माथि नेकपा तल एमाले–माके

माथि नेकपा तल एमाले–माके

काठमाडौं । नेकपामा पार्टी एकताको संक्रमण गहिरिंदै गएको छ । प्रदेश र स्थानीय तहमा एकताको प्रक्रिया अघि बढ्न सकेको छैन । बरु उल्टै केन्द्रमा गुटबन्दी सुरु भएको छ । स्थानीय र प्रदेशले केन्द्रतिर औंला उठाइरहेका छन् । केन्द्रले प्रदेश र स्थानीय तहतिर औंला ठड्याएको छ ।
एकतापछि केन्द्रकै पनि कार्य विभाजन भएको छैन ।

केन्द्रीय समितिका सबै सदस्यहरु अहिले कार्यक्षेत्र विना आआफ्नै काममा व्यस्त छन् । दुईवटा अध्यक्षहरुले निर्णय नै दिन सकिरहेका छैनन् । केन्द्र निकै केन्द्रीकृत छ । यसमा अध्यक्ष द्वयको सिण्डिकेटले काम गरिहेको छ ।

प्रदेश र स्थानीय तहको एकताका लागि संयोजन समिति निर्माण गरिए पनि त्यसले काम गर्ने वातावरण बनिरहेको छैन । तल्लो तहमा एमाले र माओवादी केन्द्रका बीचमा भावनात्मक एकतासम्म पनि छैन ।

भागबण्डा गरेर गरिएको एकतालाई वास्तविक एकतामा पुर्याउन निकै कठिनाइ भएको छ । निर्वाचनका बेला गरिएको गठबन्धन एकतामा रुपान्तरण हुन निकै समस्या भइरहेको एकताका लागि निर्माण गरिएका संयोजन समितिका संयोजक तथा सदस्यहरुले बताउँदै हिंडिरहेका छन् ।

उनीहरुका अनुसार एकताका लागि विचार विमर्श, छलफल, बहस तथा भावनात्मक कुनै पनि कार्यक्रम स्थानीय तथा प्रादेशिक तहमा लान सकिएको छैन । केन्द्रमा नेताहरु मिले भनेर यान्त्रिक रुपमा एकता गर्नु पर्ने अवस्था सिर्जना भएकाले यो फलदायी नहुने पनि हुनसक्ने उनीहरुभित्र त्रास कायमै छ । स्कूलिङ तथा प्रशिक्षणका कुनै पनि कार्यक्रमहरु कार्यकर्ता तथा जनस्तरमा लगिएको पनि छैन । नेताहरु र संयोजन समितिहरु ‘एस् म्यान’ को खोजीमा रहेकाले पनि समायोजन जटिल बनिरहेको विश्लेषकहरुको भनाइ छ ।