बुटवल । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्,रुपन्देहीले बिहीबार(आज)बुटवलमा २४ औं विश्व आदिवासी दिवस–२०७५ मनाउंने भएको छ । दिवसको आवश्यक सम्पूर्ण तयारी पुरा भएको महासंघ,रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्यालले जानकारी दिए । महासंघले दिवसको तयारीका क्रममा बुधवार रुपन्देहीको बुटवल उपमहानगरपालिका,देवदह,सैनामैना,तिलोत्तमा,कञ्चन लगायतका ठाउंहरुमा माइकिङ गरी तयारी सकिएको जनाएको हो ।
महासंघले ट्राफिकचोकस्थित मिडिया चोकमा विशाल सभा गरेर विश्व आदिवासी दिवस मनाउंन लागेको हो । कार्यक्रम पूर्व महासंघले राजमार्ग चौराहस्थित लखनचोमा रहेको प्रथम शहीद क्या.लखन थापामगरको शालिकमा माल्याणपर्ण गरेर र्याली शुरु गर्ने सचिव भिमबहादुर भुजेलले जानकारी दिए ।
बिहान ११.३० बजे आदिवासी जनजातिको झांकीसहित शुरु हुंने र्याली, मिलनचोक, नयां बस पार्क,लुम्बिनी अञ्चल अस्पताल,बीपीचोक हुंदैं ट्राफिकचोकस्थित मिडिया चोकमा पुगेर दिवस मुल समारोह कार्यक्रममा परिणत हुंनेछ । कार्यक्रमलाई नेपाल आदिवासी जनजाति महासंघ संघीय सचिवालयका पूर्व महासचिव प्रा.डा.ओम गुरुङ, नेपाल मगर संघका केन्द्रीय सल्लाहकार केशव सूर्यवंशीमगर,नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहनसिंह गोले लगायतका आदिवासी जनजाति नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्न प्रमुख अतिथि गुरुङ बुटवल आइसकेका छन् भने विशिष्ट वक्ताद्वय सुर्यवंशी र गोले आजै बिहान बुटवल आइपुग्दै छन् । महासंघले सन १९९४ देखि ९ अगस्टमा विश्व आदिवासी दिवस मनाउंदैं आएको छ । श्रावण २० गतेबाट दिवस मनाउंन शुरु गरेको महासंघले यस अघि श्रावण २१ गते बुटवलमा बृहत आदिवासी जनजाति भेला, २२ गते रक्तदान गरेको थियो । रक्तदानमा ५० जनाले रक्तदान गरेका थिए ।