काठमाडौं । दक्षिण एशियामा भारत एक शक्तिशाली देश हो । जनसंख्याका हिसाबले पनि र देशको आकार प्रकार तथा आणविक र अर्थतन्त्रका हिसाबले पनि । तर यो दक्षिण एशियाबाटै अलग्गिंदै गएको छ । छिमेकी देशहरुसँग यसले गरेका हरेक प्रयत्नहरु दमनकारी, विभेदपूर्ण र प्रभुत्ववादी रहेका छन् ।
भारतीय शासकहरु आफूहरुलाई दक्षिण एशियाका हर्ताकर्ताका रुपमा प्रस्तुत गर्न चाहन्छन् । साना तर सार्वभौम छिमेकी देशहरुलाई एक स्वतन्त्र र सार्वभौम सम्पन्न देशका रुपमा अस्वीकार गर्दछन् । यस अतिरिक्त तपसिलका सोच र व्यवहारहरुले भारतलाई दक्षिण एशियामा बिरानो बनाउँदै लगिरहेका छन् ।
अति हिन्दुवादी सोच : भारतीय शासकहरु र त्यसमा पनि वर्तमान मोदीको सरकार बढि हिन्दुवादमा विश्वास गर्छ । उसको यो सोच विसंगतिपूर्ण कहाँ छ भने भारतमा गैर हिन्दूहरु करोडौंको संख्यामा बसोबास गर्दै आएका छन् । ती जन्म, भूगोल, माटो र सामाजिक सम्बन्धका हिसाबले भारतीय नै हुन् । तर भारतीय शासकहरु भित्रैदेखि यो कुरा स्वीकार गर्न तयार थिएनन् र छैनन् पनि । भारतीय हिन्दुवादी शासकहरुमा रहेको यो धार्मिक पक्षधरताको सोचले नै पाकिस्तान र बांगलादेश जस्ता देशहरु भारतीय भूगोलबाट अलग गरायो । जातीय वा धार्मिक विशुद्धताका नाममा शासन र शासन व्यवस्था खोज्दै जाने हो भने आजको भारत पनि सिंगो रहने देखिदैन । यो आन्तरिक विभेद भारतीय जनताका लागि स्वीकार्य हुन सक्दैन । भाकपा माओवादीले जनयुद्ध जारी राख्न सफल भएको पनि यही कारणले गर्दा हुन गएको हो ।
छिमेकीप्रतिको गलत धारणा : भारतीय शासकहरु छिमेकी देशहरुलाई सामन्ती, उपनिवेशवादी तथा अति हिन्दुवादी खिचडीको आँखाबाट हेर्छन् । नेपाल, श्रीलंका तथा भुटानजस्ता देशमा भारतीय शासकहरु सामन्ती उपनिवेशवादी रबैया अपनाउँदै आएका छन् भने पाकिस्तान, मालद्विप्स, बांगलादेशमा अति हिन्दुवादी उपनिवेशवादी व्यवहार गर्दै आएका छन् । भारतीय शासकको यो सोंचले छिमेकी राष्ट्रहरुलाई उसको विरोधी बनाइ राखेको छ ।
गलत कुटनीतिको प्रयोग : भारतीय शासकहरुमा व्याप्त सामन्ती, औपनिवेशिक तथा साम्प्रदायिक सोचका कारणले छिमेकीहरुसँग गलत कुटनीतिको प्रयोग गर्न अग्रसर गराइरहेको छ । मुस्लिम बाहुल्य देशहरुसँग भारत निकै आक्रामक र साम्प्रदायिक रुपमा प्रस्तुत हुन्छ । हिन्दु र वौद्ध बाहुल्य छिमेकी देशहरुसँग बढी नै अतिक्रमणकारी र औपनिवेशिक रुपमा प्रस्तुत हुने गरेको छ । यो भारत जस्तो शक्तिशाली देशका लागि आफैमा प्रत्युपादक बन्दै गइरहेको छ ।
विभीषणको भूमिका : भारत अमेरिका परस्त नै रहँदै आएको छ । यसले आफ्नो छिमेकी देश चीनसँग दुस्मनीको व्यवहार साँध्दै आएको छ । अहिले कुनै पनि संसार अछुतो रहेको छैन कि ऊ अरु कुनै महादेशसँग नजोडिएको होस् । तर कुरा के पनि हो भने अझैं पनि देश र महादेशको आआफ्नै विशिष्ट पहिचान छ, मान्यता छ, त्यहाँको आर्थिक उत्पादनसँग जोडिएको समाज छ । तर यो विशिष्टतालाई नजरअन्दाज गरेर भारत चीनसँग पौठेजोरी खेल्दै अमेरिकासँग कस्न पुगेको लगन गाँठोले भारतलाई फाइदा पुर्याउने देखिदैन । भारतको यो भूमिका भनेको श्रीलंकाका विभीषणको भूमिकासँग जोडेर हेर्दा फरक पर्दैन । यसले आखिर स्वर्ण लंका जलाएर खरानीमा राज गर्ने मौका मात्र दिन्छ ।
त्यसैले भारतले अहिले आफूलाई छिमेकी देशहरुबाट र सिंगो महादेशबाट अलग्याउने वैदेशिक नीति वा कुटनीति जे लिएको छ, यो निकै आत्मघाती रहेको छ ।