जीवनको उर्वर समय १० वर्षको जेल जीवनमा बिताउनुभयो । फर्केर हेर्दा कस्तो लाग्छ ?
नेपाली क्रान्तिले धक्का खाँदा नेपाली समाज र जनतालाई दुःखित बनाएको छ । तर व्यक्तिगत रुपमा म आफू भने निरास भएको छैन । शायद यी सबै क्रान्ति र क्रान्तिकारी प्रक्रियामा अनिवार्य सर्तहरुमा पर्दछन् जस्तो लाग्दछ । क्रान्ति थाल्नासाथ क्रान्ति सफल हुन्छ भन्ने होइन । यो तीन महिने तरकारी खेती र ६ महिने अन्नवाली लगाएजस्तो पनि होइन ।
हामीले वर्गीय र क्रान्तिकारी सपना देखेका थियौं र छौं । यो कष्टसाध्य बाटोबाट मात्र सम्भव छ । वर्गको मुक्ति नभएसम्म यो रहि रहन्छ । यो प्रक्रियामा जित, हार, उतार, चढाव आउन सक्छ । सुख दुःख, हाँसो र आँसु त एक सिक्काका दुई पाटा जस्तै हुन् । तर म निराश कहिल्यै पनि भएन ।
यी सबै कुरा भनेका हामी क्रान्तिमा लाग्नुका उपजहरु हुन् । बाध्यताका उपजहरु पनि हुन् । मुक्ति या मृत्यु भनेर हिँडेपछिका स्वाभाविक परिणामहरु हुन् । हातमा हत्कडी र खुट्टामा नेल स्वाभाविकै हो । यी कुराले मलाई निराश पारेनन् ।
त्यसो भए जेलजीवन भनेको मेरो भागमा परेको एक अनिवार्य लडाइँको मोर्चा नै हो भन्ने लाग्यो तपाईलाई ?
एकदमै । जनयुद्ध सुरु गर्दा कि मुक्ति कि मृत्यु भनेर गरेका थियौं । जेल मेरो लडाइँको मार्चामा पर्न गयो । हाम्रा हिम्मतवार पूर्वजहरु माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओहरुले जेलबारेमा के भने र के कस्तो यातना पाए त्यो थाहा पाएनौ पनि । तर हामी भने आफ्नै नेपाली विशिष्टतामा नेपालका जेलनेल भोग्यांै ।
जेल जाँदा जेलभित्र छुट्टै संसार छुट्टै देश र छुट्टै शासन प्रशासन भएको देख्यौ । त्यहाँभित्र त मारपिट चलिरहन्छ । कसैले कसैलाई मारेर एउटा कागजमा सही गराइदिए पुग्छ । जेल यति डरलाग्दो रहेछ नेपालको । सुन्दै र देख्दै कहाली लागेर आउँछ । हामीहरु बन्दी बीचमा रहँदा जेलभित्रका सुधारका आन्दोलनहरु वारम्वार चलाइरह्यौं पनि । यी आन्दोलनहरुमा जेलभित्र बन्दीहरुलाई दिइने सिदाचामल तरकारीका लागि दिइने दामपैसा आदिको सुधारका लागि अनसन र आन्दोलन गर्यौं । सुधार भयो पनि । जेलभित्रका बन्दीहरुले भन्ने पनि गर्दथे– माओवादी बन्दीहरु आएपछि जेलमा प्रजातन्त्र आयो ।
जेलमा मानिसहरुलाई रुपान्तरण गर्ने थलोका रुपमा विकास गर्नुपर्छ भन्ने हाम्रो धारणा रहिआयो । हामीले बन्दीहरुलाई अझैँ अपराधी बनाउने थलोका रुपमा सरकारले वातावरण सिर्जना गरेको देख्यौं । हामी सुधारगृहका रुपमा लैजान चाहन्थ्यौ । पहिले माओवादी भनेका अपराधी हुन् भन्ने सोचेका कैदी बन्दीहरुले पछिआएर मात्र यी त जनताका लागि लडेका रहेछन् भन्ने अनुभूति गरे । देश र जनताप्रति निष्ठावान रहेछन् भन्ने थाह पाए ।
जेलमा आफूले भोगेका अनुभवहरु बताइदिनोस् न ।
सुरुमा त हामीहरुलाई खन्य बन्दीहरुसँग बोल्न र कुरा गर्न पनि दिइएन । एकआपसमा बोल्न निषेध गरिएको थियो । तर हामीहरु मान्छे नै त थियौं । जेलमा राखिएका पशुहरु त थिएनौ । हामीहरुलाई बन्दीहरुबाट अलग्याउन त चाहे, तर हाम्रा मुखहरु बन्द गर्न कहिले पनि सकेनन् । हामीले जेलभित्रको वातावरणको सापेक्षतामा काम गर्न थाल्यौं । बोल्न दिंदैनथे, बन्दीहरुलाई बोल्न बोलाउन थाल्यौं ।
हामीहरु त्यहाँभित्र बनाइएका नाइके भाइनाइकेहरुसँग कुराकानी गर्न थाल्यौं । बन्दीहरुसँग राम्रो व्यवहार गर्न थाल्यौं । माल्छे न हुन् । हामीसँग बोलेर कुराकानी गरे । आकर्षित भए । हेलमेल भयो । यो कुरामा कसले रोक्ने ?
