सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा पाँच जना पक्राउ

सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा पाँच जना पक्राउ

धनगढी, असार २२ । कैलालीमा एक किशोरीलाई सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले पाँच जना पक्राउ गरेको छ । कैलाली, गौरीपालिका नगरपालिका–११ जरही कटान बस्ने २१ वर्षीया किशोरी माया बिकको सामूहिक बलात्कार पछि हत्या गरेको खुलसा भएको छ ।

हत्या गरेको तीन दिनपछि स्थानीय चपरथली सामुदायिक वन भित्र किशोरीको नग्न अवस्थामा लाश फेला परेको थियो । प्रहरीले घटना भएको दश दिन पछि पक्राउ गरेको आरोपीहले सामूहिक बलात्कार पछि हत्या गरेको स्वीकारेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिनोद घिमिरेले पत्रकार सम्मेलनमा स्थानीय ५ जनाले सामूहिक बलात्कार पछि हत्या गरेको बताए । उनले गौरी गंगा ११ शिवपुर घर भएका ३० वर्षे गणेश बडुवालको मुख्य योजनामा किशोरीको बलात्कार पछि हत्या भएको बताए ।
‘घटना हुनु पूर्वको एक दिन अघि गणेशले राखेको शारीरिक सम्पर्कको प्रस्ताव किशोरीले अस्वीकार गरेपछि बलात्कार गरेर हत्या गर्ने योजना बनाएको रहेछ’ एसपी घिमिरेले भने ।

उनका अनुसार गणेश र किशोरीले केहि दिन अघि स्थानीय गौरीगंगा नगरपालिकाको घर परिवारको तथ्यांक संकलन फाराम भर्ने काम पाएका थिए । दुवै जना संगै फाराम भर्ने काममा खटिएका थिए । यहि क्रममा किशोरीसँग गणेशले शारीरिक सम्पर्कको प्रस्ताव राखेका थिए । ‘किशोरीले जर्वरजस्ती गरे सार्वजनिक गर्ने भनेपछि गणेशले आफ्ना साथीहरुलाई बोलाएर बलात्कार गरि हत्या गर्ने योजना बुने’ एसपी घिमिरेले भने, ‘गएको १२ गते किशोरी माया घरबाट साइकलमा नगरपालिका आउँदै गर्दा जंगल नजिक बाटो ढुकेर अपहरण गरि जंगलभित्र लगेर सामूहिक बलत्कार गरेका रहेछन् ।’

घटनामा गौरीगंगा–११ शिवपुरकै २७ बर्षे मनोज बोगटी, ऐठाका २१ वर्षे सुरज चौधरी, शिवपुरमै घर भएका २० वर्षे भुवन खाती र १९ वर्षे तपेन्द्र बोगटी रहेको प्रहरीले जनाएको छ ।

सवैलाई प्रहरीले शुक्रवार पक्राउ गरि सार्वजनिक गरेको हो । उनीहरुमाथि सामुहिक बलात्कार र कर्तब्य ज्यानको मुद्दा दर्ता गरि कार्वाही गरिने एसपी घिमिरेले जानकारी दिए ।

प्रहरीका अनुसार किशोरीको लाश बिभत्स अवस्थामा फेला परेको थियो । हात पछाडी बाँधेको र मुखमा चुंगीको डोरीले बाँधेको अवस्थामा फेला परेको थियो । मुख्य योजनाकार गणेश बडुवालले किशोरीले फाराम भरेवापत पाउने ८० हजार रुपैयाँ अन्य आरोपितलाई समेत दिने भनेर हत्याको योजनामा सहभागी गराएको एसपी घिमिरेले बताए ।