वर्ग संघर्षको प्रक्रियामा विकसित मार्क्सवाद

वर्ग संघर्षको प्रक्रियामा विकसित मार्क्सवाद

मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो एक ठाउँमा स्थिर रहेर कुनै पनि ठाउँ वा क्षेत्रको मात्र विज्ञान रहेर बस्न सक्दैन । यो निरपेक्ष पनि हुँदैन । सार्वभौम विज्ञान हुनुको हैसियतले संसारभरका उत्पीडित राष्ट्र तथा जनताको बीचमा अन्तरघुलित रहँदै आएको छ । त्यसैले गर्दा नै यो संसारभरका उत्पीडित जनताको मुक्तिको दर्शन हुँदै आएको छ ।

समाज जिकासको प्रक्रियासँगै मार्क्सवादको पनि विकास हुँदै आइरहेको छ । यही प्रक्रियामा यो आपूर्णताबाट पूर्णतातिर अघि बढिरहेको छ । यो प्रक्रियामा यसलले नयाँनयाँ ज्ञान र अनुभवहरुले आफूलाई समृद्ध र उन्नत बनाउँदै लगिराखेको छ । समयक्रमसँगै यसका प्रस्थापना र र निष्कर्षहरु आधारभूत सिद्धान्तलाई विकृत नपार्ने गरी उन्नत हुँदै गएको छ ।

मार्क्सवादले यसको व्यवहारिक पक्षलाई प्रयोगको पक्षका रुपमा लिन्छ । यस अवस्थामा यो वर्गसंघर्षका रुपमा अभिव्यक्त हुन्छ । यो श्रृङ्खलावद्ध रुपमा अघि बढ्दछ । स्थान विशेषका हिसावले जर्मनमा जन्मिएको मार्क्सवादलाई रुसी भूमिमा लेनिनले त्यहाँको विशिष्टतामा प्रयोग गर्नुभयो । रुसमा प्रयोगमा आउँदा मार्क्सवादका तीनवटै संघटक अंगहरु दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा विकास भएर आयो । यो रुसी भूमिमा लेनिनले गर्नु भएको सिर्जनात्मक प्रयोग थियो । यो रुसी भूमिमा तात्कालिन समयको सापेक्षतामा प्रयोगमा आएको थियो ।

यो मजदूरहरुको बाहुल्यता भएको तर सामन्तवादी राज्यसत्ताका विरुद्धमा भएको एक सफल विद्रोहको मोडल थियो । सुरुमा मार्क्सवादलाई त्यहाँको विशिष्टतामा प्रयोग गर्दा त्यसका मोडल के हुने भन्नेमा निकै अप्ठेरो थियो । तर लेनिनले सुझबुझका साथ द्वन्द्वात्मक भौतिकवादी तरिकाले यसको सफल प्रयोग गर्नुभयो । सशस्त्र विद्र्रोहको यो मोडल आज संसारभर मजदूर विद्रोहका लागि एक आदर्शको मोडल भएको छ ।

सन् १९१७ मा सम्पन्न भएको यो मोडललाई महान अक्टुवर क्रान्तिको रुपमा लिइन्छ । उक्त सफल क्रान्ति पश्चात् मार्क्सवाद आफैमा एक मञ्जिलमा विकास भएर उभियो । यो अब मार्क्सवाद–लेनिनवाद भएर उभियो । विश्वभरका श्रमजीवी जनताले यसलाई आफ्नो अकाट्य मार्गदर्शक सिद्धान्तका रुपमा अपनाउन थाले । यसले विश्वमा मार्क्सवादमाथि रहँदै आएका केही भ्रमहरु व्यवहारिकरुपमा नै साफ पार्यो । पहिलो, आलोचकहरुले मार्क्सवाद काल्पनिक छ, यो व्यवहारमा प्रयोग हुनसक्दैन भनेर निकै आक्रमण गरेका थिए । यो व्यवहारमा प्रयोग भैछाड्यो ।

दोस्रो कुरा, यो संसारभर एकै पटक मात्र प्रयोगमा आउने भनी मार्क्सले ठोकुवा गरेकाले संसारमा एकै खालको राजनीतिक तथा सामाजिक वातावरण बन्दैन, त्यसैले यो असंभव छ । तर यो पनि देशीय विशिष्टतामा प्रयोग हुने र विकसित हुनसक्ने यथार्थतालाई लेनिनले उजागर गरिदिनु भयो । तेस्रो कुरा, यो टिक्न गाह्रो भएको बताइएको थियो, तर यसले समाजवादको चरणवद्ध समग्र विकास गरेर अघि बढ्यो । चौथो, सर्वहारा वर्गले राज्यसत्ता चलाउने र टिकाउने क्षमता राख्छ, त्यो पनि पुँजीवादीहरु भन्दा श्रेष्ठ र उत्तमरुपमा भनने प्रमाणित भयो ।

चीनमा यसको प्रयोग पनि भौगोलिक र सामजिक विशिष्टताका हिसावले अर्को चरणमा मार्क्सवादको विकास हुन गयो । माओले मार्क्सवाद–लेनिनवादलाई चिनियाँ विशिष्टतामा प्रयेगमा ल्याउनु भयो । त्यहाँको समाज अर्धसामन्ती तथा अर्ध औपनिवेशिक अवस्थामा थियो । यो अवस्था रुसको लेनिनको पालाको भन्दा निकै भिन्द र अनौठो खालको थियो । यहाँ मार्क्सवाद–लेनिनवाद कसरी प्रयोगमा आउन सक्छ भन्ने कुरा बहस र पकिल्पनाकै विषय थियो ।

यस्तो अवस्थामा माओले निकै अप्ठ्यारा र डरलाग्दा चुनौतीका बाबजुद दीर्घकालीन जनयुद्धको नयाँ मोडल सफलतापूर्वक प्रयोगमा ल्याए । नवीन तथा कठीन वर्गसंघर्षको मोडल मार्फत् चीनमा माओले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुभयो । यो कृषि क्रान्तिको रुपमा गाउँबाट सहर घेर्ने रणनीति अनुसार सम्पन्न गरिएको थियो । सन् १९४९मा माओको नेतृत्वमा सम्पन्न यो मोडलले आज मार्क्सवादलाई मार्क्सवाद–लेनिनवाद–माओवादका रुपमा विकास गरेको छ ।

वैचारिक रुपमा यसलाई मार्क्सवादको तस्रो चरण भनेर लिइने गरिएको छ । माओले विकास गरेका विचारहरु सार्वभौम भएकाले यसलाई विश्वभर माओवादका रुपमा स्वीकार गरिएको छ । यसमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद तीनवटै संघटक अंगहरुमा विकास भएको छ ।

वर्गसंघर्षको प्रक्रियासँगै मार्क्सवाद आज मार्क्सवाद–लेनिनवाद–माओवाद मा यसरी विकसित हुन पुगेको छ ।