मलेसियाले टुंग्यायो वैदेशिक रोजगारका कुरा

प्रकाशित मिति : २०७५ कार्तिक १३

काठमाडौं । नेपाल सरकार र मलेसियाली सरकारबीच केही महिनाअघिदेखि चलिरहेको नेपाली कामदारका विषयमा नयाँ समझदारी भएको छ । नेपालका श्रम मन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधन मन्त्री एम कुलेसागरनले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेपछि वैदेशिक रोजगारका कुराको टुंगो लागेको हो ।

समझदारी अनुसार नेपाली श्रमिकहरु अब कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउने भएका छन् । त्यहाँ जाने हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच लगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्ने सहमतिमा उल्लेख छ । हालसम्म कुनै न कुनै रुपमा लिंदै आएको लेवी अब जाने कामदारहरुका हकमा भने लागू नहुने भएको छ । पहिले तिनवर्ष रहेको श्रमिकाको काम गर्ने अवधि छोट्याएर २ वर्ष मात्र बनाइएको छ ।

श्रमिकले काम गरे वापत दिइने तलव वैंक खातामार्फत् दिइने छ र त्यो रकम न्यूनतम पारिश्रमिक भन्दा कम हुने छैन ।
नेपाली श्रमिकहरुको परिवारका सदस्यहरुको निधन भएमा १५ दिनका लागि नेपाल आउन पाउने छन् । यसका साथै कार्यरत नेपाली कामदारको कामकै क्रममा चोटपटक लागेमा, अंगभंग भएमा वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूताबासलाई जानकारी गराउने छ । साथै मृतकको शव रोजगारदाताले नै नेपाल पठाउने छन् ।

हाल नेपालले घोषित वा अघोषित रुपमा १०० जति देशहरुमा नेपाली कामदारहरु पठाउने गरेको छ । यस अतिरिक्त १२ वटा देशहरुमा रोजगारीको प्राथमिकीकरण गर्ने सुरमा नेपाल सरकार लागेको छ । हाल कतार र ओमानसँग नेपालले श्रम समझदारीको पहल अघि बढाइरहेको छ । नेपालबाट दैनिकजसो १५०० कामदारहरु विदेशमा रोजगारीका लागि जाने गर्दछन् ।