एजेन्सी । संयुक्त राज्य अमेरिकाको म्यारीकोपाको फाउन्टन सहरमा एक अचम्म लाग्दो घटना घटेको छ । जहाँ एक ९२ वर्षीय आमाले आफ्नै ७२ वर्षीय छोरामाथि गोली हानी हत्या गरेकी छन् ।
प्रहरीका अनुसार वृद्ध आमालाई छोराले जबरजस्ती वृद्धाश्रम पठाउन खोजेपछि आक्रोशित बनेकी आमाले छोरालाई गोली हानी हत्या गरेकी हुन् । यो घटना यही जुलाई २मा फाउन्टेन सहरमा भएको हो । छोराको हत्या गरेकी अन्ना मे ब्लिसिङले भनेकी छन्, ‘छोराले मेरो जिन्दगी बर्बाद गर्न खोजेपछि मैले पनि उसको जीवन खतम गरेकी हुँ ।’
घरमा अन्ना, उनका छोरा र छोराकी प्रेमीका बस्दै आएका थिए । उनले छोराको हत्या गरी आफूले पनि आत्महत्या गर्न खोजेको प्रहरीलाई उद्धत गर्दै बीबीसीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार अन्नाका छोरा आमासँग बस्न चाहँदैनथे । उनको चाहना थियो, आमाले घर छोडेर वृद्धाश्रम गइदिउन् । उनी आमासँग आजित भएको पनि समाचारमा जनाइएको छ । प्रहरीका अनुसार घटनाको दिन अन्ना छोराको कोठामा गइन् । उनले कम्मरमा दुईवटा पेस्तोल बोकेकी थिइन् । विवाद सुरु भएपछि अन्नाले पेस्तोल निकालिइन् र सिधै छोरामाथि प्रहर गरिन् । घाँटीमा गोली लागेका छोराको घटनास्थलमै मृत्यु भयो ।
प्रहरी घटनास्थल पुग्दा छोराको मृत्यु भइसकेको थियो । छोराको हत्या पछि अन्नाले छोराकी ५७ वर्षीया प्रेमीकालाई पनि गोली हान्न खोजेकी थिइन् । तर पेस्तोल कोठाको कुनामा खसेपछि उनी भने बाँच्न सफल भइन् । त्यसपछि अन्नाले दोस्रो पेस्तोल झिकिन् । उनले उक्त पेस्तोल १९७० मा आफ्ना श्रीमानले आफूलाई दिएको प्रहरीलाई बताएकी छन् ।
मृत छोराकी प्रेमिकाले प्रहरीलाई खबर गरेपछि उक्त घटना बाहिर आएको हो । उनले आफ्ना प्रेमीको हत्या गर्ने वृद्धालाई कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन् । प्रहरीले हत्याको आरोपमा मुद्दा दर्ता भइसकेको बताएको समाचारमा जनाइएको छ । त्यहाँको अदालतले ९२ वर्षीय वृद्धासँग पाँच लाख डलर धरौटी मागेको छ ।





























