काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एक वक्तव्य प्रकाशित गरी नेकपा (विप्लव)का नेता प्रकाण्डसहित सबै गिरफ्तार नेता कार्यकर्ताको विनाशर्त अविलम्ब रिहाईको जोडदार माग गरेका छन् ।
नेता प्रकाण्डको गिरफ्तारीको घोर विरोध तथा भत्र्सना गर्दै बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ, “नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का स्थायी समिति सदस्य तथा प्रवक्ता क.प्रकाण्डसहित तीन जना कमरेडहरुलाई नेपाल सरकारले यही साउन २२ गते साँझ काठमाडौंको दक्षिणकालीबाट गिरफ्तार गरेको समाचार प्रकाशमा आएको छ । आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरुलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय हो । हाम्रो पार्टी यस प्रकारको गिरफ्तारीको घोर विरोध एवम् भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी गिरफ्तार गरिएका कमरेड प्रकाण्ड लगायत सबै नेता तथा कार्यकर्ताहरुको विनाशर्त अविलम्ब रिहाई गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ ।”
यसैबीच, नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’लाई प्रहरीले गिरफ्तार गरेपछि एक वक्तव्य जारी गर्दै विप्लवले नेपाल बन्दको घोषणा गरेका छन् । वक्तव्यमा प्रवक्ता प्रकाण्डसहित तीन जना हिजो साढे ७ बजे काठमाडौंको दक्षिणकालीबाट गिरफ्तारमा परेको पुष्टि गरिएको छ । पक्राउ गरिएका नेता प्रकाण्डलगायत सबै गिरफ्तार नेता कार्यकर्ताको अविलम्ब विना शर्त रिहाई नगरिए प्रतिरोधात्मक संघर्षको थालनी गर्ने भन्दै उनले साउन २९ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरेका छन् ।
वक्तव्यमा विप्लवले केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउँदै गएको भन्दै सरकारको यो रबैयाको कडा प्रतिवाद गर्न सच्चा लोकतन्त्रवादी र देशभक्तलाई आव्हान गरेका छन् ।