नेपालको सीमा क्षेत्रको डुवान समस्यामा भारत मुख्य दोषी

प्रकाशित मिति : २०७५ असार २३

काठमाडौं । नेपालको तराई मधेसको सीमा क्षेत्रमा हुने डुवान समस्यामा भारत मुख्य दोषी पाइएको छ । नेपाल र भारतको संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिले हालै ७ स्थानमा गरेको स्थलगत अध्ययनका अनुसार सीमा क्षेत्रमा हुने डुवानमा भारत दोषी पाइएको हो । अध्ययन अनुसार कतै भारतीय पक्षले अवैज्ञानिक तटबन्ध बनाएको त कतै तटबन्ध नबनाएका कारण नेपाली भूमि डुबेको पाइएको जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका उपमहानिर्देशक प्रदिप थापाले बताए । उनका अनुसार देशको पूर्वी भागका ७ वटै स्थानमा भारतीय पक्षको कमजोरी देखिएको छ । सप्तरीको खाँडो नदीमा भारतीय पक्षले तटबन्ध नबनाएका कारण नेपाली भूमि डुवानमा परेको छ भने सिराहाको मैनावत्ती र गगन नदीको पानी जमेका कारण नेपाली भूभाग पर्ने गरेको छ । खुरौना पुल भत्केको र कल्भर्ट सानो बनेका कारण पानी बगेर जान पाएको छैन, जसका कारण डुबानमा पर्ने गरेको समितिको ठम्याई छ ।

त्यसैगरी कमला ब्यारेजमा नेपालतिरको सबै तटबन्ध निर्माण भएको तर, भारतीयले भने तटबन्ध निर्माण नगरेको देखिएको छ । पानी बगेर जाने स्थानमा ग्रेभयार्ड रहेको र बालुवा जमेको छ, जसले पानी बग्न दिएको छैन । बग्न नपाएको पानी ‘ब्याक’ भएपछि नेपालतर्फ तिलाची गाउँ डुबानमा पर्ने गरेको छ । महोत्तरीको रातु नदीमा भारतीय पक्षले बनाएको तटबन्ध अवैज्ञानिक भएको पाइएको छ । सर्लाहीको बकरी बारामा भारतको मुडाहा नदीको पानी नेपालतर्फ आउने गरेको छ ।

त्यसैगरी रौतहटको लालबकैयामा नेपालतर्फ तटबन्ध निर्माण भएको छ तर, भारतीय पक्षले तटबन्ध निर्माण नगर्दा गुहावटी गाउँ पुरै डुबानमा पर्ने गरेको छ । यही ठाउँमा बन्जरा गाउँ बचाउन भन्दै भारतले अवैज्ञानिक तटबन्ध बनाएको छ, जसले नेपालतर्फका भूभागमा पानी जम्मा हुने गरेको पाइएको छ । रिङबन हरेक वर्ष जसो डुबानमा पर्ने गरेको छ । यसको कारण बागमती नदीमा नेपालले तटबन्ध बनाएको तर, भारतीय पक्षले नबनाउनु भएको समितिको ठहर छ ।