काठमाडौं । नेपालमा विकासका कामहरु असार र साउनमा पूरा गर्न सरकारी निकायबाट सम्बन्धित पक्षलाई कडा निर्देशन गरिन्छ । विकास होला वा होओस् भनेर होइन, बरु आर्थिक वर्ष सिद्धिन्छ, बजेट फ्रिज हुन्छ र प्रगति प्रविेदनमा काम गरिएको र आफ्नो कार्यकाल सफल भएको भनेर देखाउन सकिदैंन भनेर हतार हतारमा रातारात पानी परेको अवस्थामा विकास निर्माणको काम गरिसकिएको भनेर देखाइन्छ ।
नजराना : यसमा पहिलो काम नजरानाले गरेको छ । हरेक आर्थिक वर्षको अन्त्य र सुरुआत सरकारी अफिसर र मन्त्रीरुका लागि आर्थिक भित्र्याउने महिनाहरु हुन् । यी दुई महिनामा किसानहरु मानो रोपेर मुरी फलाउने काममा व्यस्त हुन्छन् । आफ्ना घरपरिवार र श्रीसम्पत्तिको प्राकृतिक विपद्बाट संरक्षण गर्ने काममा लागेका हुन्छन् । यिनै समयमा ती जनताको सरकारमा बसेका मान्छेहरु भने रुपैयाँ भित्र्याउने ध्याउन्नमा क्याल्कुलेर टाइप गर्दै भित्रने पैसाको करोडौं अंकहरु हानेर हिसाब गरिरहेका हुन्छन् ।
बजेट थप : यो समयमा काम सक्न अलिकति मात्र बाँकी रहेको भनेर वा अन्यत्रबाट काम नसकिएर वा बाँकी रहेर आएको बजेट थपथाप गरेर साउने हिलोसँगै मिसाउन सजिलो हुने समय पनि हो । यति बेला निहँु र खर्चका लागि बजेट पनि हुन्छ । जोकसैले त्यति ध्यान पनि दिंदैन ।
कमसल सामग्रीको प्रयोग : असार साउनको यो बेलामा निकै कमसल सामग्रीको प्रयोग गरिन्छ । एक त वर्षाको समय, अर्को पानी परेका बेलामा मेटमाट पारिने कामले ठेकेदारलाई अर्बौको नाफा हुन आउँछ । त्यो बाँडीचुँडीका लागि पनि निकै उपयोगी हुनजान्छ । फछ्र्यौट हतारको बेला काजात मिसमास पारेर बुझाए पुगिहाल्छ ।
नयाँ आर्थिक वर्षको चर्चा : सरकारले नीति तथा कार्यक्रम ल्याउने, अर्थमन्त्रीले बजेट पेश गर्ने, सदनमा महिनौं नीति, कार्यक्रम तथा बजेटको बहस हुने भएकाले यो बजेटको दुरुपयोगका बारेका कोही पनि त्यति सतर्क भएको देखिदैन । बरु सर्वसाधरण्ण जनतको समेत त्यही सरकारी, सत्तापक्ष र प्रतिपक्षको लडाइँ तथा जुहारीको तमासामा ध्यान खिचिएको हुन्छ ।
त्यसैले पुरानो आर्थिक वर्षको अन्त्य तथा नयाँ आर्थिक वर्षको सुरुआत को यो समयलाई ‘असार साउन, हामीलाई पनि देऊन् उनले पनि खाऊन्’ भनेर पुकारिने गरिएको छ ।