निस्क्रिय ‘सार्क’को स्थान लिंदै ‘बिम्स्टेक’ !

निस्क्रिय ‘सार्क’को स्थान लिंदै ‘बिम्स्टेक’ !

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं । आजभोलि दक्षिण एशियाली देशहरुको साझा संगठन सार्क निस्क्रिय हुन पुगेको छ । यसका गतिविधि र कामकारवाहीहरु शुन्य जस्तै छन् । यसको शिखर वैठकका बारेमा पनि कुराहरु चलेका छैनन् । नेपाल, भारत, पाकिस्तान, भूटान, बाङ्गलादेश, मालदिप्स, श्रीलङ्का र अफ्गानिस्तान गरी आठ राष्ट्रहरु सम्मिलित सार्क अहिले बेकम्मा जस्तै भएको छ ।

पहिलो प्रसङ्ग

यसको मुुख्य अपजस भारत र पाकिस्तान बीचको मनमुटावलाई दिइन्छ । यी दुई छिमेकी देश सधैं विवाद र लडाइँको अवस्थामा रहँदै आएका छन् । एकले अर्कालाई अघोषित रुपमा ‘शत्रु’ राष्ट्र करार गर्दछन् । औपचारिक समारोह र सद्भावना भ्रमणमा भने एकअर्कालाई सम्मान र पच्ने खालको आलोचना गर्ने गरेका देखिन्छन् । पाकिस्तानले भारतलाई मिचाहाका रुपमा हेर्छ र भारत–पाकिस्तानको सीमामा रहेको हिमाली भूभाग जम्मुकश्मिरलाई जबर्जस्त कब्जामा राखेको भनी आरोप लगाइरहन्छ । तर भारतले पाकिस्तानलाई सीमापार आतंकवादलाई बढावा दिइरहेको भनी आलोचना र आक्रमण गरिरहन्छ ।

चीनलाई पनि सार्कको सदस्य बनाउनु पर्ने कुरामा केही वर्षपहिले देखि पाकिस्तानले जोड दिँदै आएको छ । तर भारत भने यो कुरामा सहमत छैन । भारतलाई लागेको छ, यदि चीन जस्तो शक्तिशाली देश सार्कमा सम्मिलित भएमा भारतको वर्चस्व सदाका लागि अन्त्य हुन जाने छ । त्यसैले भारत कुनै पनि मूल्यमा र कुनै पनि बाहनामा चीनलाई सार्क सदस्यका रुपमा भित्र्याउन तयार देखिदैन ।

चीन सार्कको सदस्य राष्ट्र भएमा दक्षिण एशियामा भारतको सार्क देशहरुमा दोस्रो स्थान रहने छ । पहिलो चीनकै रहन जाने छ । तर भारतले खुल्ला रुपमा विश्वभर विचरण गरिरहेको महाशक्तिका रुपमा उदियमान चीनलाई तत्काल रोकेको वा आउन नदिएको जस्तो लागे पनि स्वतः चीनको प्रभुत्व र वर्चश्व हाबी हुँदै गइरहेको छ । भारत र यसको विसाल बजार पनि चिनियाँ सामानहरुबाट मुक्त र अछुतो हुन गएको भने छैन ।

दोस्रो प्रसङ्ग

भारतले यसलाई मनन् गरेर पछिल्लो पटक भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमणलाई निकै चासो र महत्व दिएका छन् । चीनले पनि भारतलाई एउटा शक्तिका रुपमा स्वीकार गरेको छ र सहकार्यको हात अघि बढाएको पनि छ । यो अवस्थामा सार्क दुई कारणले निस्काम हुन सक्छ ः पहिलो भारत पनि साङ्घाई कोअपरेशनमा जानु र सार्कको आवश्यकता नरहनु, दोस्रो, दक्षिण एशियामा चीनको प्रभाव र बर्चश्व जबर्जस्त हाबी हुनु र भारतको भूमिकामा कमी आउनु । भूमिकामा कमी आएपछि भारत सार्क ब्युँझाएर फाइदा हुने कुरामा असहमत देखिएको छ ।

उता पाकिस्तान भने सार्क ब्युँझाउने पक्षमा छ । केपी ओलीको पार्टीले सरकार गठन गर्नसक्ने हैसियत बनाएलगत्तै पाकिस्तानी प्रधानमन्त्री एक्कासी नेपाल भ्रमणमा आई ओलीलाई सार्कको शिखरसम्मेलनका लागि संयुक्त पहल गर्न लबिङ पनि गरेका थिए । तर ओली भने भारतले जे भन्छ, त्यही गर्ने पक्षमा रहेकाले पाकिस्तानी प्रमको सार्कसम्बन्धी लबिङ त्यत्तिकै हराउन पुग्यो । बरु ओलीले बिम्स्टेकका कुरा गरेर पाकिस्तानी प्रमलाई फर्काइदिए ।

तेस्रो प्रसङ्ग

आगामी भदौ महिनामा बिम्स्टेकको वैठक काठमाडौंमा हुने भएको छ । यसका लागि नेपालको सरकार तयारीमा जुटेको पनि बताइएको छ । बिम्स्टेकको शिखर बैठक, भेला र सम्मेलन हुनु नराम्रो कुरा पनि होइन, तर सार्कको गतिरोध भएका बेला बिम्स्टेकका मात्र कुरा गर्नुको अन्तर्यमा सार्क नब्युँताउने उद्देश्य नै रहेको विश्लेषकहरुले बताउन थालेका छन् ।

हाल बिम्स्टेकमा नेपाल, भारत, म्यानमार, भूटान, बांगलादेश, श्रीलंका र थाइल्याण्ड गरी सातवटा देशहरु रहेका छन् । यसमा पाकिस्तानलाई सामेल गराइएको छैन । पाकिस्तानलाई भारत एक त आफ्नै दुश्मन राष्ट्रका रुपमा व्यवहार गर्दछ, दोस्रो, पाकिस्तान मार्फत् चिनियाँ प्रभाव बढ्ने आशंका पालेर पनि राखेको छ ।

तर स्मरण रहोस् कि बिम्स्टेकमा रहेका सातवटा देशहरुमध्ये भारत बाहेक अरुमा चीनको प्रभाव भारतको भन्दा धेरै रहेको छ ।