समाधान राजनीतिक कि फासिवादी ?

समाधान राजनीतिक कि फासिवादी ?

काठमाडौं । नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई साउन २२ मा ओली सरकारले गिरफ्तार गरेपछि नेपालको वाम राजनीतिमा केही नयाँ बहसहरुले प्रवेश पाएका छन् । आआफ्नै लख, अनुमान र विश्लेषण नेपाली राजनीतिक बजारमा आएका छन् ।
कसैले ओली सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा आमनेसामने शत्रुतापूर्ण लडाइँमा खडा भएका भनेका छन् । अरु कसैले वाम विरुद्ध वामको लडाइँ पनि भन्ने गरेका छन् । कसैले रातो झण्डाबीच लडाइँ भन्ने गरेका छन् ।

त्यसै गरी केहीले त लडाइँको तौर तरिका र रणनीतिका कुरासम्म गर्न पुगेको पनि देखिन्छ । कोही भन्छन्– वार्ता र छलफलका नाममा एकले अर्कालाई गलाउने र थकाउने नीति लिएका छन् । यसका साथै दुबै पक्ष आ–आफ्नो रणनीतिक योजनाहरु बनाउने तयारीमा जुटेका छन् ।

तर राजनीतिक बजारमा भने यी दुईमा आरोप र प्रत्यारोपले ठाउँ पाएको छ । ओली सरकारले विप्लव नेकपाले समाजमा ‘आतङ्क र वितण्डा’ मच्चाएकाले नियन्त्रणमा लिन बाध्य भएको बताउने गरेको छ । तर विप्लव नेतृत्वको नेकपाले ओली सरकार फासिवादी बन्दै गएको, वाक तथा राजनीतिक स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै गएको आरोप लगाएको छ ।

प्रम ओली र उनका गृहमन्त्री रामबहादुर थापाले विप्लव नेकपालाई ‘अपराधी’ करार गरिसकेका छन् । उनीहरुका अनुसार प्रकाण्डलाई राजनीतिक होइन, आपराधिक मुद्दाहरु लगाइने छ । नेकपाका प्रवक्ता प्रकाण्ड भने यो कुरा स्वीकार गर्न तयार छैनन् । उनी आफ्नो कठोर हिरासतको बसाइ र हातको हत्कडी देखाउँदै भन्छन्– यो सबै देशमा भएको प्रतिक्रान्ति र त्यसका नाइके ओलीदाहालको फासीवादी सत्ताअभ्यासका कारणले हुन गएको बताउँछन् । जनयुद्धमा नेतृत्व गरेर हिँडेका र हाल प्रतिक्रान्तिका अगुवा पुष्पकमल दाहाल विप्लव नेकपालाई ‘वितण्डा नमच्चाएर वार्तामा आउन’ सल्लाह दिन्छन् ।

सरकारी पक्षले ‘वार्ता र छलफलको ढोका सधैं खुला रहेको’ बताए पनि वार्ताका लागि केही चाइँचुइँसम्म गरेको छैन । बरु उल्टै ओलीदाहाल बाबुराम भट्टराईको पालामा बनेको संगठित अपराध ऐन कार्यान्वयनमा ल्याउने तरखरमा लगेका देखिन्छन् । अर्कोतिर विप्लवको नेकपा वार्ताबारेमा बोलेको छैन ।

विप्लव नेकपाको पाइलापाइला पिछा गरिरेको प्रहरीलाई उसको गतिविधि माथि कडा निगरानी राख्न र गिरफ्तार गर्न प्रधानमन्त्री तथा गृहमन्त्रीले निर्देशन दिनुका साथै हरेक निकायमा आन्तरिक सर्कुलर पनि गरिसकेका छन् । राजनीतिक विश्लेषक भन्छन् समाधान राजनीतिक होस् फासिवादी होइन ।