भोलि देशभरका आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गर्दे चिकित्सक संघ

भोलि देशभरका आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गर्दे चिकित्सक संघ

काठमाडौं, साउन २ । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै नेपाल चिकित्सक संघले भोली (बिहीबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।

अहिले सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा. केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सृजना गर्न वार्तामा बसेको हो कि भन्ने आशंका पैदा भएको समेत संघले जनाएको छ । संघले भनेको छ, सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा समेत डा. केसीले जीवन त्याग्नु पर्ने परिस्थिति सिर्जना भयो भने त्यो भन्दा दुर्भाग्य केही हुन सक्दैन ।’

चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतीघर मण्डलामा भेला हुने निर्णय समेत गरेको छ । ‘एक दिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म र्पुयाउन र सरकारलाई संवेदनशील हुन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।’

सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि चिकित्सक संघले दिएको छ ।