
काठमाडौं । नेपालका शासकहरुले शिक्षक्षेत्र उठानका लागि भनेर अनेकौं नाटक गरे पनि हरेक शैक्षिक सत्र विना पाठ्यपुस्तक सकिने गरेका छन् । सरकारी वाचा शैक्षिक सत्र आउनु भन्दा पहिल्यै स्याल हुइँयाका रुपमा यो पटक त देशैभर पुस्तक पुर्याइन्छ भन्ने हुन्छ । तर सरकारी भ्यागुताको धार्नी कहिल्यै पनि पुग्दैन र देशभरका विद्यार्थीहरु विना पाठ्यक्रम र पाठ्यपुस्तक वार्षिक परीक्षामा सहभागी हुन्छन् ।
यो वर्ष पनि सरकारले पाठ्यपुस्तकको छपाइमा केही पनि ध्यान दिइएको छैन । बजेट भने स्वाहा पारिसकिएको छ । दूर दराजका विद्यार्थीहरु अहिले पनि विना पुस्तक स्कूल जाने र विना पढाइ वार्षिक परीक्षामा बस्ने छाँट देखिएको छ । छपाइको प्रक्रिया अझै सुरु भएको छैन । कहिले छपाइ होला र कहिले पुस्तक वितरण होला ?
यस वर्षको शैक्षिक सत्रमा पाठ्यक्रम परिवर्तनको नाटक गरेर शिक्षा मन्त्रालय चर्चामा आयो । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले गणित विषय हटाएर नकारात्मक रुपमा निकै चर्चामा आए । अज्ञानी र अल्पज्ञानीको नाम पनि कमाए । उनका सहपाठीहरु भन्छन्– पढ्दाका बखत उनी गणित विषयमा सधैं असफल हुने भएकाले गणित विषयप्रति उनको नकारात्मक धारणा छ ।
चलिरहेको शैक्षिक सत्रमा प्रधानमन्त्रीदेखि शिक्षामन्त्रीसम्मले विद्यालय जान नसक्ने बालबालिकाको अभिभावकत्व लिने भनेर भर्ना अभियान पनि सुरु गरे । तर अहिले भर्ना गरिएका भनिएका ती बालबालिका कहाँ छन् ? तिनको शिक्षादीक्षा कस्तो छ, अभिभावकत्व लिएका यी ठूलाबडाहरुलाई मतलब नै छैन । ती बालबालिकाको अभिभावकत्व लिने भनेको के हो स्वयम् शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई सम्म चासो छैन । यो नाटक देखाउनका लागि थियो सकियो ।
पाठ्यक्रम फेरिएको भनेर हल्लाखल्ला गरेपछि विदेशी दातृ निकायहरुको आँखा पर्ने र शिक्षित कामदार उत्पादन गरिदिएका छौं भनेपछि ऋणदान पनि पाइने मनशायका साथ मन्त्री पोखरेलले उक्त कार्य गर्न मन्त्रालयमा सबैलाई उक्साएका थिए । अहिले परिवर्तित भनिएको पाठयक्रमको निकै तीतो आलोचना मात्र भयो र विदेशीले पनि आँखा झिम्क्याएनन् । यो नाटक पनि सडक नाटक झैं भएर सकियो ।
रहे कुरा, फेरि पनि पाठ्य पुस्तकका । पुस्तकहरु छापिने सुरसारमा पनि छैनन् । तिनको छपाइ तथा ढुवानीको टेन्डर पनि गरिएको छैन । कुन ठाउँबाट कहाँ पुग्छ, त्यसको अत्तोपत्तो छैन । कुन जिल्ला वा क्षेत्रलाई कति आवश्यक पर्छ पाठ्यपुस्तक त्यसको तथ्यांक र लेखाजोखा पनि छैन ।




























