क्रान्तिकारी माओवादी डडेल्धुराको सम्मेलन सम्पन्न, सेक्रेटरीमा लालकिरण

क्रान्तिकारी माओवादी डडेल्धुराको सम्मेलन सम्पन्न, सेक्रेटरीमा लालकिरण

डडेल्धुरा । नेकपा (क्रान्तिकारी माओवादी) डडेल्धुराको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले जिल्ला सेक्रेटरीमा लालकिरणलाई निर्वाचित गरेको छ । असोज २६ गते जिल्ला समन्वय समितिको सभाहलमा कीर्तिपुरमा सम्पन्न भएको सम्मेलनले लालकिरणको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

“सबैखाले नवसंसोधनवाद, पनरुत्थानवाद, यथास्थितिवाद र प्रतिक्रियावाद विरुद्घ निरन्तर आन्दोलन ! राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितताको लागि चौथो जिल्ला सम्मेलन !” भन्ने मूल नाराका साथ भव्यतापूर्वक सम्पन्न भएको सम्मेलनको उद्घाटन पार्टी केन्द्रीय सदस्य क्षितिजले मैनबत्ति बालेर गरेका थिए । सम्मेलनमा सुदुरपश्चिम प्रदेश सदस्य तथा कंचनपुर जिल्ला सेक्रेटरी बिक्रान्त, अखिल ( क्रान्तिकारी )का केन्द्रीय नेता तथा प्रदेश संयोजक राम बहादुर महरा र बझाङ्ग जिल्ला सेक्रेटरी गौरब सिंह लगायतले सम्मेलन सफलताको बधाई तथा शुभकामना सहित सारगर्भित मन्तव्य राखेका थिए ।

सयौं प्रतिनिधि तथा पर्यवक्षेकको उपस्थितिमा भएको सम्मेलनको बन्द सत्रमा अध्यक्ष मंडलको गठन गर्दै आयोजक समिति बिघठन भएको घोषणा गरियो । बन्द सत्रमा लालकिरणले “यथास्थितीको क्रम भंङ्गनै आजको अनिवार्य आवश्यकता” नामक शिर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बृहत छलफल पश्चात उक्त प्रतिवेदन पारित गरिएको थियो ।

सम्मेलनले गरेका निर्णयहरु सार्वजनिक गर्न नवनिर्वाचित सेक्रेटरीले जारी गरेको वक्तव्यमा भनिएको छ, “यस ऐतिहासिक चौथो जिल्लासम्मेलनले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको सुनिश्चितताका लागि जसरी हामी बिगतमा जनताका माझ उपस्थित थियौं, त्यसैगरी नयाँ आउने चुनौतिहरुसंग सामना गर्ने र समाजमा भईरहेका संस्थागत, कानुनी र राजनीतिक आडमा हुने÷गरिने भ्रष्टाचार, अन्याय, अत्याचार, हत्या, हिंसा बलात्कार, महङ्गी, तस्करी, कालाबजारी, मुल्यबृद्घि लगायतका गलत राजनीतिक आचरण र सामाजिक रुपले जातीय छुवाछुत तथा अन्धविश्वास कुरिती, कुप्रथा र जनहित विपरितका क्रियाकलापहरुलाई सदाका लागि अन्त्य गर्ने महत्वपूर्ण निर्णय गर्दै यस्ता कार्य गर्ने, गराउने जनविरोधी तप्काहरुलाई भण्डाफोर तथा जनकारबाही गर्ने दृढ संकल्पसहित जनताका पक्षमा उभिने निर्णय गर्दै चौथो जिल्ला सम्मेलन भव्यताका साथ सु–सम्पन्न भएको यसै विज्ञप्ति मार्फत जानकारी गर्दछौं ।”