१. विषय उठान
नेपाली साहित्यमा प्रचलित समाजवादी यथार्थवाद साहित्यको मूल धाराका रूपमा रहँदै आएको छ । यस विश्वदृष्टिकोण, उदेश्य र स्पष्ट विचारधाराका कारणबाट यसले छुट्टै क्रान्तिकारी भूमिका सहित विशिष्ट पहिचान स्थापित गरेको छ । आफ्नो पृथक् विश्वदृष्टिकोणका साथै वर्ग पक्षधरता रहनु र यथार्थ प्रति इमान्दार हुनु समाजवादी यथार्थवादी सर्जकहरूको वैशिष्ट्य रहेको छ । वर्ग, विचार र यथार्थ प्रतिको सकृय प्रतिबद्धताका साथै आशावादिता एवम् मुक्त जीवन निर्माण प्रतिको तीव्र आकाङ्क्षा व्यक्त हुनु र मालेमावादी विश्वदृष्टिकोणसँग गाँसिनु एवम् ऐतिहासिक र समकालीन यथार्थको वस्तुपरक र सौन्दर्ययुक्त प्रतिबिम्बन गर्नु, क्रान्तिकारी वर्ग, पार्टी र विचार प्रति प्रतिबद्ध भई क्रान्तिलाई सहयोग पु¥याउनु जस्ता युगीन दायित्व निर्वाह गर्नु समाजवादी यथार्थवादी साहित्यको संज्ञान परक, विचार परक तथा कलात्मक काम हो । विचारहीनता तथा अराजकतावादी दृष्टिकोणका विपरीत समाजवादी यथार्थवादी रचनाकार आफुलाई सिद्धान्तवादी एवम् क्रान्तिकारी प्रवृत्तिका साथ आफ्ना रचनामा उभिने प्रयत्न गरेको पाइन्छ । पछिल्लो समयमा भने साहित्य, कला तथा सौन्दर्य चिन्तनका फाँटमा समेत संशोधनवाद प्रवल रूपमा देखा परेको छ र यसले सिर्जनाका सबै क्षेत्रमा जबर्जस्त प्रभाव पार्ने प्रयास गरेको छ । राजनीतिक तथा विचारधाराका फाँटमा देखापरेको संशोधनवादले कलाका विविध पक्षमा पारेको नकारात्मक प्रभावलाई निस्तेज पार्नु र समाजवादी यथार्थवादको मानदण्डलाई जोगाउनु जरुरी भएको छ । यस आलेखमा संशोधनवाद र त्यसले समाजवादी यथार्थवादमा पारेको र पार्न सक्ने केही आधारहरूको निरूपण गरिएको छ ।
२. संशोधनवाद र समाजवादी यथार्थवाद
माक्र्सवादका आधारभूत मान्यताका रूपमा स्थापित हुन पुगेका द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, क्रान्तिमा बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्वलाई छाडेर आदर्शवाद, वर्गसमन्वयवाद, सुधारवाद, संसदवाद तथा ‘उत्तर’ र ‘प्रविधिवाद’ सम्बद्ध मान्यता र दृष्टिकोण अङ्गाल्न पुग्नेहरू नै संशोधनवादी हुन् । दर्शन, राजनीति, विचारधारा, कला साहित्यका क्षेत्र र चिन्तनका फाँटमा संशोधनवादीहरू क्रियाशील रहेका छन् । सर्वहारा वर्गको प्रतिनिधि क्रान्तिकारी शक्ति हो भने त्यस विपरीत पछिल्लो समयमा बहुदलीय जनवादी तथा वर्गीय एवम् राष्ट्रिय आत्मसमर्पणवादीहरू संसदीय लोकतन्त्रलाई नै सिद्धान्त र विचारधाराका रूपमा स्वीकार गरी बहुलवादी÷संसदवादी तथा वर्ग समन्वयवादीका रूपमा फेरिएका छन् । संशोधनवादीहरू मालेमावादका मूलभूत मान्यता तथा विचारधारालाई अस्वीकार गर्दै पुँजीवादी संसदवादी सामाजिक सत्ता र व्यवस्था निर्माणका निम्ति अग्रसर भएका छन् । सर्वहारावर्गको उद्देश्य विपरीत दलाल पुँजीवादी तत्वको हितकारी भई क्रान्तिकारी वर्गको विरोध गर्नु तिनको विशेषता रहको छ । मालेमावादी दर्शनमा अभिव्यक्त मान्यता अनुरुपको क्रान्तिकारी विचारधारालाई परित्याग गरी प्रतिक्रियावादी