जातीय मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडेर नलैजाँदासम्म नेपालमा पहिचान र मुक्तिको कुरा असंभव भएको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले बताएका छन् । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालद्वारा बिहीवार वुद्धनगरस्थित अल्फाहाउसमा आयोजित ‘नेपालमा संघीयता कार्यान्वयन र जातीय पहिचानको सवाल’ विषयक एक अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

हार्दिक शुभकामना !

नेपालजस्तो वर्णाश्रम सामाजिक व्यवस्था भएको देशमा जातीय मुक्तिको कुरा वर्गीय मुक्तिको कुरासँग जोडिएको भन्दै किरणले वर्गीय मुक्तिको आन्दोलनमा जातीय आन्दोलन जोडेर लगेपछि मात्र देशमा व्याप्त रहेको ब्राह्मणवादी तथा सामन्तवादी सोचका विरुद्ध आन्दोलन गर्न सकिने बताएका छन् ।

किरणका अनुसार नेपालमा जातीय आन्दोलन भनेको राष्ट्रियताको आन्दोलन हो । यसलाई ‘नेशनल लिबरेशन मुभमेन्ट’ भनिन्छ । यो आन्दोलन र पहिचान भनेको एक जात विशेष मात्रको आन्दोलन र पहिचान मात्र पनि होइन । यो उत्पीडित जाति अथवा राष्ट्रियताको आन्दोलन हो । यसले नेपालभित्रै पनि र बाहिर पनि आन्दोलनको माग गर्दछ । आन्तरिक रुपमा ब्राह्मणवाद र बाह्य रुपमा विस्तारवाद तथा साम्राज्यवादका विरुद्धमा यो लडाइँ लड्नु जरुरी रहेको छ ।

किरण भन्छन्– वर्तमानमा वाम भनिने सरकार सत्तामा रहे पनि यो न त वाम हो, न त क्रान्तिकारी नै । यो दलाल तथा नोकरशाही पुँजीपतिको सरकार हो । सामान्य उपरीसंरचना वा शासनसत्तामा थोरै फेरबदल भएर मात्र केही पनि हुँदैन । राज्यसत्ता नै बदलिनु पर्छ । राज्यसत्ता र शासन सत्ता भनेका दुई फरक कुराहरु हुन् । अहिले शासनसत्ता त बदलिएको छ, तर राज्यसत्ता पुरानै छ । राणा शासन, पञ्चायती शासन, बहुदलीय शासन र अहिलेको गणतन्त्र भनेका एउटै कुरा हुन् । यी शासन व्यवस्थाका कुराहरु हुन् । तर राज्यसत्ता भनेको टाउका र अनुहार फेरिनु मात्र होइन, सिंगो अदलबदल हुनु हो । राज्यसत्ता परिवर्तन हुनु भनेको नेपालको सन्दर्भमा जनगणतन्त्र स्थापना हुनु हो ।

किरणले जोड् दिंदै भने– अहिलेको दलाल तथा नोकरशाही सरकारले न त जनताको कुरा सुन्छ, न त पहिचान नै दिन्छ । यो मूलतः सामन्तवादी, दलाल तथा नोकरशाही सरकारको समिश्रण मात्र हो । यसका विरुद्ध वर्गीय तथा जातीय वा रष्ट्रिय आन्दोलनको आगो बाल्नुपर्छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूले गरेका जे जति सम्झौताहरु छन्, तिनका कारणले अहिले पहिचानसहितका प्रदेशहरु नामाकरण गर्न नसकेको स्वीकार गर्दै तर ती संझौताहरु अन्तर्राष्ट्रिय परिस्थितिका कारण बाध्य भएर गरिएको बताएका छन् । उनले भने आमूल परिवर्तन संभव नै थिएन, त्यसैले जे जति उपलब्धि प्राप्त हुन्छ, त्यो नै लिउँ भनेर यसो गरिएको हो । जनजाति आन्दोलनलाई व्यंग्यात्मक रुपमा लक्षित गर्दै उनले थपे– तपाइँहरु तलबाट आन्दोलन गर्नुस् , म माथिबाट आनदोलन गर्ने छु, हामी साथै छौं ।

अर्का वक्ता नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले भने नेपाली कांग्रेस सधैं जनजाति र अल्पसंख्यकको पक्षमा रहँदै आएको छ । उनका अनुसार नेपाली कांग्रेसको नेतृत्वमा संविधान बन्यो र संघीय निर्वाचन पनि उसकै नेतृत्वमा भएकाले वर्तमान संघीयताका पक्षमा कांग्रेस उभिइरहेको छ ।

अर्का अतिथि महेन्द्रराय यादवले नेपालमा जनजातिको स्वतन्त्र पार्टी नभएसम्म जनजातिको आन्दोलन नहुने ठोकुवा गर्दै भने अब जनजातिले जातीय पार्टी बनाउनु पर्छ ।

अन्तरक्रिया कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका अध्यक्ष जगतबहादुर बरामले वर्तमान सरकारमा बाहुनहरु मात्र भएको र ब्राह्मणवादी सोंचले केही पनि हुन नदिएको भन्दै अब आन्दोलनको विकल्प नै नभएको बताएका छन् ।

राष्ट्रिय जनजाति महिला महासंघकी चिनीमाया माझीले महिला र जनजातिका लागि यो सरकारले केही पनि गरेन र गर्न पनि सकेन भन्दै नेताहरुले जनजाति र महिलालाई निकै ठगेको गुनासो समेत् गरिन् ।

सुरेशआले मगरले सञ्चालन गरेको उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता परशुराम तामाङले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रा. डा. ओम गुरुङले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर