म्याग्दीको गुर्जा हिमाल आरोहीको मृत्यु

म्याग्दीको गुर्जा हिमाल आरोहीको मृत्यु

काठमाडौं । नेपालमा विरलै आरोहण गरिने म्याग्दी जिल्लाको गुर्जा हिमाल आरोण गर्न भनी गएका ९ जना आरोहीहरु सबैको शुक्रवार मृत्यु भएको जनाइएको छ । धौलागिरि गाउँपालिकामा पर्ने यो हिमाल आरोहणका लागि प्रोजेक्ट वे ट्रेकिङ एजेन्सीमार्फत् पाँच जना कोरियन नागरिक र चारजना नेपाली नेपाली गाइड तथा भरियाहरु त्यहाँ पुगेका थिए । उनीहरुको मृत्युको कारण आँधी तथा हिम पहिरो भएको बताइएको छ ।

म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुको बेलैमा खोजी गर्न नसकिए पनि मौसममा भएको सुधारपछि मात्र हेलिकप्टरबाट खोजी गरिएको थियो । बेसक्याम्पमा नै बेपत्ता भएका उनीहरुका खोजी भने पहिले स्थानीय जनताले नै गरेका थिए । स्थानीय जनताका अनुसार टाँगिएका पालहरु च्यातिएका र उडाइएका र आरोहीहरुका अनुहार चिन्न नसकिने गरी घाउचोट लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खोजी गरिएको थियो । हावाहुरी तथा हिम पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको भनी स्थानीयहरुले पनि बताएका छन् ।

६ हजार ४६५ मिटर अग्लो गुर्जा हिमाल आरोहणका लागि १० वर्षपछि मात्र आरोहीहरु त्यहाँ पुगेका थिए । तर यो प्रयास पनि असफल नै रह्यो । हिमाल आरोहीहरु गएको देख्दा खुशी भएका त्यहाँका स्थानीयहरु अहिले निकै स्तब्ध बनेका छन् । पर्यटन व्यवसायको प्रवर्द्धन हुने भनी आशा लिएर बसेका स्थानीयहरुलाई यो घटनाले निराश बनाएको छ ।

आरोहीहरुले ६० दिनभित्र उक्त हिमाल चढिसक्ने गरी पर्यटन विभागबाट अनुमति लिएर गएका थिए ।