कसरी उठ्ला थेगिनसक्नुको स्थानीय कर ?

काठमाडौं । शासन गर्ने भनेको कर लगाउने र शान देखाउने हो भन्ने अधिकांश स्थानीय प्रतिनिधिहरुमा रहेको देखिएको छ । स्थानीय तहको सरकारको तुलनामा प्रदेश तहको सरकारको कम आलोचना रहेको बुझिएको छ । तथापि प्रदेशको पनि कम आलोचना त छैन स्थानीय सरकार भन्दा ।

स्थानीय तथा प्रदेश सरकारले जनतालाई के सेवा दिने भन्ने वारेमा छलफल गरेको कमै देखिन्छ । तर कर के कुरामा लगाउने भन्ने वारेमा योजना तथा कार्यक्रम बनाएको धेरै देखिन्छ । उनीहरुले घरगोठको वर्गीकरण गरेर कर उठाउनेदेखि लिएर चौपायाहरुको चौखुर गनेर कर लिने गरी करको दायरा फराकिलो बनाएका छन् ।

जग्गाको कर पनि निकै महंगो बनाएका छन् । बस्ने अफिसहरु निकै शानका देखिन्छन । कुन गाउँपालिका वा कुन नगरपालिका अर्को भन्दा शानदार छ भनेर ती प्रतिनिधिहरुका बीचमा निकै नै छलफल हुने गर्दछ । जनताका कामहरु गर्ने सिर्जनात्मक सोच कम नै देखिन्छ ।

अर्को कुरा, कच्चा पदार्थ, कोरा स्रोत र प्राकृतिक संशाधन त छ, तर तिनको उपयोगका लागि न त उद्योगधन्दा कलकारखाना छन्, न त तिनलाई आवश्यक परेका ठाउँमा ढुवानी गर्ने र राजस्व लिने संभावना नै छ । कुरा त कस्तो सम्म पनि छ भने ४ नम्बर गण्डकी प्रदेशमा पहिलो भाषण गर्दा प्रम ओलीले भने झैं ‘चीन र भारतबाट रेल आउँछन्, गण्डकी नदीको ‘मिनिरल’ पानी बोत्तलमा भर्यो, बेच्यो’ । यसो गरेर चीन र भारतका रेल पर्खिएर संयौं वर्ष कुरेर मिनरल वाटर बेचौंला भनेर नेपालीहरुको जीवन काटिने पनि त होइन । देश विकास हुने पनि त होइन ।

प्रम ओलीका कुरा सिंहदरवारमा बसेर अघाएर ढ्याउ काढिरहेकाहरुका कुरा हुन् । तर जनता भोका छन् । स्थानीय क्षेत्रमा विकास तत्कालै चाहिएको छ, जनतामा अधैर्यता छ, हिन्दु धर्मको ठूलो सांस्कृतिक प्रभाव छ, फुमन्तर गरेर आजका आजै चकाचौंध भइहाल्ने परिकल्पनाले काम गर्ने गरेको छ ।

तर पनि सापेक्षतामा के गरी विकास गर्न सकिन्छ भन्ने सोंच जनप्रतिनिधिमा कमै देखिन्छ । कतिपय शैक्षिक ज्ञानको अभाव छ, कतिपय प्राविधिक ज्ञानको अभाव छ, केन्द्रीय सरकारले कर्मचारी नै पठाइदिएको छैन । सिंगो क्षेत्र विकट छ, सबैलाई एकै पटक चाहिएको छ विकास । यसले पनि समस्या ल्याएको छ ।

अर्कोतिर स्थानीय सरकार र यसका प्रतिनिधिहरुले कानुनले परिकल्पना गरे बमोजिम अधिकतम सेवा र सुविधा आफूहरुले लिने गरेका छन् । त्यसमा एउटा त समाजमा विद्यमान निम्न पुँजीवादी देखावटी सामन्तवादी संस्कारले काम गरेको छ । यहाँ कसो पनि भएको छ भने ‘मैले फलना वा फलानीलाई चुनाव जितेर, कार चढेर देखाइदिए’ उसले जिन्दगीमा यो मस्ती गर्न पाउने छैन वा छैनी । यो देखासिकिको सामन्ती संस्कारले पनि निकै ठूलो काम गरेको छ ।

दोस्रो हो, उनीहरुले चुनावमा यति धेरै खर्च गरेका छन् कि त्यो पैसो असुलउपर गर्नु छ । त्यसैले उनीहरु अनावश्यक कर लगाउन हिच्किचाएका छैनन् । अर्को पटकको चुनावमा देखा जाएगा, यसपालीको ऋण त तिर्नु पर्यो । यसले पनि जनतामा बदनाम हुन सकिने र जनतामा वितृष्णा जाग्ने कुरालाई वेवास्ता गर्ने बनाएको छ ।

तर समग्रमा जेजस्ता करहरु जनताका बीचमा लगाएको छ, यसले भखैरै प्रयोगमा आइरहेको स्थानीय सरकारप्रति जनताको सकारात्मक धारणा बन्न दिंदैन ।