आलोचना र आत्मालोचना मार्क्सवादको एउटा महत्वपूर्ण सिद्धान्त हो र त्यसको सांगठनिक सिद्धान्तको एउटा प्रमुख तत्व हो । खास रुपले आत्मालोचनाको सवाल सर्वहारा पार्टीको जीवनमा अत्याधिक महत्व राख्ने सवाल हो । पार्टीका सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक गतिविधिहरुले सञ्चालन गर्ने सिलसिलामा त्यसका नेताहरुबाट हुनजाने गल्तीप्रति लिइने दृष्टिकोणसित सम्बन्धित सवाल हो यो । सो दृष्टिकोण कुनै पार्टीको वास्तविक वर्गीय पहिचान गराउने एउटा मुख्य चिन्हको रुपमा माक्र्सवादीहरुले लिने गरेका छन् । त्यसबारे व्यक्त गरिएको लेनिनको निम्न धारणा बडो सारगर्भित छ :

हार्दिक शुभकामना !

“आफूले गरेको गल्तीप्रति कुनै राजनीतिक पार्टीबाट अपनाइने दृष्टिकोण त्यो पार्टी कतिसम्म इमान्दार छ र त्यसले कुन रुपमा आफ्नो वर्ग तथा श्रमिक जनताप्रतिको आफ्नो दायित्वलाई पूरा गर्छ भन्ने कुरालाई जाँच्ने एउटा अत्यधिक महत्वपूर्ण तथा गंभीर उपाय हो । गल्तीलाई खुलस्त रुपले स्वीकार्नु, गल्ती हुनाको कारणलाई निश्चित गर्नु, कुन स्थितिमा गल्ती हुन गएको हो त्यसको विश्लेषण गर्नु, त्यसलाई सुधार्नका लागि उपाय पत्ता लगाउनु– यो नै एउटा गम्भीर पार्टीको चिन्ह हो, र त्यस ढंगबाट नै त्यसले आफ्नो कर्तव्यलाई पूरा गर्नुपर्छ र त्यसरी नै त्यसले आफ्नो वर्ग र अनि जनसमुदायहरुलाई शिक्षित र प्रशिक्षित गर्नुपर्छ ।” (लेनिन, “संकलित रचनाहरु”, भाग ३१, पृष्ठ ५७)

आत्मालोचना आम रुपमा कम्युनिस्टहरुको आचारसंहिताको एउटा प्रमुख र अत्याधिक महत्वपूर्ण तत्व मानिएको छ । कम्युनिस्टहरुमाझ आत्मालोचना भन्ने पद निकै प्रयोग हुने गरेको छ र साथै यो एउटा फेसनजस्तै बनेको पनि छ । वास्तवमा, आत्मालोचनालाई कम्युनिस्ट पार्टी र अन्य मजदुर संगठनहरुले अपनाउनु पर्ने र प्रयोग गर्नुपर्ने साधनको रुपमा लिने गरेका छन्, किनभने पार्टी र अन्य संगठनहरुको काममा हुन गएका गल्तीलाई सुधार्न र त्यसमा रहेका कमजोरीलाई हटाउनका लागि त्यसलाई एकदमै उपयुक्त तरिका ठानिएको छ ।

त्यसका साथै, पार्टी नेता तथा कार्यकर्ताहरुबाट कुनै गल्ती भएमा, त्यस्तो गल्ती बारम्बार दोहोरिने नहोस् भनेर त्यसलाई सुधार्ने यो एउटा भरपर्दो र विश्वस्त तरिका हो । त्यसैले मार्क्स, लेनिन, आदि सर्वहारावर्गका महान् नेताहरुले मजदुर पार्टी तथा संगठनहरुमा आलोचना तथा आत्मालोचनाको तरिकाको प्रयोग हुनुपर्ने कुरामा जोड दिएका थिए । अहिले यो तरिका विश्वका सर्वहारा पार्टी तथा संगठनहरुबाट प्रयोग गरिने एउटा मुख्य सिद्धान्त रहेको छ । र के भनिन्छ भने, भावी कम्युनिस्ट समाजमा, जसमा कुनै वर्गहरु रहनेछैनन् र जहाँ वर्गीय शोषण तथा उत्पीडनको अस्तित्व रहनेछैन, त्यस समाजको विकासमा उत्पन्न हुने अन्तरविरोधहरुको समाधान गर्ने मुख्य उपाय सही आलोचना तथा आत्मालोचनाको तरिका हुनेछ ।

