एसियाली खेलकुदः नेपाल आज भियतनामसँग भिड्दै

प्रकाशित मिति : २०७५ श्रावण ३१

काठमाडौं, साउन ३१ । एसियाली खेलकुदको १८औं संस्करणमा आज नेपाली फुटबल टिमले भियतमानसँग भिड्दै छ । पहिलो खेलमा एसियाको पावरहाउस जापानसँग १–० को हार व्यहोरेको नेपालले आजको खेल जित्न सके नकआउन चरणमा प्रवेश गर्ने सम्भावना बलियो हुनेछ । नेपाल र भियतनामबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ६ बजे हुने छ ।

भियतनामले आज नेपाल विरुद्ध जित हात पारेको खण्डमा एक खेल अगावै प्रिक्वार्टर फाइनलमा पुग्नेछ भने नेपालले जित हात पारेको खण्डमा नेपालको नकआउट चरण पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले भियतनामलाई बराबरीमा रोकेको अवस्थामा नेपालको उत्कृष्ट समूहको उत्कृष्ट तेस्रो बन्दै प्रिक्वार्टर फाइनलमा पुग्ने सम्भावना रहन्छ ।

समूह डी अन्तर्गत नै पाकिस्तानले पनि जापानको सामना गर्दैछ । आजको खेलमा विजयी भएको खण्डमा जापान पनि एक खेल अगावै नकआउट चरणमा पुग्नेछ ।

जापान विरुद्धको खेलमा नेपालका किपर तथा कप्तान किरण चेम्जाङको उत्कृष्ट प्रदर्शन गरेकाले आजको खेल प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ ।