कञ्चनपुर । सामूहिक बलात्कार गरी हत्या गरिएकी कञ्चनपुर भिमदत्त नगरपालिका– २ महुलिया उल्टाखामकी १३ वर्षिया निर्मल पन्तका हत्याराहरुलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिन आफन्त र स्थानीयबासीहरुले माग गरेका छन् । बालिका हत्याराको खोजी र कारबाहीको माग गर्दै गरिएको प्रदर्शनमा उनीहरुले यस्तो माग गरेका हुन् । उनीहरुले भीमदत्त नगरपालिकाको गेटमा शुक्रबार दिनभर प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीसँग पटक पटक झडप समेत भएको थियो । शुक्रबार बजार समेत पूर्णरुपमा बन्द रहेको थियो ।
स्थानीय सरस्वती मावि कक्षा ९ मा अध्ययनरत निर्मला बिहीबार दिउँसो साथी रोशनी बमको घरबाट गृहकार्य गरेर पर्किने क्रममा सामूहिक बलात्कारको शिकार भएकी थिइन् । उनको शव शुक्रबार विहान निम्बुखेडा खोलापारि उखु बारीमा फेला परेको थियो ।
साथीको घर पढ्न बिहीबार ११ बजे गएकी निर्मला बेलुका ६ बजेसम्म घर नआएपछि परिवारले खोजतलास शुरु गरेको थियो । कतै नभेटेपछि राति ९ बजे भिनपा निम्बुखेडा स्थित प्रहरीबिटमा खबर गरेका थिए । प्रहरीबिटका इन्चार्जले शुक्रबार बिहान खोजतलास गरौला भनेर आलटाल गरेको स्थानीय विमला पन्तले बताइन् ।
शुक्रबार बिहान–८ बजे आफन्त र स्थानीयले खोजी गर्दा बालबालिको साइकल र कपि फेला परेपछि थप खोजी गर्दा उनको उखुबारीमा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानबाट बालिकाको सामूहिक बलात्कार गरी हत्या गरिएको देखिन आएको प्रहरी निरीक्षक एकेन्द्र खड्काले बताए । हत्याको सत्य तथ्य पत्ता लगाउन अनुसन्धान चलिरहेको खड्काले बताए ।
यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी) कञ्चुनर, अनेमसंघ (क्रान्तिकारी), अखिल (क्रान्तिकारी) लगायत विभिन्न संघ, संगठन र संस्थाहरुले हत्याराहरुको खोजी गरी हदैसम्मको कडा कारबाहीको सजाय गर्न प्रशासन समक्ष माग गरेका छन् ।