काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ३ नं. प्रदेशले काठमाडौंमा विहीवार दिउँसो नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपालका सीमाक्षेत्र मिचेर भारतको नक्शामा पारेको विषयलाई लिएर एक विसाल प्रदर्शन सम्पन्न गरेको छ । काठमाडौको सुनधाराबाट निकालिएको उक्त विसाल विरोध प्रदर्शन न्युरोड हुँदै ईन्द्रचोकमा गएर कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई संबोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले ‘कुनै पनि देशले आफ्नो देशको नक्शा आफैले बनाउने र एक इञ्च भूमिको रक्षाका लागि पनि उठिबस्ने गरेको’ सार्वभौम सच्चाइलाई औल्याउँदैै नेपालमा भने ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका मिचिएका सैंयौं भूभागहरु भारतको सीमाभित्र पर्ने गरी भारतले बनाइदिएको नक्सा नेपालका प्रधानमन्त्रीको कार्यालदेखि देशभरका प्रशासनिक कार्यालयहरुमा आदेश दिएर टाँग्न लगाउने गरेको कुरा खुलासा गरे ।
‘कालापानी भारततिर पारेको नक्शा र तदनुरुप तयार पारिएको निशान छाप नेपालका सरकारी, गैर सरकारी तथा सार्वजनिक ठाउँहरुबाट नहटाउँदासम्म निरन्तर संघर्ष जारी राखिरहने’ भन्दै अध्यक्ष गजुरेलले ‘यसका लागि जनआन्दोलनको उठान गर्न आफूहरु तयार रहेको’ बताए ।
‘सरकारले दिल्लीको इशारा र निर्देशनमा नक्कली नक्साहरु र निशाना छाप प्रयोग गरिरहेको कुरा हामीले जनतामाझ खुलासा गरेपछि ओलीको मन्त्रीमण्डलको बैठक बसेर नेपालकै नापी विभागले तयार पारेको नक्शा प्रयोग गर्ने भनी निर्णय भएको’ भन्दै अध्यक्ष गजुरेलले यो नापी विभागका महानिर्देशक र विभागीय मन्त्रीले पनि स्वीकार गरेको बताए ।
हाल नक्शामा मिचिएको कालापानीको मात्र कुरा गर्यौं भने पनि नेपालको ६२ वर्ग किलोमिटर भूभाग भारतले मिचिरहेको भन्दै गजुरेलले ‘महाकालीको वास्तविक सीमाना कुटीयाङ्दीदेखि कालापानीसम्मको भूभाग जोड्दा कूल ३१० वर्ग किलोमिटर नेपाली भूभाग भारतले मिचेको हुनाले यसको फिर्तिका लागि देशभक्त जनगणतान्त्रिक मोर्चाले जनस्तरमा नै ठूलो जनआन्दोलनको उठान गरिने’ बताएका छन् ।
कथित बहुमत र ‘वाम’ आवरणमा बनेको सरकारको दलाल तथा आत्मसमर्पणकारी चरित्रका कारण आज देशले यो विडम्बनापूर्ण स्थितिको सामना गर्नु परिरहेको स्थितिमाथि प्रकाश पार्दै गजुरेलले देशको राष्ट्रिय स्वाभिमानको रक्षा केवल देशभक्तिपूर्ण भावना र विचारबाट मात्र संभव भएको बताए ।
विरोध प्रदर्शनमा ‘कालापानी लगायत अतिक्रमित नेपालका भूभाग फिर्ता गर’, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो’, ‘भारत अतिक्रमित भूभाग गायब पारिएका नक्शा तुरन्त हटाऊ’, ‘कालापानी हटाइएको सरकारी निशाना छाप तुरन्त हटाऊ’, ‘भारतीय विस्तारवाद मूर्दावाद’, ‘दलाल सकार मूर्दावाद’, ‘देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल जिन्दावाद’, ‘नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद’ आदि नाराहरु लगाइएका थिए ।
कोणसभाको कार्यक्रमको सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ३ नं. प्रदेशका संयोजक पवन श्रेष्ठले गरेका थिए । उनले देश अब सिक्किमीकरण र भुटानीकरणको दिशामा अघि बढेकाले आदोलनको विकल्प नरहेको बताएका थिए ।