जीवन के हो ?
जीवन एउटा यात्रा हो । जीवन यात्राका पनि क्रमहरु हुन्छन् । यात्रा शुभ पनि हुन्छ र अशुभ पनि । कहिले यात्रा फलादायी हुन्छ, कहिले यात्रा निष्फल । तर पनि जीवन निरन्तर यात्रामा अघि बढिरहन्छ ।
प्रयत्न त हुन्छन् नै । सफल भए पनि असफल भए पनि । यी प्रयत्नहरु संघर्षमय हुन्छन् । मानिसको जीवनमा प्रकृति, मानव निर्मित विज्ञान तथा मनोविज्ञानहरुले प्रभाव पारिरहेका हुन्छन् । संघर्षका आयामहरुसँग जोडिएको छ जीवन । जीवनमा दर्शनको ठूलो प्रभाव रहेको हुन्छ ।
जीवन र जगतमा यिनै कुराहरु रुपान्तरण हुँदै अघि बढिरहन्छन् । जीवनमा देखासिकीले केही पनि हुँदैन । विना त्याग, तपस्या, बलिदान जीवन सफल हुन सक्दैन । जीवन सफल हुनका लागि निरन्तर संघर्ष जरुरी हुन्छ ।
जीवनमा सेवाको ध्येय वहुजन जनताको हितका लागि हुनुपर्छ ।
मानव समाजमा रहेका विभिन्न जीवनहरुमा तपाईले राजनीतिक जीवन नै किन रोज्नु भयो ?
मानव जाति आफैमा विभिन्न वर्गमा विभाजित छन् । तिनका दिनचर्या पनि फरक फकर छन् । धनीदेखि गरीबहरुसम्म छन् । आकाशतिर हेर्यौं भने केही पनि देखिदैन । तर धरतीमा हेर्यौं भने यही हो जीवन देख्ने । हामी आफैमा प्राणी हौं ।
मानिस पृथ्वीको चेतनशील प्राणी हो । तथापि मानव बीचमा विभेदहरु छन् । राजनीतिक देखि सांस्कृतिक विभेदहरुले तिनलाई शासन गरिरहेका छन् । यसैका कारण बहुसंख्यक मानव जातिले कष्टमय जीवन बिताइरहेका छन् । सम्पन्न मानिसहरु यो कुरा बुझ्दैनन् । माक्र्सले यसलाई वर्गीय कुरा भनेर वर्गीय स्वार्थसँग जोड्नु भएको छ ।
यो समाज सुधार र परिवर्तनका लागि नै आमूल राजनीतिक सोच, राजनीतिक बाटो र राजनीतिक आन्दोलन जरुरी छ । विना संघर्ष समाज र संसार परिवर्तन हुन्छ भनेर यदि कसैले सोच्छ भने त्यो असंभव र नहुने कुरा हो ।
मैले यसैकारण राजनीतिक जीवन रोजे ।
त्यसो भए पहिले त सोचमा नै परिवर्तन ल्याउनु पर्छ, होइन र ?
हो, पहिले त सोचमा नै परिवर्तन ल्याउन जरुरी छ । त्यसपछि बाटोको तय गरिनु पर्छ । कुन बाटो हिंड्ने ? संघर्षमय जीवनले परिवर्तनका आशाका ढोकाहरु देखाउँछ । यसले मानिस, समाज र राज्य सत्तामा परिवर्तन ल्याउँछ । परिवर्तनबाट नयाँ वस्तु पैदा हुन्छ । यहीबाट नै समाजवाद र साम्यवाद तर्फको बाटो खुल्दै जान्छ ।
तपाईलाई यो समानताको संसार आउँछ र यो संभव छ भन्ने लाग्छ ?
यो त समयक्रमको चक्र हो । जीवन चर्खा हो । आदिम साम्यवादी युुगमा चेतना न्यून थियो, तर समाजमा समानता थियो । तेरोमेरो भन्ने व्यक्तिगत सम्पत्ति नै थिएन । कसैको निजी भन्ने केही थिएन । आज आएर हरेक क्षेत्रमा देखिएको सामाजिक विभेद हिंजो थिएन ।
त्यो समानताको अवस्थाबाट आजको असमानताको अवस्थामा आइपुग्न लाखौं वर्ष लागेको थियो । यो क्रम चर्खा झैं घुमेर समानताको समाजवाद र साम्यवाद आई नै छाड्ने छ । हामीले सम्पन्न गर्न सकेमा यो युग वैज्ञानिक समाजवादको युग हो ।
वैज्ञानिक समाजवादले गति लिंदै जाँदा हामी साम्यवादको चरणमा पुग्ने छौं । त्यतिबेला राज्य र राज्यका अवयवहरु केही पनि रहने छैनन् । अर्थात् मान्छेले मान्छेमाथि दमन गर्ने संयन्त्रको अन्त्य हुने छ । यो कुरा विज्ञानसम्मत छ र साचो पनि छ ।
यो हतार गरेर, अत्तालिएर, छटपटाएर हुने पनि देखिदैन । यसलाई कसैले कल्पनाका कुरा भनेका छन् भने कसैले नहुुने कुरा पनि । तर यो विज्ञानसम्मत कुरा हो । निरन्तर संघर्षमा लागिरहनु पर्छ ।
तपाईको यतिलामो संघर्षको यात्राका क्रममा केही मात्रात्मक परिवर्तन पनि भएकोे अनुभूत गर्नु भएको छ ?