“सोभियत संघको कम्युनिस्ट पार्टी (बो.) को इतिहास” नामक प्रख्यात कृतिको “उपसंहार” शीर्षकमा रुसी बोल्शेविक पार्टीको ऐतिहासिक अनुभवबाट निकाल्नु पर्ने एउटा महत्वपूर्ण निष्कर्ष र त्यसले सिकाउने एउटा महत्वपूर्ण शिक्षालाई निम्न रुपमा उल्लेख गरिएको छ :

“पार्टीको इतिहासले हामीलाई अर्को कुन कुरा सिकाउँछ भने यदि पार्टी सफलताबाट होश गुमाएर घमण्डी बन्न थाल्छ, आफ्नो काममा भएका त्रुटिहरुलाई बेवस्ता गर्छ र आफ्ना गल्तीहरुलाई सकार्न र इमान्दारीपूर्वक तथा खुल्ला रुपमा समयमा नै ती गल्तीहरुलाई सच्याउन डराउँछ भने, त्यसले मजदुरवर्गको नेताको हैसियतबाट आफ्नो भूमिका पूरा गर्न सक्दैन ।”

“यदि पार्टी आलोचना र आत्मालोचनादेखि डराउँदैन भने, यदि त्यसले आफ्नो काममा भएका गल्ती र त्रुटीहरुप्रति बेवस्ता गर्दैन भने, यदि त्यसले पार्टी काममा भएका गल्तीहरुबाट शिक्षा लिएर आफ्ना कार्यकर्ताहरुलाई सिकाउने तथा शिक्षित पार्ने गर्छ भने यदि त्यसले समयमा आफ्ना गल्तीहरु सच्याउन जानेको छ भने, त्यो अजेय हुन्छ ।”

नेपाली कम्युनिस्टहरुले पार्टी स्थापनाको सुरुदेखि नै आत्मालोचनाको तरिकालाई अपनाउनुपर्ने र प्रयोग गर्नुपर्ने कुरालाई सकारेर आएका छन् । कम्युनिस्ट आन्दोलनभित्रका सबैजसो समूहहरुले उक्त तरिकालाई आफूलाई कमजोरीबाट मुक्त पार्ने र सुधार्ने तथा परिमार्जित गर्ने साधनको रुपमा लिएका छन् र तिनले आफ्ना विधान, नियमावली तथा लिखतपत्रहरुमा उल्लेख गरेका पनि छन् । तर तिनबाट सो तरिकाको प्रयोग यदाकदा मात्र हुने गरेको छ, र ठीक ढंगबाट प्रयोग कमै मात्र हुने गरेको छ । हाम्रो पार्टीले पनि आफ्नो विधानमा (२०५७) “आत्मालोचना–आलोचनाको पद्धतिलाई सजीव बनाउने” कुराको उल्लेख गरेको छ ।