कसरी हेर्दा रहेछन् माओवादी भनेपछि ?
सुरुमा जेल लैजाँदा ‘उड्ने मान्छेहरु’ भनेका रहेछन् । भद्रगोल जेलमा रहँदा यो कुरा थाह पायौं । हामी जेलको आँगनमा हिँड्दा जेल प्रशासनका मानिसहरु हाम्रा पछि लागेको लाग्यै गर्दथे । किन होला भनेको त कतै हामी भूर्र उड्न थालेछौं भने च्याप्प खुट्टाबाट समातिहाल्ने भनेर त्यसो गरेका रहेछन् । पछिमात्र थाह भयो ।
जेलभित्र देशको राज्य प्रशासनबाहेक नाइके, भाइनाइकेहरुको छुट्टै प्रशासन चलेको हुन्छ । बन्दीहरुबीचमा अन्तरविरोध ल्याउने, फुटाएर बन्दीहरुमाथि शासन चलाउने, उनीहरुको मनशाय देखिन्छ । नाइके, भाइ नाइके भएर सरकार र सरकारी प्रशासनलाई सघाए वापत् उनीहरुको कैद माफी मिनाह गरिइन्छ । त्यसैले नाइके र भाइ नाइकेहरु अलि जण्ड र क्रुर स्वभावका पनि देखिन्छन् ।
हामीहरुसँग नबोल्न र कुरा पनि नगर्न सबै बन्दीहरुमाथि प्रतिबन्ध नै लगाइएको थियो । मानव मानवबीचको विभेद, त्यहाँ त व्यवहारमा नै देख्न सकिन्थ्यो । शासक र शासित बीचको अत्याचारी र क्रुर व्यवस्था त्यहाँभित्र देख्न सकिन्थ्यो । तर पनि हामीभित्र आशाका ज्योतिहरु थिए ।
जेलभित्र जाँदा नाइके र भाइ नाइकेहरुले निकै यातना दिए पनि । तर पछि राम्रो सम्बन्ध भएपछि उनीहरुले हामीलाई ‘के सेवा गरौं’ भनी सोध्ने पनि गर्दथे । मान्छे हो रुपान्तरण हुँदा रहेछन् । उनीहरु साच्चिकै केही हदसम्म रुपान्तरण भए पनि । पछि त आस्था र गैरआस्थाका बन्दीहरुबीच सौहाद्र्रपूर्ण सहकार्य र मेलजोल नै भयो ।
जेलभित्र आफू र सबैका भलाइका लागि गरिएका कामहरु बताइदिनोस् न ?