समाज निकै छोटो समयमा छिटोछिटो परिवर्तन भइरहेको छ । यसले संघर्षका स्वरुपहरुमा पनि परिवर्तन र बदलाबको माग गरिरहेको छ । यो मात्रात्मक परिवर्तन पनि हो ।
समाजमा अन्तरनिहित अन्तरविरोधहरु कहिले सुक्ष्म रुपमा त कहिले देखिने गरी छालमय उभार र उतारको रुपमा पनि चल्ने गर्दछन् । यी सबै कहिले सफलताका उचाइमा पुग्छन् त कहिले असफलता र धक्काका पहिरोहरुमा पनि अभिव्यक्त हुन्छन् ।
नेपालमा मेरै जीवनकालमा पनि धेरै उतारचढाबपूर्ण जारभाटाहरु देखिएका छन् । दशवर्षको जनयुद्ध पनि भएको छ र जनआन्दोलनहरु पनि भएका छन् । समाजमा केही परिवर्तन त देखिएकै छ ।
नेपाली सामाजिक जीवनमा देख्न मिल्ने गरी भएका परिवर्तनहरु केही छन् ?
नेपाली समाजमा अनुभूत नै गर्ने गरी केही सामाान्य परिवर्तनहरु भएका छन् । नेपालमा राजामहाराजाहरुले शासन गरेको इतिहास छ । यसका विरुद्ध जनताले गरेको संघर्ष को इतिहास छ । पछिल्लो चरणमा आएर गणतन्त्र स्थापना भएको छ । यो जनताको निरन्तर संघर्षको परिणाम र प्रतिफल हो ।
समाजमा रहेका व्याप्त रुढीगत संस्कारहरुमा कमी आएको छ । आनीबानी र व्यवहारमा परिवर्तन आएको छ । समाजमा एक जातले अर्को जातलाई सम्मान गर्ने परिपाटी बस्न थालेको छ । जातीय विभेद हराउँदै गएको छ ।
नीति निर्माण गर्ने थलोमा समावेशिता र समानुपातिकताको कुराहरु भइरहेका छन् । यी परिवर्तन नेपालका सन्दर्भमा मात्रात्मक, तर देखिने गरी भएको परिवर्तनहरु हुन् । यी सारमा जनवादी भन्दा पनि पुँजीवादी सुधारका कुराहरु हुन् । तर अनौठो कुरा त के भयो भने नेपालमा पुँजीवादी परिवर्तनका कतिपय कुराहरु कम्युनिष्टले जिम्मेवारीका रुपमा गर्नैपर्ने अवस्था सिर्जना भयो ।
पछिल्लोचरणमा आएर सञ्चारप्रविधिले पारेको प्रभाव कत्तिको महसुस गर्नुभएको छ ?
यसले निकै प्रभाव पारेको छ । नेपाल लगायतका देशहरु यसको प्रभावमा निकै परेका छन् । सञ्चारको त नेपालमा पनि अकल्पनीय विकास भयो । भर्खरै हो, निकै परिवर्तन नै आयो । छापादेखि विद्युतीय सञ्चारहरु हाम्रा अगाडि छन् । सामाजिक सञ्जालले त यथार्थतालाई बाहिर नै ल्याएको छ ।
जहाँसम्म प्रविधिको कुरा हो, पहिले प्रविधि नदिने तर निर्मित वस्तु दिने चलन पनि थियो । हाल प्रविधि नै बेचबिखन नै बस्तुहरु बन्न गएका छन् ।
यो वाणिज्य पुँजीवादको विकाससँगै विकसित भएर आएको हो । नेपालमा भने यो दलाल पुँजीवादको स्वरुप धारण गरेर आएको छ ।
(शाहीले ग्राण्डी हस्पिटलमा स्वास्थ्य लाभ लिइरहनु भएको छ –संपादक)