काठमाडौं । भूकम्प पीडितहरुको घर निर्माणको प्रक्रिया अझै पनि नसकिएको हुनाले तेस्रो वर्ष पनि उनीहरुले टहरामा दसैं मनाउने भएका छन् । सरकारले उपलब्ध गराएको सहयोग रकम, सहुलियत ऋण र घर निर्माणका लागि खटिएका प्राविधिकहरुको कतै कमी र कतै अपुगका कारणले यसो हुन गएको सम्बन्धित सबै पक्षहरुको स्वीकारोक्ति रहेको छ ।
लगातार तीन वर्षसम्म पनि निर्माण कार्य पूरा हुन नसकेपछि यसपालाको दसैंसम्म पनि केवल ३० प्रतिशत भूकम्प पीडितहरुले मात्र नयाँ घरभित्र दसैं मनाउन पाएका छन् । बाँकी ७० प्रतिशत मानिस अझैं पनि टहरामा बसिरहेका छन् ।
नेपालको भूकम्प पीडितहरुको पुनर्स्थापना कार्यमा निकै ढिलाई भएको भनेर दाता राष्ट्रहरुले दिनु पर्ने थप राहत तथा अनुदान सहयोग दिन अनिच्छा देखाइनुले पनि यस्तो अवस्थाको सिर्जना हुन पुगेको हो । यो भन्दापनि महत्वपूर्ण कुरा त के हो भने सरकार स्वयम् पुनर्निर्माणको काममा निकै ढिलासुस्तीका साथ लागि पर्यो ।
जनतामा पनि पुनर्निर्माणमा उत्साह र जागरुकता दीगो रुपमा रहन सकेन ।