दुखाइमाथि घुँडा धसे प्रचण्डले

दुखाइमाथि घुँडा धसे प्रचण्डले

काठमाडौं । ठीक एक हप्ताह अघिको सोमवार । निर्दोष साबित भएका छबिलाल पौडेल छुट्ने दिन । उनलाई लिन आफन्तहरु पुगे । बाजागाजासहित कारागार पुगेका आफन्तहरु देखेर उनी भावविह्वल भए ।

कारागारको छुट्ने छुटाउने प्रक्रिया सुरु भयो । उनले छुटेको भनी बेहोरा पारेको सोही मितिको कागमा सहीछाप गरे । आखिर डिल्लीबजार कारागारबाट बाहिरिए उनी । एक्कासी उनका आँखा रसाए ।

हिजोका ‘प्रचण्ड’ र आजका पुष्पकमल दाहालको बारम्बारको निकै चर्को दबाबपछि उनी असार २४ गते सर्वोच्च अदालतमा उपस्थित भएका थिए । वर्ष ७८ का उनी आफ्नै पिंढि र आँगन परदेश हुने अवस्थाका थिए । अलिक शरीर निख्खर भएकाले मात्र न हो । ‘मैले भनेको मान्नु भएन भने पुलिस आएर समातेर लैजान्छ जेल’, धम्की पनि थिए आजका दाहालका । परिवन्दमा पारेर राजनीति गर्ने कपटी मान्छे दाहाल ! के विश्वास ? हिंजो रातारात जनसेनाका शिविरहरुमा आफैले सरकारी सेना लगाएर कब्जा गराएको मान्छे !

तर के त्यति बिघ्न गद्दारका लागि अझैं घरआँगन हिंड्न मुस्किल हुने यो बृद्धअवस्थामा फेरि बलि दिनु पर्ने हो त ? तर उनलाई किटानी जाहेरीको परिबन्द छ । त्यसमाथि दाहालको राजनीतिक स्वार्थ । उफ् ! कति घीनलाग्दो ! त्यसै त भन्दैनन गाउँघरमा ‘शोषक, फटाह, दलाल र गद्दारहरुले मरेपछि पनि दुःख दिन्छन् ।’ किटानी जाहेरीका आधारमा उनी डिल्ली बजार जेल हालिए ।

कहाँको देश र जनताका लागि आफ्नो प्राणको आहुती दिन हिंडेका मान्छे ! कहाँको आज सम्मान पाउने बेला ‘अपराधी’ करार भई जेलको बास ! उनले गंगामायालाई पनि देखेका र चिनेका छन् । पौडेल निर्विकार भई सरल भाषामा भन्छन्– ‘खोई त गंगामाायाहरुले कुरा बुझेनन् ।’ अर्को बक उनले कहिल्यै फुटाएनन्– ‘हाम्रै बल र पौरखले राज्यका हर्ताकर्ता बन्न पुगेका प्रचण्ड भनिनेहरुले पनि यसै दुखाइमाथि घुँडा धसे ।’

प्रचण्ड चितवनबाट विजयी भएका संघीय सभासद पनि हुन् । उनले चुनाव प्रचारका क्रममा छविलाल पौडेल परिवारलाई ‘तपाईहरुको मुद्दा म ढिसमिस गराइदिनछु, मलाई जिताउनुहोस् ।’ उनलाई देखाएर टोल भरिका मानिसहरुलाई आफूलाई भोट दिन ‘कन्भिन्स’ गर्ने प्रयास गरेका थिए दाहालले । पौडेल परिवारले त्यतिबेला नै पुष्पकमल दाहालको ‘दोहोरो दोहन’ गर्ने लिच्चड प्रवृत्ति राम्रै गरी नबुझेका होइनन् । तर आफू परिवन्दमा पारिएपछि गर्नु के ? युद्धमा मरेको भए पनि त्यै दाहालका लागि, अहिले जेल गए पनि त्यही दाहालका लागि ?

उनले बारम्बार भन्ने गरेका थिए– ‘पार्टीलाई मुद्दा हाल, मलाई होइन ।’ आखिर मुद्दा उनैलाई लाग्यो । दाहालको पार्टी त माओवादी नै रहेन, केको मुद्दाका कुरा ? ‘जनयुद्ध महापाप भएकाले त्यो पाप एमालेमा मिसिएपछि पखालिएको’ बरबराहटपूर्ण प्रवचनमा व्यस्त थिए दाहाल । तर त्यही गद्दारका लागि उनीलगायत १२ जना ज्यान अभियोगको गम्भीर आरोपसहित जेलको चीसो छिंडिमा वर्षदिन जस्ता लामालामा दिन काट्न बाध्य भए ।

आखिर जनताको एउटै प्रश्न छ, के यति ठूलो अपमान गरेको क्षतिपूर्ति पुष्पकमल दाहालले देलान् त छविलाल पौडेललाई ?