बन्दीहरुलाई खानका लागि राम्रो चामल पनि दिँदैनथ्यो । ढुंगा मिसिएका र म्याद गुज्रिएका चामल दिने गरेको थियो । दिनभर केलाएर पनि खान नबन्ने चामल हुन्थ्यो । पानीको व्यवस्था पनि राम्रो थिएन । बन्दीलाई दिने सिदाचामल हामीले गरेका माग र आन्दोलन तथा अनसनपछि सुधार गरियो । अलि केही राम्रो चामल दिन थाल्यो । नुहाउनका लागि र कपडा धुनका लागि पानी पनि प्रत्येक दिन दिन थाल्यो । यसका लागि धेरै कुटाइपिटाइ र यातना खेप्नु पर्यो ।
तरकारी सागपात खान दामपैसा पनि थोरै भएपनि बढायो । पढ्न पनि पाइँदैन थ्यो । पढ्ने व्यवस्था पनि मिलायो । पत्रपत्रिका र पुस्तक जेलभित्र पनि पढ्न पाइयो ।
बिरामी बन्दीहरु औषधि नपाएर मर्ने अवस्था थियो । बन्दीहरु मार्नका लागि जेल ल्याइएकाले किन औषधिउपचार गर्ने भन्ने राणाकालीन मान्यता अझैं पनि कायम थियो । पछि उपचारका लागि अस्पताल जान र औषधि किनेर खान पाइने भयो । यत्ति माग पूरा गराउन पनि कति लात र कति बात खानु पर्यो । त्यसको लेखाजोखा नै रहेन ।
बन्दीको रासनबाट पैसा बचाएर खाने गरेका नाइके, भाइनाइकेहरुले त्यो रकम खान बन्द गरे । जेलरले जेलबाट खाने रकम रोकियो । यसका लागि पनि कम संघर्ष गर्नु परेन । जेलभित्रका बन्दी शोषण गर्ने विधि र संस्कारको अन्त्य गर्यौं ।
अशक्त बिरामीका लागि उपचार लैजाने व्यवस्था मिलायौं । तर अहिले जेलमा क्रान्तिकारीहरु छैनन् । शायद जेल पुरानै स्थितिमा फर्कियो होला ।
जेलभित्र र बाहिरका संघर्षका स्वरुपहरुमा कति फरक पाउनु भयो ?
धेरै भिन्नता छ । वस्तुगत र आत्मगत परिस्थिति पनि भित्री र बाहिरी सापेक्षतामा फरक पर्छ । तर पनि देश ठूलो जेल हो र जेल आफैमा सानो जेल हो । मान्छेले मान्छेमाथि गर्ने शोषणदमन देशभित्र र जेलभित्र दुवै ठाउँमा छ । जेलभित्रको संसार निकै सानो छ, त्यहाँ तुरन्त मारपिट हुन सक्छ । त्यहाँ भिन्न कानुनी वैधानिक लडाइँ लड्नु पर्छ । प्रत्येक माग बहस, छलफल र कुराकानी गरेर मात्र किनारा लगाउनु पर्छ । सानो बहस पनि जेल प्रशासनका लागि सैह्य हुँदैन । क्रुर दमनमा उत्रन्छ । जेलले त राणाकाल पनि बिर्साउँछ ।
साँघुरो घेराभित्र नैतिक रुपमा उनीहरुलाई हराउनु पर्दछ । उनीहरु हार्दथे पनि । प्रतिरोध र भण्डाफोर नै संघर्षका स्वरुपहरु थिए, जेलभित्र । उनीहरु गलत भएकाले नैतिकताको विषय उठाउने बित्तिकै नैतिक रुपमा लत्रन पुग्दथे । नैतिक पराजय नै उनीहरुको ठूलो पराजय थियो । नैतिक विजय नै हाम्रो ठूलो विजय थियो । हाम्रो उद्देश्य रुपान्तरण गर्नु थियो । बदला लिनु वा सिध्याउनु थिएन ।
जेलभित्र बस्दाको आदर्श र जेल बाहिर आउँदाको यथार्थता बीचमा के फरक पाउनु भयो ?
