
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का काठमाडौं जिल्ला सल्लाहकार केदार थापाको ७६ वर्षको उमेरमा असामयिक निधन हुन पुगेको छ । कीर्तिपुर भेगका पुराना वामपन्थी थापा कम्युनिष्ट आन्दोलनमा भएका टुटफुट विभाजनमा क्रान्तिकारी धारमा उभिदै आउनु भएको थियो । पारिवारिक स्रोतका अनुसार कीर्तिपुर, इटागोलका स्थायी बासिन्दा थापाको नियमित शारीरिक ब्यायामको सिलसिलामा शुक्रबार विहान चोभारको भीरबाट लडेर निधन भएको हो ।
थापाको शुक्रबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । थापाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी महासचिव मोहन वैद्य किरण लगायत क्रान्तिकारी माओवादी नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । थापाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली गरिएको थियो । दिवगंत थापाको एक श्रीमति, दुई छोरा र दुई छोरी रहेका छन् ।