आन्दोलनमा बदलिंदै डा. केसीका माग

काठमाडौं । तीन हप्तादेखि निरन्तर अनसनमा बस्दै आएका डा. के.सी.को मागप्रति सरकारको कुनै चासो नदेखिए पछि उनको मागले सडक आन्दोलनको स्वरुप ग्रहण गर्न थालेको छ । देशको चिकित्सा शिक्षा सुधारका नाममा सदनमा टेबुल गरिएको विधेयक फिर्ता गर्न माग गर्दै केसी निरन्तर आमरण अनसनमा छन् ।

दूरदराजको जुम्लामा आमरण अनशनमा बसिरहेका डा. गोविन्द केसीलाई शारीरिक रुपमा कमजोर अवस्थामा रहेको मौका पारी जबर्जस्त सेनाको हेलिकप्टरमा राखी काठमाडौंमा ल्याए पनि हाल उनलाई वेवास्ता गरिएको छ । केसी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनमा बसिरहेका थिए ।

काठमाडौं गएपछि स्वास्थ्य पनि ठीक हुन्छ र मागहरु पनि पूरा गरिने छ भन्दै केसीको आत्म स्वीकृतिबिना अपहरणको शैलीमा काठमाडौंमा ल्याएपछि सरकारी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिएर वार्ताको वातावरण तयार पार्नुको बदला उल्टै टेबुल गरिएको विधेयक पारित गर्ने वातावरण तयार गर्ने प्रयासमा लागिरहेको छ । संसद र मन्त्रीहरु विधेयक पारित गर्नतिर लाग्ने र केसीलाई भुलाउन शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेर वार्ताका लागि पहल गरिरहे झैं गर्ने सरकारको आन्तरिक योजना रहन गएको बुझिएको छ ।

आगामी १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेजको सम्बन्धन नदिने बरु दूरदराजका इलाकाहरुमा मेडिकल कलेजहरु खोलिनुपर्ने रहेको धारणा केसीको रहँदै आएको छ । महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा अनसनरत केसीलाई काठमाडौँ ल्याएपछि वार्ता गर्न सहज हुने बताउँदै आएको सरकार आफ्नो पूर्ववत् अडानमा टसको मस छैन । केसीसँग दुईदुई पटक वार्ता गरिसकिएको भन्दै जनतालाई भ्रममा पारिरहेको छ । केसीको नजिकै गएर सञ्चो या विसञ्चोका कुरा गरेर सरकारी वार्ता टोलीले ढाँटढुँट गरिरहेको छ ।

यता केसीको भने सरकारी कर्मचारीसँग वार्ता नगर्ने र मन्त्रीस्तरीय वार्ता टोली गठन भएमा संवाद अघि बढाउने सोच रहेको छ बुझिएको छ । तर प्रम ओलीको सचिवालयले केसीको माग पुरानो भैसकेको भन्दै नयाँ रटान रट्न थालेको छ । यसबाट संवाद र सहमतिको कुनै संकेत पनि देखिएको छैन ।

काठमाडौंमा प्रबुद्ध व्यक्तिहरुको विरोध प्रदर्शन

डा. केसीका मागहरु पूरा गर्न भन्दै काठमाडौंका प्रवुद्ध व्यक्तिहरु विरोधप्रदर्शनमा उत्रिन थालेका छन् । केसीका मागहरु पूरा गरी उनको जीवनरक्षा गर्न माग गर्दै पूर्व प्रशासकदेखि मानवअधिकारवादी र राजनेता तथा प्रधान न्यायाधीशसम्म सडकमा ओर्लिन थालेका छन् । मानवअधिकारवादी कृष्ण पहाडी, वाम नेता श्याम श्रेष्ठ, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, चर्चित लेखक खगेन्द्र संग्रौला, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व उपकुलपति केदारभक्त माथेमा, विवेकशील साझा पार्टीका रबिन्द्र मिश्र आदि केसीको जीवन रक्षार्थ सडकमा ओर्लिएका हुन् ।

नेपाली कांग्रेस सडक संघर्षमा

नेपाली कांग्रेस पनि केसीका मागहरुलाई पूरा गराउन सडकमा उत्रिएको छ । नेविसंघका युवाहरु सडकमा ओर्लिएका छन् । यसका साथै चरणवद्ध आन्दोलनको घोषण गर्ने पनि बताइएको छ ।