तर आत्मालोचनालाई त्यसको उद्देश्यअनुरुप प्रयोग गर्ने प्रवृत्तिको विकास भएको पाइएको छैन । आत्मालोचनाको कुरा एउटा फेसनजस्तो बनेको छ, र गल्ती गर्नाको कारण आफू अफ्ठ्यारोमा पर्दा त्यसबाट उम्कने एउटा सजिलो उपाय जस्तो भएको छ । आफूमा भएको कमजोरीलाई हटाउने र गल्तीलाई सच्याएर आफूलाई सुधार्ने र परिमार्जित गर्ने जुन कुराको आत्मालोचनाको पद्धतिले अपेक्षा गरेको छ, त्यसप्रति कमै मात्र ध्यान दिइएको हुन्छ । गल्ती सुधार्ने भित्री मनसायबाट आफ्नो आलोचना गर्ने व्यक्तिले गल्ती हुनाको कारणको विश्लेषण गर्छ र त्यस्तो गल्ती फेरि नदोहोर्याउने गरी आफूलाई सुधार्छ । गल्ती गर्ने र आत्मालोचना गर्ने, त्यस्तै गल्ती फेरि दोहोर्याउने र फेरि आत्मालोचना गर्ने र यसरी बारम्बार गल्ती दोहोर्याउँदै र आत्मालोचना गर्दै जाने भएमा, त्यो एउटा दोषमा र हटाउन नसकिने दुर्गुणमा परिणत हुन्छ, र त्यस प्रकारको आत्मालोचना एउटा फेसन बन्न जान्छ र अरुलाई धोखा दिने साधनमा फेरिन्छ ।

पार्टीमा आत्म–समीक्षा र आत्मालोचना गर्ने प्रवृत्ति कमजोर हुँदै गएको देखिएको छ । त्यसको उल्टो, कस्तो देखिएको छ भने आफूबाट गल्ती भएर कुनै काम बिग्रे वा कुनै काममा आफू असफल भए, त्यसको सारा दोष अरु बाहिरका माथि थोपार्ने र यसरी आफू एकदमै चोखो रहेको सावित गर्न खोजिन्छ । यहाँ आफू जैले पनि ठीक, आफूबाट कहिल्यै गल्ती हुन नसक्ने, आफूले जे ग¥यो र जे बोल्यो त्यही सहि भन्ने सोचले काम गरेको देखिन्छ । आफ्नो गल्तीलाई खुलस्त नपार्ने र त्यसलाई हरतरहबाट ढाकछोप गर्ने प्रवृत्ति विभिन्न स्तरका पार्टी नेतृत्वहरुलाई आफ्नो पकडमा पारेको जस्तो लाग्छ । स्पष्ट छ, यस्तो प्रवृत्ति विलकूल गलत छ र यो माक्र्सवाद–विरोधी धारणा हो ।

आफ्ना गल्ती वा आफूबाट हुन गएका कमजोरीलाई खुलस्त नपारेर त्यसलाई ढाकछोप गर्नाको पछिल्तिर एउटा गलत धारणाले काम गरिरहेको पाइन्छ । त्यो धारणा के भने आम कार्यकर्ताहरु वा आम श्रमिक जनतालाई आफ्ना गल्ती वा कमजोरी थाहा दिनु हुन्न, किनभने सो थाहा पाएमा नेताप्रति तिनीहरुको विश्वास र सम्मान खतम भएर जान्छ । त्यही धारणाअनुसार, पार्टी नेताहरु पार्टीभित्रका सत्य तथ्यहरु वा त्यसभित्रको वस्तुस्थिति तलकाहरुलाई थाहा दिुन हुन्न भन्ने ठान्छन्, किनभने, यदि तिनीहरुले ती सब थाहा पाए भने, तिनीहरु निराश हुनेछन् वा नेतृत्वप्रति विश्वास गर्न छाड्छन् । अहिले कस्तोसम्म स्थिति देखिएको छ भने पार्टी बैठकहरुमा भएका अलोचना–आत्मालोचना, द्वन्द्व, आदि र त्यहाँभित्र के के भयो भन्ने कुरा कुनै स्रोतबाट बाहिर आएका हुन्छन् र विरोधी मिडियाले त्यसलाई कुनै रुपमा प्रचारमा ल्याएमा हुन्छन्, तर आम कार्यकर्ता र जनताले त्यस सम्बन्धमा नेतृत्वमार्फत् थाहा पाएका हुँदैनन् । यस्तो स्थिति कुनै रुपमा पनि राम्रो होइन ।
तर, आम जनता वा आम कार्यकर्ताबाट आफ्ना गल्ती वा कमजोरीलाई यसरी ढाकछोप गर्ने प्रवृत्तिलाई मार्क्सवादीहरु एकदमै गलत ठान्छन्, र उनीहरु जनतालाई सत्य कुरो थाहा दिनु पर्नेमा जोड दिन्छन् । यस सम्बन्धमा लेनिनले जिनोवीयवसितको कुराकानीमा व्यक्त गरेको धारणा उपदेशक र सारगर्भित छ । तल लामो भए पनि एउटा पूरै प्यारा उद्धृत गरिएको छ । उनले भनेका छन् :

