यो प्रवृत्तिमूलक र प्रयोजनपरक हुन्छ ।
अर्को किसिमले भन्दा कला पनि एउटा मानवीय उत्पाद हो । जीवनयापनका क्रममा र अथवा मान्छेले आफ्नो अस्तित्व कायम गर्ने र आफूलाई पूर्ण बनाउने क्रममा उत्पादनको प्रक्रियामा अनिवार्यतः सहभागी हुन्छ । यसमा मान्छेले बाह्य (भौतिक जगत्य/थार्थ को आत्मीकरण र आत्मको बाह्यीकरण गर्ने वा आत्मको वस्तु रुपान्तरण गर्ने काम गर्छ र त्यस प्रक्रियामा मान्छेले विभिन्न वस्तुको उत्पादन गर्छ । कला तिनै उत्पादनमध्येको एक हो । अन्य उत्पादसँगको यसको भिन्नता के हो भने अन्य उत्पादनमा आत्मको निषेध गरेर पनि उत्पादन हुन्छ, तर यसमा आत्मको उपस्थिति बाक्लो र बलशाली हुन्छ ।
यो अन्य श्रमजस्तै मानव आवश्यकता र लक्ष्य प्राप्तिका लागि यथार्थको रचना हो तर कला भएकाले (र सुन्दरका तत्वद्वारा निर्मित भएकाले यसमा मानवीय सारतत्त्व (आत्म)को अभिव्यक्तिको सामथ्र्य श्रमका अन्य उत्पादका तुलनामा ज्यादा हुन्छ । कला बाह्य जगत् (यथार्थको आत्मीकरण र आत्मको बाह्यीकरण (वस्तु रुपान्तरण) को महत्वपूर्ण माध्यम हो । कलामा मान्छेका आत्मको बाह्यीकरण मात्रै हुँदैन, (बाह्य) प्रकृतिको आत्मीकरण हुने हुँदा त्यो अझ मानवीय हुन पुग्छ ।
वास्तवमा मानव अस्तित्व भन्नु आत्मको बाह्यीकरण (जगतीकरण) र बाह्य जगत्को आत्मीकरण हो . यी दुई तत्त्वबाहेक ब्रह्माण्डमा अर्को तत्व छैन । अनि मान्छेको आत्म (आत्मिक चेतना) ले मात्र उसको अस्तित्व पूर्ण हुँदैन । मान्छे भन्नु मानवीकरणको विशिष्ट प्रक्रिया र त्यसको परिणति हो । मानवीकरणको प्रक्रियाको तात्पर्य पूर्ण र समर्थ मनुष्य बन्नु हो ।
मनुष्यका आत्मगत शक्तिको बाह्य जगत्सँगको तादात्म्य स्थापित नभई उसले पूर्णता प्राप्त गर्दैन । मान्छे त्यसै हदसम्म अस्तित्वमा रहन्छ जुन हदसम्म श्रमका माध्यमद्वारा उसले आफ्ना सारभूत (आन्तरिक÷आभ्यन्तरिक) शक्तिलाई वस्तु रुपान्तरित गर्दछ । यसरी मानवीकरणको प्रक्रिया अर्थात् पूर्ण सामथ्ययुक्त मान्छे बन्ने कुरा भनेको आत्मको बाह्यीकरण वा वस्तु रुपान्तरणको प्रक्रिया हो । यो काम कलासाहित्यका माध्यमबाट प्रभावकारी रुपले सम्भव हुन्छ ।
मार्क्सवादी कलाचिन्तनको मूल मर्म :
आत्म (आत्मिक चेतना) र बाह्य (भौतिक जगत्/यथार्थ) तत्वबिचको सम्बन्ध
मार्क्सवादको विकाससँगै मार्क्सवादी कलाचिन्तनको पनि विकास भएको हो । मार्क्सवादले कला (साहित्य) लाई अधिरचनाका रुपमा व्याख्या गर्छ र अधिरचनारुपी कला सम्बन्धित समाजको (आर्थिक) आधारको विचारधारात्मक प्रतिबिम्बनका रुपमा अस्तित्ववान् हुन्छ भन्ने मान्यता राख्दछ ।
उक्त आधारमा कुनै समाजको आधार अर्थात् उत्पादक शक्ति र उत्पादन सम्बन्ध जस्तो छ, त्यसकै अभिव्यक्ति कलासाहित्यमा हुन्छ वा यसो भनौं त्यसको प्रतिबिम्बन कलासाहित्यमा हुन्छ –मार्क्स, मिश्र, पृ. ३)) मा) । यसले के पनि स्वीकार गर्दछ भने आधारमा आउने परिवर्तनले अधिरचनालाई पनि परिवर्तित गर्दछ । कार्ल मार्क्सले राजनीतिक अर्थशास्त्रको आलोचनाको भूमिकामा भनेका छन्– ‘‘भौतिक जीवनको उत्पादन पद्धतिले नै हाम्रो सामाजिक, राजनीतिक र बौद्धिक जीवनको प्रक्रियालाई अनुकूलित गर्दछ । मनुष्यको चेतनाले उसको अस्तित्वको निर्धारण गर्दैन, अपितु उसको सामाजिक अस्तित्व (वा भौतिक जीवन) ले उसको चेतनाको निर्धारण गर्दछ” (मिश्र, पृ. ३) १ मा उद्धृत) । यसरी हेर्दा कुनै पनि समाजको उत्पादन पद्धति र उत्पादन सम्बन्ध त्यहाँको भौतिक जीवन हो अथवा त्यो सामाजिक अस्तित्वको नियामक हो ।
