बदमान हुने डरले काभ्रेमा एक बालिकाको हत्या, बाराका मन्सुरी पक्राउ

बदमान हुने डरले काभ्रेमा एक बालिकाको हत्या, बाराका मन्सुरी पक्राउ

काभ्रे, असार २१ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१आधाबाटोमा बालिका हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार बुधबार राति सोही स्थानका अन्दाजी ९/१० वर्षीया एलिशा तामाङलाई घर नजिकै कुटपिट गरी हत्या गरेर फालेको आरोपमा एक जनालाई पक्राउ गरिएको हो । पक्राउपर्नेमा बारा जिल्ला गटहला गाउँपालिका–४ का जोखन मन्सुरी रहेका छन् ।

प्रहरीका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुरी र एलिसाकी फुपू २१ वर्षीया मिना तामाङलाई एलिसाले बाख्राको खोरमा आपत्तिजनक अवस्थामा भेटेकी थिइन् । पोल खुल्ने डरले लगत्तै दुई मिलेर बालिकाको हत्या गरेको प्रहरी भनाइ छ ।

बालिका हत्यामा संलग्न मन्सुरी र ती महिलालाई आक्रोसित भिडले कुटपिट गरी घाइते बनाएका थिए । घाइते दुवै जनाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुवै जना प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढिसकेको प्रहरीले जनाएको छ । मन्सुरी विगत नौ महिनादेखि सोही ठाउँमा निर्माण मजदुरको काम गर्दै आएको प्रहरीले जनाएको छ ।