“मैले नाराहरुको चटक देखाइरहेको होइन । क्रान्तिको प्रत्येक नयाँ मोडमा म जनतालाई साँचो कुरा बताइरहेको छु, चाहे त्यो सत्य जतिसुकै कटू होस् । र, मलाई लाग्छ, तपाई जनतालाई साँचो कुरा बताउन डराउनु हुन्छ । तपाई पुँजीवादी तरिकाबाट सर्वहारा नीतिको अनुशरण गर्न चाहनुहुन्छ । जो नेताहरु आफ्नो मण्डलभित्र ठानेर त्यो सत्य उनीहरुलाई बताउँदैनन्, तिनीहरु सर्वहारा नेता होइनन् । साँचो कुरा बोल्नोस्, तपाईले सम्झौता गर्नुभएको छ भने जनतालाई त्यो सम्झौता हो भनिदिनोस्, यदि तपाईले शत्रुमाथि सजिलो विजय पाउनुभएको छ भने त्यो गाह्रो भनेर हठ नगर्नाेस्, कठिन भए, त्यसलाई सजिलो भनेर घमण्ड नगर्नाेस्, तपाईले गल्ती गर्नुभयो भने, आफ्नै प्रतिष्ठाका लागि नडराइकन आफ्नो गल्तीलाई सकार्नाेस्, किनभने गल्ती सम्बन्धमा मौन बस्नाले तपाईको प्रतिष्ठालाई बिगार्छ, यदि परिस्थितिले तपाईलाई बाटो फेर्न बाध्य पारेको छ भने कुनै परिवर्तन नै नभएको झैं गरी स्थितिलाई प्रस्तुत गर्न नखोज्नोस्, यदि मजदुरवर्गको वर्गीय भावना र क्रान्तिकारी सहज ज्ञानमा तपाई विश्वास गर्नुहुन्छ भने, त्यसप्रति सत्यवादी बन्नोस् र माक्र्सवादीको लागि त्यसप्रति विश्वास नगर्नु भनेको लाज र विनास हो । यसबाहेक, शत्रुलाई धोका दिने कुरा समेत पनि ज्यादै जटिल तथा दोधारे छ र प्रत्यक्ष सैनिक कार्यनीतिका अत्यधिक ठोस मामिलामा मात्र ग्राह्य छ । किनभने हाम्रा शत्रुहरु हाम्रा मित्रहरुबाट कुनै फलामे पर्खालबाट छुट्टिएका छैनन्, जनतामाथि अझसम्म तिनीहरुको प्रभाव छ र आम जनतालई मूर्ख बनाउने आफ्नो सीपका साथ उनीहरुले– सफलताका साथ नै – हाम्रो चलाकीपूर्ण चाललाई जनतालाई धोका दिने प्रयत्नको रुपमा दर्शाउन खोज्नेछन् । ‘शत्रुलाई धोका दिन’का लागि आम जनताप्रति बेइमानी हुनु भनेको एउटा बेबकुफी तथा कुबुद्धियुक्त नीति हो । सर्वहारावर्गलाई सत्य चाहिएको छ र त्यसको लक्ष्यको लागि सौजन्ययुक्त निम्न–पुँजीवादी झुटभन्दा बढी हानिकारक अर्काे कुनै कुरा छैन ।” (इमान्युल काजाकेनिभ ‘नीलो नोटबुक’ बाट उद्धृत ।)

प्रतिक्रिया

सम्बन्धित खवर