विचारधारामा समाहित भएपछि तिनका सृजन कर्म सर्वहारावादी विचारबाट च्यूत हुनु स्वाभाविक छ । समकालीन प्रगतिवादी साहित्यमा संशोधनवादी समाजवादीहरू– जो आफुलाई ‘वैज्ञानिक समाजवादी’ का रूपमा अभिव्यक्त गर्दै आएका छन्– को प्रभाव परेको छ । मालेमावादी सौन्दर्यशास्त्रद्वारा स्थापित कला साहित्यमा प्रतिमानको अस्वीकृति र संशोधन तथा नवसंशोधनवाद गैरसर्वहारा वर्ग विशेषको रुचि, सौन्दर्य र वृत्ति र आनन्दको प्राप्तिका निम्ति क्रान्तिकर्मी आदर्शलाई परित्याग गर्न पुगेका छन् । तिनका चिन्तनमा सर्वहारा वर्गको आर्दश र बुर्जुवा वर्गको आदर्शलाई घोलमाल गरी आफुलाई असल बनाउने चाहको सङ्केत गरिएको पाइन्छ । नयाँ जनवादी क्रान्ति र त्यसको स्वरूपको विरोध गर्नु र बुर्जुवा समाजवादीहरूसँग सन्निकट रहनु तिनको वैशिष्ट्य हुन पुगेको छ । क्रान्तिकारी र संशोधनवादीका बिच झिनो विभाजक रेखा रहेको हुनाले क्रान्तिकारी र संशोधनवादीलाई छुट्याउनु गाह्रो हुन्छ । तापनि वैचारिक एवम् वर्गीय अवस्थिति र तिनका संसदीय बुर्जुवा आत्मिक तथा भौतिक क्रियाकलापबाट नै संशोधनवादीहरूको पहिचान गर्न सकिन्छ । वर्गीय एवम् राष्ट्रिय आत्मसमर्पणवादीहरू प्रगतिशील एवम् क्रान्तिकारी आदर्शलाई छोड्छन् र बुर्जुवा आदर्शको महिमामण्डन गर्दछन् । तिनले सर्वहारा तथा उत्पीडित जनता र तिनका आधिकारिक प्रातिनिधिक क्रान्तिकारी शक्तिहरूले चलाएका विगतका महान् सङ्घर्ष, समर्पण, जनयुद्व तथा जनआन्दोलनका उच्चतालाई न्यूनीकरण गरी घृणाभाव तथा तिरस्कार गर्ने काम गर्दछन् । प्रातिनिधिक घटना, वस्तु, पात्र, उदेश्य प्रतिको नकारात्मक एवम् विद्रुप अभिव्यक्तिमै केन्द्रित हुन्छन् र तिनीहरू टिठ लाग्दा माक्र्सवादी देखिन्छन् । संवैधानिक राजतन्त्रवादी, संसवादी तथा बुर्जुवा गणतन्त्रवादी हुँदै याथास्थितिवादको पक्षधर हुन्छन् । महान् र उदात्त जनयुद्वको ऐतिहासिक यथार्थबाट अलगिँदै सर्वहारा वर्ग र सर्वहारा मानवतावादी धारा एवम् प्रवृत्तिलाई नकार्न पुगेको पाइन्छन् । वर्गसङ्घर्षलाई वर्गसमन्वयमा फेर्नु र मुक्ति र मुक्तिकामी विचारलाई छोड्नु अनि क्रान्तिकारी भूमिका परित्याग गरी सर्वहारा वर्गको अधिनायकत्व सम्बन्धी प्रतिमान त्याग्नु संशोधनवादीहरूको चिन्तन र विचारधाराको सारवस्तु हो । वर्गसङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्व प्रश्नलाई गौण बनाउनु भनेको समाजमा रहेका असमानता, विभेद र वैषम्यलाई नदेख्नु हो । सर्वहारा र क्रान्ति सम्बन्धी विचारधारात्मक अग्रगामी गतिलाई निस्तेज पार्दै अन्ततः प्रतिक्रियावादमा पतन भई क्रान्ति र परिवर्तनलाई धोका दिने काम गर्नु हो । मालेमावादी दर्शनलाई क्रान्तिको र मुक्तिको दर्शनका रूपमा नमान्ने तत्वहरू छदम् रूपमा क्रान्तिकारी देखिन्छन् । विशेषतः समाजवादी यथार्थवादमा संशोधनवाद निम्न रूपमा प्रकट भएको छ ।
क. समकालीन युगमा मालेमावादबाट दार्शिनिक वैचारिक र राजनीतिक विचलन÷ संशोधन÷नवसंशोधनद्वारा संशोधनवाद जन्मेका पाइन्छ ।
ख. संशोधनवाद समाजावादी यथार्थवादी साहित्य कला विरुद्ध उभिएको पाइन्छ ।
