संगठन विस्तारपछि हामी संघर्षका कार्यक्रमहरु लिएर अघि बढ्दै छौं

प्रकाशित मिति : २०७५ भाद्र १९

- शारदा महत

 

यो पछिल्लो समयमा संगठन विस्तारको अभियान देशैभरि चलिरहेको छ । काठमाडौंको विशिष्टतामा कसरी गइरहेको छ ?

पार्टी केन्द्रीय समितिको बैठकले सांगठनिक सवालमा फेरि तीन महिने संगठन निर्माणको अभियान थप गर्यो । हामी काठमाडौं जिल्लाको बैठक बसेर यो तीन महिनाको थप संगठन निर्माणको अभियानलाई काठमाडौंको विशिष्ठताका अनुसार अगाडि बढाउने निर्णय गर्यौं । साउन महिना हामीले भेटघाटहरु, बैठकहरु, छलफलहरुलाई अगाडि बढायौं । भदौ महिनालाई हाम्रा जति पनि जातीय मोर्चाहरु छन्, संगठन छन्, तिनका भेला र सम्मेलन गर्ने भनेर सम्मेलनको महिनाका रुपमा छुट्यायौं । असोज महिनालाई हामीले प्रचारात्मक हिसाबले लिएर जाने निर्णय गरेका छौं । मुख्यतः युवाको मार्चपासहरुलाई अलिकति अगाडि बढाउने र त्यसपछि हामीले युवाको मार्चपास काठमाडौंको जिल्लाको संयोजनमा अगाडि बढाउने भनेर सोच बनाइसकेका छौं ।

मार्चपास भनेपछि अलि बढी क्रियाशीलता पनि आयो कि पार्टी संगठनमा ?

युवा संगठनलाई अहिलेको सवालमा अलि अगाडि बढाउनुपर्छ भन्ने हामीलाई विगतदेखि महसुस हुँदै आएको थियो । अहिले त त्यो झन् खड्किएर आएको स्थितिले युवा संगठनलाई अलि जागरुक बनाउने सवालतिर सोचिरहेका छौं । त्यसले मार्चपास अगाडि एक हदसम्म हामीले युवालाई शारीरिक तालिम र प्रशिक्षण दिने भनेर पनि तयारी गरेका छौं । र, अन्त्यमा त्यो सबै शक्तिलाई केन्द्रीकृत गरेर असोज २३ गते हामीले व्यापक रुपले युवा मार्चपासलाई लिएर जानु जरुरी छ भन्ने सोचेर तयारीमा लागिरहेका छौं ।

 

आन्तरिक सांगठनिक परिचालन र क्रियाशीलता कस्तो देखिइरहेको छ ?

अहिले जनपरिचालनका हिसाबले र सांगठनिक क्रियाशीलताको हिसाबले एक किसिमले अगाडि बढिरहेका छौं पनि । जति हामीले चाहिरहेका छौ, त्यो अनुसारले त्यति प्रगति त हुन सकिरहेका छैन । हाम्रो आन्तरिक शक्ति जति छ, त्यो शक्तिलाई हामीले संघर्षको रुपबाट पनि केही हदसम्म सहभागी गराउन पनि सकिराखेका छैनौ । हाम्रा बैठकहरु, भेलाहरु र सम्मेलनहरु एक ढंगले एउटा गतिमा लगिराखेका छौं । तर पनि अपेक्षित आवश्यकतालाई व्यवस्थापन गर्न बाँकी नै छ ।

अनि संगठन निर्माणको मात्रामा बढोत्तरी कत्तिको छ ?

उपत्यकामा प्रवेशको त्यस्तो लहर त आउने गरेको छैन । यहाँको मान्छेको चिन्तनहरु अलि बजारमुखी छन् । र, उभारमुखी पनि छन् । तर केही नेता तथा कार्यकर्ताको पंक्ति निरन्तर क्रान्तिका निम्ति भनेर खटिरहेको छ, डटिरहेको छ । यो निरन्तरताले जनतामा केही थप आशा र विश्वास पनि ल्याउन सफल भएको छ । संगठनमा नयाँ तप्का चाहीं त्यति आइराखेको छैन । पार्टीमा रहिरहेका क्रान्तिकारी पंक्ति एउटा आस्था र विश्वासका साथ विचारप्रवाह गर्दै संगठन निर्माणमा लागि रहनु भएको छ ।

जनताका बीचमा संगठन बनाउन जाँदा गाउँवस्तीहरुमा जनसम्बन्ध कत्तिको बिस्तार भएको पाउनुभएको छ ?

