चितवन, साउन २ । भरतपुर महानगरपालिकाले राजमार्गमा अस्तव्यस्ता र दुर्घटना बढेको भन्दै साउन ५ गतेदेखि अटोरिक्सा र ट्याम्पो चलाउन रोक लगाउने तयारी गरेको छ ।
भरतपुर महानगरपालिकाले यो भन्दा पहिले पनि राजमार्ग क्षेत्रमा अटोरिक्सा र ट्याम्पो गुड्न नदिने निर्णय गरेको थियो तर त्यो कार्यान्वयनमा आउन सकेन । तर यसपटक जसरी पनि कार्यान्वयनमा ल्याउने महानगरपालिकाकी मेयर रेनु दाहालको भनाई छ । उनले भनिन्, ‘फुटपाथको पसलहरु हटाउने काम जसरी कार्यान्वन भयो यसलाई पनि त्यसरी नै कार्यान्वयनमा ल्याउँछौ । यसमा सबै सरोकारवालाहरुको साथ र सहयोग चाहिन्छ ।’
महानगरले गतवर्ष असोजमा जोर–बिजोर प्रणाली लागू गर्ने भनिए पनि अटो ट्याम्पो व्यवसायी र मजदुरहरुको आन्दोलनले महानगर असफल बनेको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अटो ट्याम्पो र रिक्साहरु भरतपुरबाट केबलकारसम्म समेत पुग्ने गरेको पाइएको बताए ।
उनले भने, ‘राजमार्गमा जहाँपनि मोड्ने घुमाउने, जहाँ पायो त्यही रोक्ने क्रम नरोकिएकोले राजमार्गमा चलाउन रोक लगाउन लागिएको हो ।’ उनीहरुका लागि भित्री सडक नै प्रयाप्त र उपर्युक्त हुने उनको भनाई छ । मुख्य राजमार्गमा क्रस गर्नमात्रै पाइने महानगरले जनाएको छ ।अहिले महानगरपालिकाले भित्री बाटोमा आवतजावत गर्नका लागि १६ वटा क्रसिङ पोइन्टहरु बनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौत्तमका अनुसार भरतपुरको बाइपासरोडतर्फ बसेनी चोक, विशाल चोक, नहर चोक, आन्तरिक राजस्व कार्यालय चोक, मालपोत चोक, हुलाक चोक र थानी चोकबाट बाटो क्रस गर्न पाइने छ । यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत लायन्स चोक, चौबिसकोठी, रिजाल चोक र हाकिम चोकबाट बाटो काट्न पाइने छ । मुग्लिन नारायणगढ सडकतर्फ भने पोखरा बसपार्क चोक, लीला चोक, उद्योग वाणिज्य संघ चोक, युथ क्लब चोक र पुल चोकबाट बाटो काट्न पाइने छ । ट्राफिक प्रमुख गौत्तमका अनुसार केहिदिन जनचेतनामूलक कार्यक्रम गर्ने र त्यसपछि नमाने नियम उल्लघंन गरेको भनेर कारर्वाही गरिने छ ।
अहिले भरतपुरमा करिब ३ हजार भन्दा बढि अटो रिक्सा र ट्याम्पो रहेको अनुमान गरिएको छ । महानगरले पटकपटक अटो रिक्सा सञ्चालनको अनुमति नदिने यातायात कार्यालयलाई पत्राचार गरेपनि त्यो क्रम नरोकिएको महानगरले जनाएको छ । अटो ट्याम्पो कै कारण जिल्लामा दुर्घटना बढ्दै गएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷०७५ मा मात्रै ९० पटक अटो ट्याम्पो दुर्घटना भएको देखिएको छ । जसमध्ये १० वटा गम्भीर खालको र बाँकी ८० वटा सामान्य खालको दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
अटो र ट्याम्पो दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन् । तीमध्ये १३ जना गम्भीर घाइते भएको उनले बताए ।
महानगरले अटाेरिक्सा सञ्चालनमा रोक लगाए आन्दोलनको चेतावनी
महानगरले अटोरिक्सा एवं ट्याम्पो सञ्चालनमा रोक लगाएर आफूहरुको रोजीरोटीलाई खोस्न खोजिएको भन्दै रोक लगाएको खण्डमा आन्दोलनमा उत्रिने समेत चेतावनी दिएको छ । उनीहरुले भरतपुर महानगरपालिकाको मेयर रेनु दाहाललाई ज्ञापन पत्र बुझाउँदै निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।