
निर्मला पन्तको बलात्कारपछि हत्या गरियो । उनको हत्याले हामी जस्ता सबै चेलीहरुमा आत्म सुरक्षाको डर पलाएको छ । के कहीं पनि ठाउँ छैन त हाम्रो सुरक्षको लागि ? यस्तै तर्कनाहरु उठिरहन्छन् मनका । मेरा पनि ससाना भन्ट्याङभुुन्टुङ छोरा छोरीहरु छन् । तिनको आँखामा हेर्छु । हाँस्छन् । निर्दोष छन् । खान लाउन जन्मिएका । यो संसारमा जीउन जन्मिएका । खोई पुनर्जन्म त हुन्छ कि हुँदैन, यो जन्ममा त निकै त्रास पो हुने भयो त ? मै आमा पनि सुरक्षित नभएपछि विचरा अबोध फुच्चीहरु !
तर मन थामिदैन । खोई कुन्नी कताकता बग्छ ? झसंग झस्कन्छ । आफ्नै घर त हो भन्ने पनि लाग्छ । किन डराइछु भन्ने पनि लाग्छ । तर रेडियो बजिहाल्छ । फेरि पनि सुन्छु कञ्चनपुरमा मात्रै छसातजना बलात्कृत भए रे ।
निर्मला पन्त घरबाहिरकाबाट बलात्कृत भइन् । र मारिइन् । उनले कसै गरे पनि न्याय पाऊन् । मेरो जोड छ, आग्रह छ र आवाज पनि । खै, अब त घरभित्रै आफन्तबाट पनि बलात्कार भयो रे भन्ने सुनिन्छ । के हो यो महिला र पुरुषबीचको सम्बन्ध ? भन्न त भन्छन् हामी जनावरबाट नै विकास भयौं रे । तर जनावरमा पनि यस्तो घटना त देखिन्न । लाजै भयो, समाजमा देखिन पनि । आफन्त र साथीहरु, छिमेकी र चिनेजानेकाहरु भन्न पनि ।
जन्मियो त अविश्वास हैन र ? मलाई त अब कुन जातिमा, कुन संस्कारमा, कुन तहमा रहेकामा, कति ठूला र सानामा, कति पढेका र कति नपढेकामा यस्तो पो लाग्न थालेको छ ।
सुदुर पश्चिम तराईमा बसेका हामीहरु पहाडे धेरै छौं । यतैमाथि पहाडबाट पनि आएका छौं र देशभरबाट पनि आएर मिसिएका छौं । खै, सबै मान्छेहरु नै छौं । तर त्यस्ता नराम्रा घटना किन घट्छन् । अहिले सबै मिसिएर हो कि ? सबैले संस्कार छाडेर हो कि समाज त नासियो त ।
पहिले पनि हाम्रो पश्चिममा नारीमाथि विभेद त थिए । शायद संसारमा नै होला पनि । हाम्रोमा देउकी प्रथा थियो । देउतालाई चढाउने । ऊसलाई एक्लै मन्दिरमा बसाल्ने । छारीचेली न हो । कति नराम्रा गर्दा हुँदा होलान् ।
अर्को हाम्रो झुमा बनाउने चलन । धर्मका हिसाबले । तर संस्कारका हिसाबले नराम्रो लाग्छ अहिले । उतिबेला बुझिएन र हो कि ? अहिले त छिःछिः जस्तो लाग्छ । झुमाका बारेमा बनेका कथा र गीतहरु राम्रा छैनन् । झुमालाई एउटी रसिक केटी वा महिलाका रुपमा चित्रित गरिएको हुन्छ । झुमा भनेपछि मस्किने, जिस्किने, छिल्लिने, यौन कामुकता र उन्माद भएकी जस्तो गरी प्रस्तुत गरिन्छ । यो राम्रो चलन होइन ।
छाउपडी उसतै छ । पढेलेखेकाले झन् ननिको मान्छन् । एकलै गोठमा बसाल्छन् । अहिले पो समाज टाठोबाठो भयो र ? उहिले त कसले भनोस् अत्याचारका कुराहरु । एक त महिला त्यो पनि सुनसान ठाउँमा एक्लै । क्षेत्री बाहुन या खस समाजको यो घिनलाग्दो प्रथा महिला माथिको नराम्रो विभेद नै हो ।
अहिले नाङ्गा फिलिमहरु चलेका छन् । समाज छाडा भयो । गीत पनि आफन्तसँग बसेर सुन्न पनि लाज लाग्ने खालका छन् । यस्तो बेला यी सबैलाई राम्रो कसरी गराउने होला ? चेतनाको ठूलो अभियान चलाउनु पर्छ होला जस्तो लाग्छ ।
सरकारमा गएका, कर्मचारी भएका र व्यापारी भएका सबै मानिसहरु यही संस्कारबाट हुर्किएका छन् । तिनको मानसिकताले नयाँ आचरण र व्यवहार थाह कहिले पाउँला ?