जनता हाम्रो पार्टी, हाम्रो लाइनप्रति सकारात्मक नै छन् । आखिर क्रान्तिकारी पार्टी एउटा विचार बोकेको भनेको नेकपा (क्रान्तिकारी माओवादी) नै हो भन्ने बुझाइ जनताको छ । तपाईहरु नै हो र यही पार्टी मात्र केही गर्ने छ भन्ने पनि छ । तर तपाईहरु अलि कमजोर हुनुभयो भन्ने अर्को एउटा कोण पनि जबर्जस्त रहेका छ । हामीले जनतालाई र जनताले हामीलाई आश्वासन पनि दिइरहनु भएको छ । यो पार्टीको भविष्य छ र यो पार्टीले नै देशको नेतृत्व गर्न सक्छ, त्यो आशा, अपेक्षा जनताले नै गरिरहनुभएको छ । तर क्रमिक रुपले जनता राज्यसत्ताबाट वितृष्णा पैदा हुँदै गइरहेको स्थिति र हामीसँग आकर्षण बढिरहेको स्थिति अनुसार हामीहरुले नयाँ कार्यक्रमहरु अघि बढाउनु पर्छ ।

वैचारिक आशावाद जनतामा देखियो । यसलाई के गरिएमा सांगठनिक स्वरुपमा ढाल्न सकिन्छ होला ?

अहिले म आपूmलाई यो अनुभव जनताको बीचमा जाँदा, कार्यकर्ताहरुको बीच जाँदै गर्दा पाइरहेको छु । मान्छेले आशावादी रुपमा हेरिरहेका छन् भन्ने मलाई लाग्छ । हामीले जनतालाई केन्द्रीकरण गरेर एउटा बाहिरी संघर्षका रुपमा अगाडि बढाउन सक्नु पर्छ । यसो गरेको खण्डमा आम जनता हाम्रो पार्टी र हाम्रो संघर्षतिर आउने सम्भावना ठूलै छ । अहिले हाम्रो शक्ति वैचारिक रुपमा भरपर्दो र सबैभन्दा अब्बल देखिए पनि सांगठनिक शक्तिका हिसाबले कमजोर छौं । भौतिक रुपमा अलिकति कमजोर भएका कारण जनताले अपेक्ष गरे अनुरुपको शक्ति प्रदर्शन हामीले गर्न सकिरहेका पनि छैनौ । यो भन्दा थोरै केही शक्ति प्रदर्शन गर्नसकिएमा जनताको लामबन्दी निकै ठूलो हुने देखिएको छ । तथापि आजको जनमानसमा एउटा ठूलो आशा, भरोसाको केन्द्रबिन्दु भनेका हामी नै हौं । हामीले सोचेअनुसार सिंगो काठमाडौं जिल्लाले पनि बिस्तारै मानिसहरुलाई संघर्षहरुमा आबद्ध बनाएर लिएर जाने कुरालाई नै केन्द्रीकृत गर्न थालेको छ । हामीले त्यही योजनास्वरुप नै मार्चपासलाई केन्द्रबिन्दु बनाएर अहिले सबै ठाउँमा हामीले सांगठनिक हिसाबले छलफल, बहस केन्द्रित गरेका छौं ।

अन्यत्रको सापेक्षता काठमाडौंमा केही संघर्षका कार्यक्रमहरु पनि भएका छन् । अलिकति केही झडप पनि भयो । सापेक्षतामा संघर्षलाई अगाडि बढाइराख्ने गरिरहेका छौं ।

संघर्ष र झडपका अनुभवहरुले तपाईलाई कस्तो खालको संघर्ष अघि बढाउनु पर्ला जस्तो लाग्छ ?

राज्य एकढंगले दमनकारी नीति लिएर उपस्थित भइरहेको छ । राज्यको यो दमनका नीतिका विरुद्ध आफै नउत्रिएर सुख नै छैन । जनताको अधिकारको निम्ति संघर्ष गर्ने अधिकार जनतामा निहित छ । आफ्ना विरुद्धमा हुने हरेक खालका दमनका विरुद्धमा जनता आफै उत्रिने छन् । मुख्यतः जनताले पाउने अधिकार नैसर्गिक अधिकार हो पनि । त्यो अधिकारलाई जसरी राज्यले पूरै बन्देज लगाउँदै गइरहेको छ, हुँदाहुँदा सरकारले जेलसम्म राख्ने भन्ने जुन ढंगको नीति लिएर आएको छ, यो पूरै जनताविरोधी छ । आन्दोलनलाई निश्चित ढंगले सोझ्याउनु पर्छ । यसका लागि सिंगो पार्टी पंक्ति प्रशिक्षित गराउने कुरा पनि जरुरी छ । अहिले सहज रुपले आन्दोलन गर्ने भन्दा पनि जसरी दुश्मनले गर्ने दमन गर्छ, त्यसको विरुद्धमा उत्रिनुपर्छ । त्यसरी उत्रियो भने मान्छेमा उत्साह पैदा हुन्छ । आन्दोलनले तागत, साहस र उत्साह पैदा गर्छ । आन्दोलनको सकारात्मक पक्ष यही हो ।

सापेक्षिक संघर्षका कार्यक्रमहरुमा प्रवेश गर्न थाल्नु भएको हो त ?

हो, अब संगठन निर्माणपछि संघर्षको विकल्प छैन । अब संगठनलाई क्रमशः संघर्षतिर लैजानु पर्छ । संघर्ष नगरेसम्म हामी अगाडि बढ्न सक्दैनौं भन्ने निचोडमा हामी पुगेका छौं । यो संघर्ष पार्टीको मनगढन्ते मात्र नभएर जनताको मागसँग पनि जोडिएको छ । निराशा, अभाव र उत्पीडनबाट थिचिएका जनता चौतर्फी रुपमा एक भएर उठ्न चाहिरहेका छन् । तर, त्यसको नेतृत्व कसले गरिदिने भन्ने उनीहरुको माझमा प्रश्न छ । यसले जनतामा भ्रम पैदा गरेको छ । स्वाभाविक रुपमा त्यसको नेतृत्व हाम्रो पार्टीले गर्नुपर्छ ।

अहिले भइरहेको करवृद्धि, मूल्यवृद्धि आदिले आम जनतालाई सकसको स्थितिमा पु¥याइदिएका छन्, राज्यले गरिरहेको जनविरोधी यी कार्यहरुको प्रतिरोध जनताको स्तरबाट हुन्छ नै त्यतिबेला नेतृत्व हामीहरुले गर्नुपर्छ । राज्य र राज्यले गरेका गतिविधिहरु नै देश र जनताको विरुद्धमा भएकाले जनता त्यसको विरुद्ध आन्दोलित हुँदैछन् । यस मानेमा जनता र हाम्रा एजेण्डाहरु मिल्छन् । यो प्रक्रियाले पार्टीलाई आन्तरिक रुपमा मजबुत बनाउँछ भने जनताको बीचमा भावनात्मक एकता, क्रियाशीलता र पार्टीप्रतिको विश्वासलाई बढाउँछ ।

त्यसो भए जनजीविकाका कुराहरु उठाएर खुला सडक संघर्षमा आउँदै हुनुहुन्छ ?

सैद्धान्तिक हिसाबले संघर्षको अवधारणा यही नै हो । कार्यदिशाले पनि यही कुरा नै बताउँछ, तर पनि जनताका बीचमा जनजीविकामा आइपरेका समस्याहरुलाई उठाएर संघर्षको स्वरुप दिनुपर्छ । यसैमा पार्टी देश र जनताको भलोमा छ ।

वर्तमान राज्यलाई कसरी हेरिरहनुभएको छ ?

वर्तमानमा वाम सरकार सत्तामा छ । जनताले सुधारका ठूला ठूला कामहरु हुन्छन् भनेर ठूलो अपेक्षा राखेका थिए । कम्युनिष्ट पार्टीको सरकार भएको हुनाले पक्कै पनि केही न केही गर्छ भन्ने आशा पनि थियो । तर आउँदै गर्दा राज्यले जसरी जनतामाथि शासन गर्नका लागि विविधखाले स्वरुप र हथ्कण्डाहरुको प्रयोग गर्न थालियो यसबाट जनता त्रसित हुन पुगेका छन् ।

जनता संसदीय व्यवस्थाले जो गए पनि जनताको पक्षमा काम गर्ने रहेनछ भन्ने बोध गर्न थालेका छन् । यो कुरा व्यवहारतः प्रमाणित पनि हुँदै गएको छ । ढाँट, छल र कपटका कुराहरु जनताले पचाउन सकिरहेका छैनन् । क्रमिक रुपमा जनता यो भ्रमबाट मुक्त हुँदै गएका छन् । यस्तो अवस्थामा आन्दोलन बेगर जनताका हकअधिकारहरु सुनिश्चित हुन सक्दैनन् ।