काठमाडौं । नेपालमा केही वर्ष पहिलेदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आइएको छ । यो वर्ष पनि असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइयो । किसानहरुको पङक्तिबाट पनि यसलाई आत्मसात् गरेर पर्वकै रुपमा मनाउँदै जाँदा यसले राष्ट्रव्यापी महत्व ग्रहण गर्दै गइरहेको पनि छ ।

मनसुनी वर्षाको आगमनसँगै खेत र बारीहरुमा रमाउने किसानहरुका लागि असार १५ साच्चिकै खुशीयालीको दिन पनि रहन्छ । ढिलाइ भए पनि असारको १५ सम्म त नेपालमा पानी परेरै छाड्छ । यो बेलामा बारीमा मकै धेरै अग्ला र ठूला भई हुर्किइसकेका हुन्छन् भने किसानहरु एकोहोरो भएर धान खेतीमा लागेका हुन्छन् ।

पहाडी क्षेत्रहरुमा जुडा खेतको रोपाइ बैसाखजेठसम्म सिद्धिइसकेको हुन्छ । असारे र साउने खेतको रोपाइको तयारी चलिरहेको हुन्छ । केही दिन अघिसम्म फुस्रा र पानीविहीन रहेका खेतहरु असारको १५सम्म आइपुग्दा पानीले जलाम्यै भइसकेका हुन्छन् ।

मुठी रोपेर मुरी उब्जाउन किसानहरु बिहान झिसमिसेदेखि साँझको झ्याउँकीरी बास्दासम्म खेतका गह्रागह्रा र कान्लाकान्लामा हिंडिरहेका हुन्छन् । धेरै धानबाली उब्जाउने आशावादले भरिपूर्ण हुन्छन् किसानहरु । कतै रोपाइ गरिरहेका, कतै खेत हिल्याइरहेका, कतै हरियो बीऊ गोडिरहेका त कतै थकाइ मारिरहेका दृश्यहरुले साच्चै यो दिन पर्व नै बनिरहेको हुन्छ । असारे गीतको सुरिलो भाकाले त यसमा सुगन्ध नै थपेको हुन्छ ।

यस दिनमा खेतमा भोज खाने, आलीमा बसेर विभिन्न परिकारहरु बाँड्ने, हिलो खेल्ने र एकआपसमा सरसहयोग र परिमो गर्ने कामहरु गरिन्छ । त्यसैले यस दिनलाई मानो खाएर मुरी उब्जाउने दिन पनि भनिन्छ ।

नेपालको तराइ क्षेत्र धान उत्पादन गर्ने प्रमुख क्षेत्र हो । असारको १५ सम्म आइपुग्दा करीब करीब २० प्रतिशत धान रोपाइ भइसकेको हुन्छ । बाँकी ३० देखि १०० प्रतिशत धान रोपाइ श्रावणमा सकिन्छ । यति रमाइलो गरेर धानको उत्पादन गर्ने किसानहरुलाई सरकारले सुपथ मूल्यमा समयमै बीऊबिजन, मल र सस्तो व्याजमा ऋणसम्म पनि उपलब्ध गराउन सकिरहेको छैन ।

तथापि किसानहरुले आआफ्ना गच्छेअनुसार असार १५ लाई धान पर्वकै रुपमा मनाउन खेत हिल्याएर हिलो खेल्न, रोपाइ गर्न र असारे गीत गाउन तयारी गरिसकेका हुन्छन् । सकता अनुसार खानाका विभिन्न परिकारहरु बनाउने, एकले अर्कालाई निमन्त्रणा गर्ने, सँधियारसँग मिलेर रापाइँ गर्ने आदि तयारी गरिरहेका हुन्छन् ।
बढ्दै गएको खाद्यान्न परनिर्भरता

धानको महिमा जति गाए पनि नेपालमा खाद्यान्नमा परनिर्भरता बढ्दै गएको छ । धानको उत्पादन पहिलेको तुुलनामा प्रति वर्ष निकै कम हुँदै गएको छ । केही वर्ष अघिसम्म भारत तथा अन्य देशमा धान निर्यात गर्ने देश नेपाल हाल भारतबाट आयात गरेर मात्र धानिने अवस्थामा पुगेको छ ।

अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम पनि लागु गरिएको घोषणा गरिएको छ । तर यसको जनस्तरमा कुनै कार्यक्रम र भावकारिता आउन सकेको छैन ।

नेपालमा अहिले रैथाने धानको खेती हुन छाडेको छ । हाल हाइब्रिड धानको खेतीमात्र हुने गरेको छ । विज्ञका अनुसार नेपालका धान संरक्षणका लागि फिलिपिन्सस्थित अन्तराष्ट्रिय धान संरक्षण केन्द्रमा राखिएकोे छ । उनका अनुसार उचित सिंचाइ, उन्नत जातको धानको बीऊ, धान खेतीको उत्तम तरिका आदिमा ध्यान पुर्याए नेपालमा धान खेतीमा भनेजति उत्पादन गर्न सकिनेछ ।

नेपालमा पछिल्लो पटक जग्गा दलालहरुको बिगबिगी भई धानखेतीका लागि उत्तम र अब्बल जमीन धमाधम प्लटिङ भइरहेकाले बर्सेनी धान खेतीमा हुने उत्पादन र जाँगरमा ह्रास आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर