कांग्रेसमा क्रियाशील सदस्यताको खारेजीको तयारी

कांग्रेसमा क्रियाशील सदस्यताको खारेजीको तयारी

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको खारेजीको तयारी गरिरहेको छ । यो प्रस्ताव मंसीरमा अयोजना गरिने महासमितिको भेलाबाट पारित गरिने अपेक्षा गरिएको छ । क्रियाशील सदस्यताको खारेजीपछि नेपाली काँग्रेसमा अब खुल्ला सदस्यहरु मात्र रहने छन् ।

आफूलाई सबैभन्दा बढी प्रजातान्त्रिक पार्टीको रुपमा दावा गर्दै आएको काँग्रेसमा अहिलेससम्म क्रियाशील र खुल्ला गरी दुईखाले सदस्यहरुले भूमिका निर्वाह गर्दै आएका छन् । त्यसमा पनि काँग्रेस पार्टीको आन्तरिक प्रजातान्त्रिक अभ्यासमा क्रियाशील सदस्यहरुले मुख्य भूमिका निर्वाह गर्दै आएका थिए । खुल्ला सदस्यहरु भने काँग्रेसी विचारमा आवद्ध समर्थक र शुभचिन्तकका रुपमा रहँदै आएका थिए ।

अब खुल्ला सदस्यहरुको मात्र पार्टी बनेपछि काँग्रेसी पार्टीभित्र प्रजातान्त्रिक अभ्यास कसरी चल्ने चलाइने हो, सोको प्रस्टता हुन बाँकी छ । हालसम्म आफूलाई मास पार्टीका रुपमा बताउँदै आए पनि काँग्रेसमा संगठित रुपमा क्रियाशील सदस्यहरु रहिआएका थिए ।

काँग्रेस पार्टीको उच्च र सर्वोच्च निकायका रुपमा महासमितिलाई लिने गरिएको छ । यो महासमितिमा १४०० सदस्यहरु रहेका छन् ।