पत्रकार न्यौपानेमाथि गुण्डागर्दी गर्नेलाई यथाशिघ्र पक्राउ गरी कारबाही गर्न क्रान्तिकारी पत्रकार महासंघको जोडदार माग

प्रकाशित मिति : २०७५ भाद्र २८

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ बाँकेका सदस्य हेमराज न्यौपानेमाथि गुण्डागर्दी गर्नेहरुको एक समूहले २०७५ भदौ २७ गते राती विनाकारण एक्कासी धारिलो हितयार प्रयोग गरी गरिएको आक्रमणप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष ईन्द्र राउतद्वारा हस्ताक्षरित विहीवार प्रेसित एक विज्ञप्तिमार्फत् उक्त कुरा जनाइएका हो ।

विज्ञप्तिमा उक्त गुण्डागर्दीको घोर विरोध एवम् तीव्र भर्त्सना गरिएको छ साथै आक्रमणकारीहरुलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारको गृहप्रशासनसित जोडदार माग पनि गरिएको छ ।

देशमा राज्यसत्ता र सरकार संरक्षित केही अवाञ्छित घटनाहरु देशभर फैलँदै गएको स्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ– ‘पछिल्ला केहीदिन यता देशव्यापी पत्रकारहरुमाथि आक्रमण गरिएका घटनाहरु बढेर गएका छन् । एकातिर राज्यले ल्याएको मुलुकी (फौजदारी र देवानी) संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्य पक्षबाट हस्तक्षेप भए गरिएका घटनाहरु सार्वजनिक भइरहेका छन् भने अर्कोतिर विभिन्न अपराधिक तथा भ्रष्ट छवि भएका व्यक्तिहरुको निशानामा पनि पत्रकारहरु पर्दै आएका छन् । भयरहित वातावरणमा पत्रकारिता गर्ने तथा पत्रकारहरुको पेशागत एवम् भौतिक सुरक्षाको प्रत्याभूति हुने वातवरण निर्माणका लागि हाम्रो संगठन सरकारसित विशेष माग गर्दछ ।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएर अभिव्यक्ति स्वतन्त्रतामाथि नै बन्देज लगाउन खोजेको र सरकार विस्तारै तानाशाही बन्दै गएको कुरालाई इंगित गर्दै विज्ञप्तिमा थप भनिएको छ– ‘यसै सिलसिलामा समाचार लेखेकै कारण हत्कडी लगाएर प्रहरी हिरासतमा राखिएका पत्रकार राजु बस्नेतदेखि भौतिक आक्रमणमा परेका पत्रकार न्यौपानेसम्मका घटनाहरुप्रति राज्यलगायत सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै हाम्रो संगठन पत्रकार बस्नेतको अविलम्ब विनाशर्त रिहाई र पत्रकार न्यौपानेमाथि आक्रमण गर्नेहरुलाई पक्राउ गरी कडा कारबाही गर्न पुनः जोडदार माग गर्दछ । साथै, प्रेस, अभिव्यक्ति तथा विचार स्वतन्त्रतालाई प्रतिबन्ध लगाउने गरी ल्याइएको मुलुकी संहिताका प्रावधानहरुलाई अविलम्ब खारेज गर्न समेत पुनः जोडदार माग गर्दछ ।’

यदि यस्ता घटनाहरु जारी रहेमा पत्रकारहरु सडकमा ओर्लिएर निरंकुशता विरुद्धको पत्रकारितालाई सडकबाटै जारी राख्ने चेतावनी दिंदै ‘प्रेस, अभिव्यक्ति तथा विचार स्वतन्त्रताको पक्षमा उठ्दै गरेको आन्दोलनलाई कार्यदलको नाममा निस्तेज नपारियोस्, त्यसो गर्न खोजिए श्रमजीवी, जनपक्षीय तथा क्रान्तिकारी पत्रकारहरुले त्यसको कडा प्रतिवाद गर्ने र आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने चेतावानी पनि यसै वक्तव्यमार्फत् दिन चाहन्छ’ भनिएको छ ।