इतिहास बिर्सदा
या कसैको पोल्टामा
इतिहासलाई
थमाउँदा
के तिमीलाई गर्व लाग्छ ?
के तिमीमा स्वाभिमान जाग्छ ?
इतिहासलाई
इतिहासबाट
माइनस गरी
इतिहास बनाउँदा
के इतिहास रहन्छ ?
कुनै पुस्तकबाट
ध्वनि, शब्द, अक्षर, वाक्य
सबै सबै निकाल्दा
र पुस्तक बनाउँदा
के पुस्तक रहन्छ ?
पृथ्वी, जल, तेज
वायु, आकाश
मुटु, मस्तिष्क, श्वास
अनि
छलछल बग्ने रक्तधमनी
शरीरबाट हटाउँदा
के शरीर रहन्छ ?
निद्रै निद्रामा मस्त
नसै नसामा लस्त
अल्जाइमरद्वारा ग्रस्त झै
अचल संज्ञानशून्य
आफैबाट बहिष्कृत हुँदा
के मानिस मानिस रहन्छ ?
सपना शून्य हुँदा
हिजो र भोलि पनि
नहुँदा
इतिहासलाई निषेध गर्दा
र
इतिहास नरहँदा
इतिहास कहाँ रहन्छ ?
अनि
इतिहास प्लस इक कहाँ हुन्छ ?