काठमाडौंमा वर्गदृष्टि साप्ताहिकको ग्राहक अभियान सुरु

काठमाडौंमा वर्गदृष्टि साप्ताहिकको ग्राहक अभियान सुरु

काठमाडौं । वर्गदृष्टि प्रकाशन प्रा.लि.बाट प्रकाशित हुँदै आइरहेको वर्गदृृष्टि साप्ताहिकको ग्राहक अभियान काठमाडौंमा सुरु भएको छ । शुक्रवार दिउँसो भोटाहिटी चोकबाट सुरु गरिएको उक्त अभियान असन, इन्द्रचोकहुँदै न्युरोडसम्म विस्तार गरिएको थियो । पत्रिकाको ग्राहक विस्तार अभियान अन्तर्गत काठमाडौंमा यो अभियान सुरु गरिएको हो ।

वर्गदृष्टि साप्ताहिक अभियान देशैभर चलिरहेको यसका सम्पादक ईन्द्र राउतले जानकारी दिएका छन् । उनका अनुसार यो अभियान जनताका घरदैलोमा पुर्याउन सम्बन्धित सबै पक्षहरु लागि परेको र पार्टी संगठनले पूरा सहयोग गरिरहेको छ । पार्टी तथा पार्टी मातहतका जनवर्गीय संगठनहरु यसमा सहभागी भएको बताइएको छ ।

प्रकाशक रामसिंह बुढाथोकी भन्छन्– ‘हामीहरुले यो अभियान देशैभर चलाएका छौं । पार्टीको प्रकाशनका रुपमा यसलाई थप स्थापित गर्ने हामीहरुको उद्देश्य रहेको छ । देशको राष्ट्रिय स्वाभिमान धराशायी हुँदै गएको बेला, जनताका जनजीविकामाथि दलाल, तस्कर र भ्रस्टाचारीहरुले धावा बोलिरहेका बेला, गणतन्त्रको नाममा जनविरोधीहरुको निरङ्कुशता लादिदै गएको बेलामा जनतालाई जागरुक बनाउन र खबदारी गर्न प्रकाशित भइरहेको एक मात्र पनपक्षीय पत्रिका वर्गदृष्टिलाई जनतामाझ पुर्याउनु यो अभियानको लक्ष्य रहेको छ ।’

काठमाडौं जिल्लामा यो अभियानको नेतृत्व गरिरहेका सुरेश श्रेष्ठका अनुसार व्यक्तिको वैचारिक झुकाव र चाहनाअनुसार ग्राहक बन्ने प्रक्रिया सापेक्षतामा अघि बढिरहेको छ । अभियान भनेको आफैमा निरन्तर चलिरहने एक प्रक्रिया पनि भएकाले यसलाई समयानुकुल अघि बढाइराखिने पनि श्रेष्ठको भनाइ छ ।

अभियानमा सहभागी नेतृ शारदा महतका अनुसार अभियान उत्साहजनक रहेको र यसलाई जनताको घरदैलोमा पुर्याउन निरन्तरता दिइरहनुपर्ने छ ।

अभियान टोलीका अर्का नेता खगेन्द्र छन्त्यालका अनुसार वर्गदृष्टि साप्ताहिकको ग्राहक अभियान काठमाडौंमा निरन्तर चलाइने र यसलाई आमजनताको घरदैलोमा पुर्याई जनताको वास्तविक आवाजका रुपमा स्थापित गरिने छ ।