‘आदिवासी जनजाति नेताहरुले नै आदिवासी जनजातिमाथि गद्दारी गरे’

‘आदिवासी जनजाति नेताहरुले नै आदिवासी जनजातिमाथि गद्दारी गरे’

बुटवल । नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव प्रा.डा ओम गुरुङले आदिवासी जनजाति नेताहरुबाटैं आदिवासी जनजातिमाथि गद्दारी भएको आरोप दावी गरेका छन् । प्रदेशको नामाङकन गर्दा जनजाति नेताबाट धोका भएको भन्दैं उनंले त्यस्ता नेतालाई चिन्न र बहिस्कार गर्न आग्रह गरे । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देहीले २४ औं विश्व आदिवासी दिवसका अवसरमा बुटवलको मिडियाचोकमा आयोजना गरेको दिवस मुल समारोहलाई सम्बोधन गदैं गुरुङले सो आरोप दावी गरेका हुन् । प्रदेश ४ को नामाकरण मगरांत–तमुवान नराखी गण्डकी राखेर पहिचान बिरोधी काम आदिवासी जनजाति नेताहरुबाटैं भएको उनले बताए । आदिवासी जनजातिको पहिचान खोजिएको हो, भुगोल र नदीनालाको होइन उनले भने, “पहिचानको आधारमा नामाकरण नगरिए त्यो आदिवासी जनजातिलाई स्वीकार्य हुँदैन, संघर्षको माध्यमबाट खारेज गरिन्छ ।”

दुई तिहाइको दम्भमा अहिलेको सरकारले आदिवासी जनजातिको पहिचानलाई सिन्की सरह लिएको टिप्पणी गर्दै गुरुङले आदिवासी जनजातिको पहिचान र अधिकार खोसेर ल्याइएको प्रतिगामी संविधान खारेज गर्नुपर्ने कुरामा जोड दिए ।


नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहनसिंह गोलेले पनि आदिवासी जनजातिको पहिचान मेटिने गरि प्रदेश ५ को नामाकरण गरिए त्यो अमान्य नहुंने चेतावनी दिए । उनले सरकार दुई तिहाईको दम्भमा पञ्चायती शैलीमा अगाडि बढेको दावी गर्दै आदिवासी जनजातिको लडाई अस्तित्वसंग जोडिएकोले यो लडाइँलाई राजनैतिक रुपमा लैजानुपर्ने बताए ।
नेपाल मगर संघका केन्द्रीय सल्लाहकार केशव सूर्यवंशीमगरले अधिकार स्थापित गर्नका लागि राज्यसंग आदिवासी जनजातिले वारपारको आन्दोलन गर्नुपर्ने बताए । आन्दोलनकैं रुपमा मनाइएको दिवसले आदिवासी जनजातिलाई एकताको सुत्रमा बाध्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।


कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश ५ समन्वय परिषद्का सह–सचिव जयबहादुर छन्त्याल, नेपाल मगर संघ, रुपन्देहीकी अध्यक्ष गिता सारु लगायतले बोल्दैं सशक्त आन्दोलनका लागि आदिवासी जनजातिहरु एक ढिक्का हुंनुपर्ने बताएका थिए । महासंघका अध्यक्ष दलबहादुर छन्त्यालको अध्यक्षता, सचिव भिमबहादुर भुजेलको सञ्चालन तथा उपाध्यक्ष बिमला गुरुङको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम पूर्व महासंघले बुटवलको राजमार्ग चौराहस्थित लखन चोकमा रहेको प्रथम शहीद क्या.लखन थापामगरको शालिकमा माल्याणपर्ण गरेर आदिवासी जनजाति झांकीसहित शुरु भएको र्यालीले बुटवल बजार परिक्रमा गरि बुटवलको मिडियाचोकमा पुगेर दिवस मुल समारोहमा परिणत भएको थियो ।