विगतले झस्काउँदा

विगतले झस्काउँदा

जलजला पत्रिकामा स्वतन्त्र क्रान्तिकारी हुँदा !

हामी हामीले भर्खरै जलजला पत्रिका निकाल्न सुरु गरेका थियौं । कामको आवश्यकताले आवश्यक जनशक्ति, क्षमता, प्रविधि, सरसामान र वातावरण बनाउँदो रहेछ । साथीहरु जम्मा पनि भयौं । ईशवर ज्ञवालीसँग २०५६ सालदेखि नै भेटघाट भएको थिथयो । पत्रिका कस्तो बनाउने र कसरी निकाल्ने भन्ने बारेमा उहाँले लेख्नुहुन्थ्यो ।

डिल्ली बजारमा हाम्रो पत्रिका निकाल्ने एउटा सानो कोठा थियो । ईश्वर ज्ञवाली, धर्मेश पोखरेल, म (जय लाहाल) र पुण्य आचार्य हामी सबै पत्रिका चलाउने टिममा थियौं । खेम थपलिया पनि हामीसँगै हुनुहन्थ्यो ।

काम चल्दै थियो । पत्रिकाले गति लिँदै थियो । एक दिन प्रहरीले त्यहाँ छापा मार्यो । हामी कोठा बाहिर निस्केको केही क्षणको समय मात्र भएको थियो । कुन्नी कसले खबर गरिदिएछ ? हामी अरु साथीहरुको त सामानहरु खासै थिएनन् पनि । तर ईश्वर ज्ञवालीका केही महत्वपूर्ण सामग्रीहरु छापामार्ने प्रहरीले लिएर गएछन् । क्यामरा र केही नगद पैसा पनि गुमे ।

काठमाडौं कमलादीको नजिकै पूर्वका चैनपुरे श्रेष्ठको घरमा हामीले पत्रिकाका लागि कोठा लिएका थियौं । उहाँ बडो रमाइलो र मिजासिलो मान्छे । मिलनसार पनि उत्तिकै । उहाँ माओवादी त होइन, तर असल मान्छे । म कोठामा बस्दा निकै सफा गरेर मात्र बस्ने बानी । कोठा पनि प्रायः सफा नै राख्ने गर्दथ्यौं । मैले यसो सुरक्षामा पनि ध्यान दिने र बाहिरतिर पनि आँखा लगाउने गर्दथे ।

एक दिनको कुरा हो, दीपेन्द्र रोकाया हामी बसेको कोठामा आउन भर्याङमाथि चढ्दै हुनुहुन्थ्यो । हाम्रो चिनजान थिएन । मैले उहाँलाई भर्याङमा नै रोके । उहाँ सेना, पुलिस जस्तो देखिनु भएको थियोे । मलाई पनि शंका नै लाग्यो । मैले सोधिहाले– तपाई को ? कसलाई खोज्न आउनु भएको ?’ मैले स्पष्टीकरण लिन थाले । उहाँ गम्भीर स्वभावको मान्छे । धेरै नबोल्ने । अडिएर बसिराख्नु भयो, तर जबाफ नै दिनु भएन । मैले भित्र जान नै दिएन ।

भित्रबाट ईश्वर ज्ञवाली र खेम थपलियाले उहाँ त हाम्रो साथी हो भनेपछि बल्ल मैले थाह पाए । यो घटना मैले चाहेर पनि भुल्न सक्दैन । हामीसँग धर्मेश पोखरेल पनि हुनुहुन्थ्यो । उहाँले जय दाइ मुभमेन्ट त अघि बढाउनु पर्छ भन्नु हुन्थ्यो । त्यतिबेला मैले माओवादीलाई समर्थन गर्दथे तर म आफै भने माओवादी बनिसकेको थिएन ।

जलजला पत्रिका चल्न थालेपछि र केही मुभमेन्ट आउन थालेपछि त्यही क्रममा म माओवादीमा प्रवेश गरे । हामीले मार्क्सवादी विचारमञ्च भन्ने एउटा वैचारिक अन्तरक्रियाको मञ्च पनि दर्ता गरेका थियौं । खै, आज त्यो कता हरायो कता ?