ग. क्रान्तिमा बलपूर्वक सत्ता हत्याउने कार्यको निषेध गर्दछ ।
घ. यो क्रान्तिकारी उदात्त आदर्शबाट च्यूत हुन्छ ।
ङ. प्रारूपीकरण÷महान् नायक, वस्तु र परिवेशको विरुद्ध छ ।
च. यसले वर्गसङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्वलाई मान्दैन ।
छ. यसले संसदवाद, वर्गसमन्वयवाद तथा गैरक्रान्ति÷प्रतिक्रियावादलाई स्वीकार गर्दछ ।
ज. यसले सर्वहारा तथा उत्पीडित वर्गको महान् र उदात्त आदर्श चरित्र र प्रवृत्तिको पुनरुत्पादन÷प्रतिबिम्बन भन्दा त्यसको विरूपीकरण गरी प्रस्तुत गर्दछ ।
झ. उत्सर्ग तथा बलिदानपूर्ण सौन्दर्यात्मक अन्तर्वस्तुको निषेध र जनवादी क्रान्तिको विरोध गर्छ ।
ञ. यसले यथार्थको क्रान्तिकारी विकासमा भन्दा त्यसको स्थिरतामा जोड दिई शोषणकारी व्यवस्था सुदृढ गर्ने कुरामा जोड दिन्छ ।
३.निष्कर्ष
मालेमावादी दर्शनका आधारभूत मान्यतालाई दरिलो रूपमा पक्री ऐतिहासिक आसयसहितको यथार्थको ठोस चित्रण÷रेखाङ्कन् गर्न सघाउने, महान् नायक, विषयवस्तु र परिवेशको प्रारूपीकरण गर्ने क्रान्तिकारी जीवनको प्रतिबिम्बन गर्ने, सर्वहारा वर्ग र तिनको सङ्घर्ष, बलपूर्वक सत्ता हत्याउने कार्य एवम् सर्वहारावर्गको अधिनायकत्वप्रति प्रतिवद्ध हुँदै क्रान्ति र भविश्यप्रति दृढ आस्था रहेका स्रष्टाहरू नै समाजवादी यथार्थवादी हुन सक्छन् । यस विपरीत मालेमावादी दर्शनमा आधारभूत सिद्धान्त तथा दृष्टिकोणबाट च्यूत एवम् स्खलित भई सर्वहारावादी आदर्शलाई निषेध गरी सुधारवाद, संसदवाद, वर्गसमन्वयवाद र प्रतिक्रियावादलाई आत्मसात गर्न पुगेका लेखकहरू गैरसमाजवादी यथार्थवादी हुन् । शोषणपूर्ण तथा उत्पीडनकारी राज्यसत्ता र त्यसको जनविरोधी स्वरुपलाई सकारी मालेमावादी दर्शनको दार्शनिक वैचारिक र राजनीतिक दृष्टिकोणको निषेधमै संशोधनवाद उभिएको छ र समकालीन युग अनुरुपको सामन्तवाद, दलाल पुँजीवाद तथा साम्राज्यवाद र विस्तारवादका विरुद्ध कला साहित्यको वर्गसङ्घर्षलाई तीव्र पार्नु पर्दछ । विशेषतः वर्गसङ्घर्ष र सर्वहारा अधिनायकत्व तथा सर्वहारा मानवतावाद विरुद्ध परिलक्षित आदर्शवाद, सुधारवाद, संशोधनवाद, नवसंशोधनवाद, वर्गसमन्वयवाद तथा संसदवाद नै क्रान्ति र सौन्दर्य विरोधी रहेका छन् । यस विपरीत दार्शनिक, वैचारिक तथा राजनीतिक प्रतिवद्धतासँगै आमूल परिवर्तन सम्बद्ध क्रान्तिकर्ममा केन्द्रित हुनु र अभिव्यञ्जना गर्नु नै समाजवादी यथार्थवादी सर्जकको पृथक् वैशिष्ट्य हो ।
सन्दर्भ सामग्री
–जिस, आब्नेर, (१९८५) कला वैचारिक एवम् सौन्दर्यात्मक पहलु, मास्को ः रादुगा प्रकाशन ।
–चैतन्य (३६९) माक्र्सवादी सौन्दर्य चिन्तन, ललितपुर ः साझा प्रकाशन ।
– वैद्य, मोहन (२०६७) माक्र्सवादी दर्शन, काठमाडौं ः प्रगतिशील अध्ययन केन्द्र ।
–भण्डारी, जगदीशचन्द्र, डा. ताराकान्त पाण्डेय (२०६७) प्रतिनिधि नेपाली समालोचना, काठमाडौं ः विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
–बोरेव, युरी (१९८५) एस्थेटिक्स, मास्को ः प्रोग्रेस पब्लिसर्स ।
(वर्गबोधबाट)