काठमाडौं, साउन २ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका छन् ।नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्डसँग (पहिलो एकदिवसीय खेल) टी–२० सिरिज खेल्दैछ तर शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा आफूले सन्यास लिने निर्णय सुनाएका हुन् ।
लड्र्समा लेखे लगत्तै टोली नेदरल्याण्ड जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । साउन १६ र १८ मा एकदिवसीय श्रृखला हुनेछ । शक्तिका लागि यो नै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ ।
नेपालले पाएको एकदिवसीय मान्यता युवा खेलाडीहरुका लागि अवसर भएको उनले बताए । आफ्ना जुनियरहरुले आफूभन्दा राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने विश्वास दिलाएको भन्दै उनले भने, ‘मलाई लाग्छ यो सही समय हो । म फस्ट ओडीआई म्याच खेलेर विदा हुँदैछु । म चाहन्छु कि यो ब्याचले टेष्ट खेलेर विदा लिओस् ।’ शक्ति गौचनले नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटले तय गरेको यात्रा शक्ति विना सम्भव नभएको बताए । उनले उच्चस्तरको पुरस्कार घोषणा गरेर शक्ति गौचनको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।