जहाँ पुग्यो, त्यहीं पुलिस : माओवादी हुँदा !

आन्दोलन अलि दह्रो गरी अघि बढ्न थाल्यो । देशभर माओवादी जनयुद्धले गाढा रङ लिंदै थियो । काठमाडौंमा बस्न पनि निकै साह्रोगाह्रो हुन थाल्यो । खुल्ला साथीहरु अलि पातलिंदै र हराउँदै जान थाले । शायद भूमिगत हुँदै गए होलान् ।

जलजला पत्रिका चल्न थालेपछि र केही मुभमेन्ट आउन थालेपछि त्यही क्रममा म माओवादीमा प्रवेश गरे । काठमाडौंमा खुल्ला बस्न अलि केही नै गाह्रो हुन थाल्यो । म पनि पूर्वी नेपालतिर लागे । पूर्व त मेरो घर । जहाँ गयो, त्यही मेरा इष्टमित्र र आफन्तहरु । केही दिन त रमाइलै भयो । तर आश्चर्य के भयो भने जहाँ म जान्छु, त्यहीं पुलिस टुप्लुक्क पुगिहाल्ने ।

एकदिनको कुरा हो, म मोरङमा मेरो मावली घर गएँ । मेरो मावली मोरङको झुरकिया अन्तर्गत सिङ्हारी गाउँमा पर्छ । त्यहाँ बर्माबाट आएका बर्मेलीहरुको टोल छ । म त्यहाँ कहिले चुनीबारी भन्ने ठाउँमा त कहिले झुरकियामा जान्थे । कहिले रङ्गेली पनि आउँथे । तर यसपटक म झुरकियामा थिए ।

म पुग्ने बित्तिकै मामाले भन्नुभयो– ‘होइन भान्ज, तपाईँ आउने वित्तिकै सेना पुलिस आई पो हाल्छन् ।’ तर पनि म लामो गफगाफ गर्दै मामासँग दिन बिताएँ । रात पनि पर्यो, कतै गएन । अर्को दिन त बिहानै मिलिटरी पुगिसकेका मामाको घरबाहिर बाटोमा ।

त्यतिबेला असारसाउनको हिलो । चारैतिर धान रोपाइको कार्यक्रम थियो, गाउँमा । गाउँलेहरुले मलाई नै लिन आएका भनेर सेनाहरुलाई विस्मातको नजरले हेरिरहेका थिए । मेरो पनि ढक्क छाती फुल्यो । ‘आज त फेला परिस् हेर केटा तँ’ भनेर म आफैलाई मनमनै भने पनि । उपाय अरु केही पनि थिएन ।

म बाहिर बाटोमा निस्किए । उनीहरुसँग मिसिए । भागेर जाने ठाउँ छैन, चारैतिर हिलाम्य खेत छ । साइकलमा आइरहेको एउटा मिलिटरी साइकल चिप्लिएर गल्र्याम्म हिलोमा ढल्यो । मैले हाँसो ठट्टा र कुरा गर्ने मौका पाए । म विस्तारै उसैको नजिक गएँ । भनिहाले पनि– ‘के हो भाइ, आतंककारीलाई मार्न हिंडेका यस्तो थोत्रो साइकल चढेर पनि हुन्छ ? तपाईको जीवन रक्षा कसरी हुनछ ?’ उसले ट्वाँ परेर हेर्दै ‘के गर्नु सर !’ भनेर जुरुक्क उठ्यो । तनक्क तन्कियो ।

वाकीटाकी वाला मिलिटरीले पारिबाट मलाई कवारक्वार्ती हेर्न थाल्यो । म पनि त्यो ढलेर उठेको सेनासँग उभिएर कुरा गरे । मलाई उम्कनु थियो । त्यहाँ भुलि राख्नु उचित थिएन । सुरक्षा पनि त थिएन । म विस्तारै अघि बढेर टाढा पुगे । आज त जसोतसो गरी फुत्किए । गह्रौं सास पनि फेरे । हलुङ्गो भयो ।