जेलभित्रको आदर्श र जेल बाहिरको यथार्थताबीच केही फरक त पाइयो । जेल साच्चिकै विचार र आदर्शको ठाउँ रहेको पाइयो । हामी कत्ति पनि बिचलित भएनौं । जेलभित्रका हाम्रा विरोधीहरुले यातना, दुःख, सास्ती जे दिए त्यो हाम्रालागि सैह्य भए । एक दिन त मरेर पनि गइन्छ, के भो र भन्ने लाग्यो ।
तर जेल बाहिर आउँदा त्यो आदर्श भिन्दै पायौं । हामीले ८० प्रतिशत भूगोल कब्जा गरेको, राजधानी र सदरमुकाममा तबाहतबाह स्थिति पेदा गरेको सुनेका र पढेका थियौं । तर बाहिर आउँदा त्यो यथार्थता बोध गर्न पाइएन ।
संघर्षले उचाइ ग्रहण गर्दै जाने, तर स्कुलिङ र अनुशासन निकै फितलो हँदै जाँदै गरेको पाइयो । जिम्मेवारी बोध कम भएको पाइयो । शासक हुँदै जाँदा जनताको पक्षमा गर्ने काममा चेतना र लगाबको निकै कमी पाइयो । हेर्दा ताप र राप पैदा भएको, तर त्यसको गुण नभएको पाइयो ।
अहिले इतिहासले पुस्टि गर्यो कि निकै ठूलो पार्टी भए पनि आखिर त सिद्धियो । यसले जनतामा अन्यौलता ल्याएको छ । तर व्यक्तिगत रुपमा मलाई त्यसले निराश, हतास र अन्यौल भने पारेको छैन । क्रान्ति उताचढाबको बीचबाट अघि बढ्छ ।
अहिले हामी क्रान्तिको रक्षा र विकासको प्रक्रियाबाट अघि बढिरहेका छौं । यही नै अबको विकल्प हो । अबको मुक्तिको बाटो पनि यही नै हो । पार्टी टुटफुट र विभाजनले कार्यकर्ता र जनतालाई भने केही बढी निराश नै बनाएको छ । तर हामीले क्रान्तिकारी आशावाद जागृत गर्नुपर्छ ।
जलभित्र तपाईंसँग साथै बसेका साथीहरु अहिले सरकार पनि छन् । जेलका बारेमा उनीहरुले केही सुधारात्मक कामहरु गर्ने सोचेका होलान् ?
सँगै जेलमा बसेका साथीहरु सांसद र मन्त्रीहरु पनि छन् । तर उनीहरुले जेल सुधारका कामहरु केही पनि गरेका छैनन् । ती संसदीय फोहरी आहालमा आफै डुब्न पुगेका छन् । तिनले केको जेल सुधार गरुन् ? उनीहरु आफै सुध्रन नसकेर आफै सिद्धिएका छन् । आज पनि बन्दी कैदीहरु राणाकालीन पुराना थोत्रा घरहरुमा कोचिएर बसिरहेका छन् । काठमाडौं न हो, बेलाबेलामा भूकम्प गइरहेको छ । सन्त्रास छ जेलमा ।
भूकम्प पीडितका लागि र अरुहरुले पनि आफ्नै रकम र पैसाबाट पिलर उठाएर घरहरु बनाइरहेका छौं । तर जेल भने पुरानै अवस्थामा छ । कैदी तथा बन्दीहरु कोचिएर राखिएका छन् । भित्ताहरु चर्किएका छन् । ती घरले सामान्य अवस्थामा त थेग्न सक्ने स्थितिमा छैनन्, झन् भूकम्प गएको बेलामा के होला ? कहीं पनि जेलमा नयाँ र बलिया घरहरु बनाइएका छैनन् ।
तपाई संघर्षमा, तपाईसँग सँगै जेलबसेका सरकारमा भएपछि तपाईलाई उनीहरुले दमन गर्न सक्ने भयो नि त होइन र ?
हो, संघर्ष मात्र होइन, फेरि पनि ‘ब्याटल’मा जानु पर्ने स्थिति आउन थालिसक्यो । हामी विचारले लागेका हौं । लहलहैमा लागेका होइनौ । भण्डारखाल पर्वदेखि २००७ साल, २०२७ हुँदै २०५२ र २०६२÷०६३ बेहोरिसकेका छन् जनताले ।
हिजोको जनयुद्धको बेलामा निर्माण गरिएको नेतृत्वले धोखा दिएको छ । बेइमानी गरेको छ । उल्टै साम्राज्यवाद र विस्तारवादको गोेठालो बनेको छ । त्यसका पछि अब जनता कदापि लाग्ने छैनन् । धोका नेता र नेतृत्वले दिएको हो, कार्यकर्ता र जनताले होइन । यो कुरा जनताले राम्रो गरी बुझेका छन् । हामी यिनै जनताका बीचमा गयौं भने जित टाढा छैन ।
अबको जनताको जागृत र विराट् आन्दोलनका अगाडि आफूलाई महापुरुष सम्झनेहरु पनि नरकटमा परिणत हुने छन् ।