काठमाडौ । विप्लव नेकपा लगायतका पार्टी तथा सशस्त्र समूहसँग वार्ता गर्ने भनी सरकारी वार्ता टोली निर्माण गरी सार्वजनिक गरेलगतै नेकपाका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)ले सरकारी वार्ता टोली गठन र वार्ताको आह्वान नाटक मात्र भएको बताएका छन् । सशस्त्र समूहका विरुद्ध देशव्यापी रुपमा दमन गरिरहेकै बेला सरकारले वार्ताका लागि गरेको आह्वानको प्रतिउत्तरमा नेता सुदर्शनले यस्तो खालको जबाफ दिएका हुन् ।
उनका अनुसार सरकारले आफूहरुमाथि कस्तो खालको रबैया अपनाइरहेको छ भन्ने बारेमा नेकपाका नेता तथा कार्यकर्ताहरु अनभिज्ञ छैनन् । एकातिर नेता तथा कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गर्ने, यातना दिने र दण्डको भागिदार बनाउन कदम चालिरहने, तर अर्कोतिर वार्ताको नाटक पनि गरिरहने दोहोरो चरित्रप्रति खेद जनाएका छन् । वर्तमान ओली सरकारको सामाजिक फसिवादी चरित्र रहेकाले वार्ताको कुनै पनि गन्जाइस नरहेको बताएका छन् ।
महासचिव विप्लवद्वारा केही दिन पहिले हस्ताक्षरित र प्रेषित विज्ञप्तिमा अब सशक्त संघर्षको विकल्प नरहेको बताएका छन् । उनका अनुसार सरकारले नेकपा विरुद्ध अख्तियार गरेका नीति फासीवादी रहेको बताएका छन् ।
उता विप्लव नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आजभन्दा एक महिना पहिले काठमाडौं नजिकको चाल्नाखेलबाट गिरफ्तार गरी कहिले पूर्व, कहिले पश्चिम त कहिले काठमाडौंका अदालतहरुमा तारेख बोक्न कुदाउने गरिरहेको छ । उनलाई चन्दा असुलेको आरोप बाहेक हालसम्म अरु कुनै मुद्दा लगाइएको छैन ।
उनी लगायत दर्जनौ केन्द्रिय नेता तथा कार्यकर्ताहरु गिरफ्तारमा परी हिरासत जीवन बिताइरहेका छन् । उनीहरुको रिहाइका लागि राजनीतिक पार्टीहरु, मावअधिकार संघ–संस्थाहरु तथा समर्थक शुभचिन्तकहरुले आवाज उठाइरहेका छन् ।