त्यसैले मार्क्सले भनेझैँ त्यही सामाजिक अस्तित्वरुपी उत्पादन सम्बन्धले कलारुपी चेतनाको निर्माण गर्दछ । मार्क्सले अधिरचनाका रुपहरुलाई विचारधाराको अथवा आधारको विचारधारात्मक प्रतिबिम्बनको संज्ञा दिएका छन् । आर्थिक धरातल (आधार) माथि उभिएको विशाल अधिरचनालाई मार्क्सले विचारधारात्मक अधिरचना भनेका छन् । यसबाट राजनीति, धर्म, कानुन, दर्शन जस्तै कलासाहित्य पनि विचारधाराकै एउटा रुप हो भन्ने स्पष्ट हुन्छ । साहित्यसम्बन्धी मार्क्सवादी मान्यताका यस सन्दर्भमा प्रथमतः दुईवटा कुरा उल्लेखनीय र विचारणीय छन् ।
पहिलो कुरा, के (आर्थिक) आधार (वा उत्पादन सम्बन्ध) प्रमुख हो र त्यसकै विचारधारात्मक प्रतिबिम्बन कलासाहित्यमा हुन्छ भन्नुको तात्पर्य कलासाहित्यको रुप र अन्तर्वस्तुलाई आधारले निरपेक्ष रुपमा प्रभाव पार्ने र निर्धारण गर्ने काम गर्दछ र त्यसको स्वायत्त सत्ता हुँदैन भन्ने हो त ? यो प्रश्न मार्क्सवादी साहित्य चिन्तनका सन्दर्भमा अत्यन्त महत्वपूर्ण प्रश्न हो । यसैलाई आधार बनाएर नव मार्क्सवादी, उत्तर मार्क्सवादी र उत्तर आधुनिकतावादी चिन्तक/चिन्तनले मार्क्सवादमाथि आक्रमण गर्ने गरेका छन् । यसलाई उनीहरुले मार्क्सवादको आर्थिक सङ्कुचनवाद भनी आरोप पनि लगाउने गरेका छन् । यसबारे धेरै अघि एङ्गेल्सले दिएको जवाफ निकै ऐतिहासिक महत्वको छ । उनी भन्छन् :
इतिहासको भौतिकवादी अवधारणा अनुरुप अन्तिम रुपमा इतिहासको निर्धारक तत्व भनेको वास्तविक जीवनको उत्पादन र पुनः उत्पादन हो । न मार्क्सले र न मैले नै यो भन्दा बढी केही पनि दाबी गरेका छौं । त्यसैले यदि कसैले आर्थिक आधार एक मात्र निर्धारक तत्त्व हो भनी भन्छ भने उसले उक्त प्रस्थापनालाई अर्थहीन र विसङ्गत कथनमा रुपान्तरित गर्दैछ । आर्थिक स्थिति आधार त हो, तर अधिरचनाका थुप्रै तत्त्वहरुले ऐतिहासिक सङ्घर्षहरुलाई प्रभावित तुल्याउँछन् र थुप्रै अवस्थामा त्यसको रुपलाई पनि निर्धारित गर्दछन् … हामी हाम्रो इतिहास बनाउँछौं, तर (सर्वप्रथम) अत्यन्त निश्चित प्राक्कल्पना र अवस्थाहरु अन्तर्गत । तीमध्ये आर्थिक कुराहरु अन्ततः निर्णायक नै हुन्छन् । तर राजनीति आदि र अझ परम्पराहरु जसले मानव मस्तिष्कलाई गाँजिरहन्छन्, तिनले निर्णायक रुपमा नभए पनि एक हदसम्म भूमिका निर्वाह गर्दछन् (स्टोरी, ६) मा उद्धृत) ।
एङ्गेल्सको उपर्युक्त भनाइको आशय के हो भने कला साहित्य जस्ता अधिरचनाका रुपहरु प्राथमिक शक्ति होइनन्, तर पनि ती ऐतिहासिक परिवर्तनमा अथवा सामाजिक स्थायित्वमा सक्रिय माध्यम हुन सक्छन् (स्टोरी, ६!) । वास्तवमा ऐतिहासिक परिवर्तन र समाज विकासको निर्णायक र आधारभूत तत्व उत्पादन पद्धति र त्यसमा आउने परिवर्तन नै हो, तर त्यसलाई गति दिने र ऊर्जा दिने काममा अधिरचनारुपी (अन्य तत्व जस्तै) कला साहित्यको पनि भूमिका हुन्छ ।
यसरी आधार र अधिरचनाको भूमिका दोहोरो नै हुन्छ । एकातिर अधिरचनाले आधारलाई अभिव्यक्त गर्नुका साथै वैधता प्रदान गर्दछ भने अर्कातिर आधारले अधिरचनाका रुप र अन्तर्वस्तुको निर्माण र निर्धारण गर्दछ (स्टोरी, ६)) । निष्कर्ष के हो भने आधार (उत्पादन सम्बन्ध र पद्धति) केन्द्रीय वा निर्णायक हुन्छ भन्ने कुरालाई यान्त्रिक ढङ्गले र अन्यले आरोप लगाएझैं साँच्चिकै आर्थिक सङ्कुचनवादी ढङ्गले लिनु हुँदैन र एङ्गेल्सले भनेझैं कलासाहित्यको समाजरुपान्तरण वा ऐतिहासिक परिवर्तनमा महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरालाई पनि आत्मसात् गर्नु पर्छ । यसले सम्बद्ध कालखण्डको आधारलाई मात्र अभिव्यक्त गर्दैन अपितु त्यसको रुपान्तरणमा समेत सहकारी भूमिका निर्वाह गर्दछ ।