बाग्लुङ । मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा पहिरो गएको छ । बजारदेखि माथिल्लो भागबाट खसेका पहिरो र बाढीले बजारका धेरै छाप्रा पुरिएका छन् । दर्जन पक्की घरमा समेत क्षति पुगेको छ ।
वाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. १ स्थित बुर्तिवाङ अस्पतालको पहिलो तल्ला ढुंगामाटोले पुरिएको छ । यस्तै पहिरोले मध्यपहाडी लोकमार्गको केही खण्ड पनि पुरेपछि बुधबार रात्री सेवा र बिहीबार बिहान छुट्ने सवारी अलपत्र परेको प्रहरीले बताएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का बाग्लुङ इन्चार्ज निलबहादुर पुनले दिएको जानकारी अनुसार मंगलबार दिउसो दुईबजेदेखि बुधबार विहान तीन बजेसम्म परेको अवीरल बर्षाका कारण पहिरो खस्न थालेपछि धेरैले भागेर ज्यान बचाएका कारण मानवीय क्षति भने भएको छैन ।
प्रहरी, स्थानीय र राजनीतिक पार्टीका नेता कार्यकर्ताले रातिदेखि नै उद्दारको काम थालेका थिए । ‘पहरी खस्नासाथ डोजर लिएर उद्दारमा खटियौं, घरभित्रका सबैलाई जवरजस्ती सुरक्षित स्थानमा पठायौं,’ पुनले भने, ‘समयमा उद्दार नगरेको भए मानवीय क्षति हुन्थ्यो ।’ प्रहरीका अनुसार ११ घरमा पूर्ण क्षति, १२ घरमा आंशिक क्षति पुगेको हो । त्यस्तै २ वटा ग्रील उद्योग, १ फर्निचर र १ कुटानी पिसानी मिल पुरिएको छ।
बजारभर हिलो पसेकोले पैदल हिँड्न पनि सास्ती भएको छ। तल्लो बजार तर्फको जनजीवन कष्टकर भएको यादवले बताए। पहिरो पीडितहरुको खाद्यान्न, लत्ताकपडा र पशुचौपाया समेत पुरिएका छन्। धेरैजसोले पालेका कुखुराहरु सबै पुरिएको सुवेदीले बताए। प्रहरीले उद्दारको काममा खटिने बाहेकलाई सुरक्षित स्थानमा बस्न भनेको छ ।