कोलम्बियालाई ह्यारी केनको डर

कोलम्बियालाई ह्यारी केनको डर

काठमाडौं, असार १९ । जारी विश्वकपको नकआउट चरणको अन्तिम खेलमा आज (११ः४५बजे) कोलम्बिया र इंग्लाण्ड भिड्दैछन् । जसमध्ये विजेता एक टोली क्वार्टरफाइनलमा प्रवेश गर्दै विश्वकप जित्ने दौडको एक कदम अघि पुग्नेछ ।

यस अघिको स्थितिलाई हेर्दा कोलम्बियाले इंग्लाण्डलाई अहिलेसम्म हराउन सकेको छैन । इंग्लाण्ड र कोलम्बियाले कुल पाँच खेल खेलको छ जसमध्ये इंग्लाण्डले ३ मा जीत र २ मा बराबरी खेलेको छ । विश्वकपमा भने यी टोलीले एउटा मात्रै खेल १९९८को समूह चरणमा खेलेको थियो । जसमा कोलम्बियालाई इंग्ल्याण्डले २–० ले पराजित गरेको थियो ।

समूह चरणको खेलमा कोलम्बियाले जापानसँग २–१ को हार व्यहोरेको थियो । त्यसपछि भने पोल्याण्डलाई ३–० र सेनेगललाई १–० ले पराजित गर्दै समूह एचको विजेताका रुपमा कोलम्बियाले दोस्रो चरणमा स्थान बनायो ।

२०१४ का सर्बाधिक गोलकर्ता (६) जेम्स रोड्रिगेज फिट छन् कि छैनन भन्ने चासो कोलम्बियाका समर्थकलाई छ । गतबिहीबार भएको सेनेगलविरुद्धको खेलमा उनी घाइते भएका थिए । उनी शुक्रबार र शनिबारका अभ्यासमा पनि देखिएका थिएनन् ।

यो अवस्थामा उता गोल्डेन बुटको दावेदार मानिएका ह्यारी केन राम्रो लयमा छन् । उनीले अहिलेसम्मको अवस्थामा ५ गोलको साथ शीर्ष स्थानमा छन् । समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई २–१ र दोस्रो खेलमा पानामालाई ६–१ ले पराजित गरेको इंग्ल्याण्डले अन्तिम खेलमा बेल्जियमसँग १–० ले पराजित हुँदै समूह जी को उपविजेताका रुपमा कोलम्बियासँगको भेट पक्का गरेको हो ।

कोलम्बियाविरुद्ध खेल्दा प्रशिक्षक गारेथ साउथगेटले आफ्ना टोलीका सदस्यलाई आफ्नो इतिहास रच्न उत्साहित पारिरहेका हुनेछन् । पछिल्लो पटक २००६ मा इंग्ल्याण्ड क्वार्टरफाइनलमा पुगेको थियो । त्यसयता यो टिम विल्कुनै नयाँ र युवा छ ।

‘नकआउट चरण जित्न नसकेको हामीले १० वर्ष बढी भैसक्यो,’ साउथगेटले भने, ‘यसपटक युवा खेलाडीसँग पूर्व अनुभवी खेलाडीहरुको भन्दा अगाडि बढ्ने र आफ्नो इतिहास आफै खेल्ने सुनौलो अवसर छ ।’

प्रतियोगिताबाट दाबेदार मानिएका टोलीहरु जर्मनी, स्पेन, अर्जेन्टिना र पोर्चुगल बाहिरिसकेको अवस्थामा इंग्ल्याण्डको बाहिरिने सम्भावना भने उनी नकार्छन् ।

साउथगेट भन्छन्,‘अन्तिम पटक एक दशक अघि नकआउट चरणमा पुगे पनि हामी धेरैपटक यस स्थानमा पुगिसकेका छौं,’ खेलको नतिजा के होला त्यो अहिल्यै सोच्नु उत्तम हुदैँन् । हाम्रो पूरा ध्यान खेलमा केन्द्रीत छ र हामी शतप्रतिशत दिनेछौं ।’

इंग्ल्याण्डले आफ्ना पछिल्ला ८ विश्वकपका नकआउट चरणका खेलमा दुईमा मात्रै जित हात पार्न सकेको छ । उसले २००२ मा डेनमार्क र २००६ मा इक्वेडरलाई पराजित गरेको थियो । यो सँगै मंगलबार राति हुने खेलमा कोलम्बियालाई हराउँदै इंग्लाण्ड क्वाटरफाइनलमा जाने दाउमा छ ।