काठमाडौं । गणतन्त्र स्थापनाका लागि युद्ध र आन्दोलन हुँदै गरिरहेका बखत प्रम ओलीले आन्दोलनकारीहरुलाई ‘बयल गाडा चढेर अमेरिका पुग्न नसकिने’ उपदेश दिइरहेका थिए । उनी आज गणतन्त्रका निर्वाचित प्रधानमन्त्री छन् । उनको घैंटोमा गणतन्त्रको न त सोच र कार्यक्रम छ, न त गन्धसम्म नै । उनी टुपीदेखि पैतलासम्म गणतन्त्र विरोधी छन् ।
नेपालमा यसो हुँदै पनि आएको छ । २००७ सालको आन्दोलनपछि राणा शासन फालियो, तर मोहनशमशेर राणा नै पहिलो प्रधानमन्त्री भए । २०४६ मा पञ्चायत फालियो, तर पञ्चायती व्यवस्थाका हिमायती लोकेन्द्र चन्द प्रधानमन्त्री भए । २०६२, ०६३ मा जनयुद्ध र जनआन्दोलनका कुरा गरियो, गिरिजाप्रसाद प्रधानमन्त्री भए । संघीय संविधान बन्यो । संघीयताका कट्टर विरोधी केपी ओली प्रधानमन्त्री बने । यो नेपालमा चलिआएको ऐतिहासिक विरासत हो ।
हाल केपी ओली के गरेपछि संघीयता कार्यान्वयन विफल हुन्छ भन्ने ध्याउन्नमा लागिपरेका छन् । भारतलगायतका शक्तिहरुको पनि यसमा प्रत्यक्ष हात छ । केपी ओलीको ध्वाँसो परेको पुरानो दिमागमा पञ्चतन्त्र वाहेक केही पनि छैन । आएको छ, गणतन्त्र । त्यसैले उनी केन्द्रीकृत शासनव्वस्था चलाउने मुडमा छन् । भारत लगायतका विदेशी शक्तिहरुले सिंहदरबारबाट जसरी देशभरका प्राकृतिक स्रोतसाधन हत्याउने र सीमा मिचेर खाने गरिहेका छन्, संघीयतामा त्यो संभावना निकै कम छ ।
त्यसैले ओलीलाई संघीय पञ्चतन्त्रको मोडल स्थापना गर्न निकै हौस्याइरहेका पनि छन् । ओली पनि त्यसै गर्दै छन् । काठमाडौंमा स्वीच दाबेर अरुण तेस्रो बेच्दा जुन दलाल स्वाद आएको थियो, त्यो उनका लागि अविस्मरणीय भई बसेको छ । त्यसैले उनी संघीयताको नाममा पञ्चतन्त्र नै स्थापना गर्न प्रयत्नरत छन् ।
ठीक छ संघीयता पनि भन्ने तर अधिकारहरु सबै केन्द्रमा राख्ने । प्रदेशहरुलाई हिंजोका विकास क्षेत्रका नाम मात्र परिवर्तन गरिदिने । स्थानीय तह वा सरकारलाई गाविस तथा नगरपालिकासरह काम छँदैछ ।
वर्तमान ओली सरकार यही धन्दामा अहोरात्र खटिरहेको छ ।