मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउन दिनभर लाग्ने

मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउन दिनभर लाग्ने

चितवन, असार २० । मुग्लिन–नारायणगढ सडकखण्डको दुई ठाउँमा खसेको दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको छ । सडकखण्डको कालीखोला र टोपेखोलामा पहिरो खसेपछि सडक अहिले पनि अवरुद्ध छ ।

मुग्लिन–नारायणगढ सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार थप पहिरो नखसेमा कम्तीमा दिनको ४ बजेसम्ममा दुईतर्फी सडक सञ्चालन गर्न सकिने बताएका छन् । सो सडकखण्डको टोपे खोलामा बिहान ५ः३० र कालीखोलामा ८ः३० मिनेटमा एक्कासी पहिरो खसेको थियो ।

पहिरो खसेको दुबै ठाउँमा दुई–दुई वटा एक्साभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । अहिले दुई पहिरोको बीचमा सवारी साधन रहेकोले एकतर्फी सडक सञ्चालन गरेर बीचमा रहेका सवारी कटाउने काम भईरहेको र १ बजेसम्म उक्त सवारीलाई त्यहाँबाट सारिसक्ने उनले बताए ।

मुग्लिनबाट तीन दशमलव १२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला तीन दशमलव तीन किलोमिटर दूरीमा छ । बीचको १८० मिटरमा मात्रै झन्डै ६० सवारीसाधन रहेको प्रहरीले जनाएको छ । पहिरोले पूरै सडक ढाकेको छ । टोपेखोलामा पहिरोले करीब ५० मिटर र कालीखोलामा ३५ मिटर ढाकेको बिसुरालले बताए ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यथाशक्य छिटो एकतर्फी सवारी खुलाएर बीचमा अड्किएका गाडी सुरक्षित स्थानमा लैजान पहल भइरहेको बताए । यो सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको समस्या बढेर गएको बताइएको छ । ती दुवै ठाउँमा दुई सातायता लगातार पहिरो खसिरहेको छ ।