माओवादीको बैठकले तय गरेको दिशाबोध

माओवादीको बैठकले तय गरेको दिशाबोध

भर्खरै मात्र नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठक सम्पन्न भयो । गत असोजमा पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनपछि बसेको यो तेस्रो पूर्ण बैठक हो । सम्मलेनपश्चात् पुसमा चितवनमा सम्पन्न बैठकले पार्टीको सङ्गठन निर्माणमा जोड दिँदै तीन महिने सङ्गठन सुदृढिकरण, विस्तार र जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानकै क्रममा चैतको अन्तिमतिर बसेको पोलिट व्युरोको बैठकले अभियानको समयावधी थप ग¥यो र जेठसम्म अभियान सञ्चालन गरियो । यतिखेर अभियानको समीक्षा गर्दै आगामी कार्ययोजना ठोस गरेर बैठक समापन भएको छ ।

बैठकमा गत पाँच महिनाको अभियानको समीक्षा, केन्द्रीय सदस्यहरूको कार्यसम्पादनको मूल्याङ्कन र समीक्षा, अन्य मित्रशक्तिका रूपमा रहेका विभिन्न पार्टीहरूसँगको एकता र ध्रुविकरण सम्बन्धी विगतको प्रस्तावको समीक्षा गर्दै आगामी कार्ययोजना सम्बन्धी गम्भीर बहस र छलफल भयो । साथै महासचिव कमरेड किरणले कार्यालयका तर्फबाट प्रस्तुत गर्नुभएको ‘तात्कालिक राजनीतिक प्रस्ताव’ माथि छलफल भयो । अन्तर्राष्ट्रिय परिस्थिति, देशको वर्तमान अवस्था, पार्टी कामको मूल्याङ्कन र आगामी कामबारे गरी चार वटा मुख्य शीर्षक रहेको राजनीतिक प्रस्तावमा व्यापक छलफलपछि हलबाट सिसिएमहरूले दिएका सुझाव समेट्दै आवश्यक परिमार्जन सहित सर्बसम्मतले पारित गरियो ।

यतिवेला देशमा क्रान्तिकारी सङ्कट पैदा भएको छ । नेकपा (एमाले) र नेकपा (माके)का बिचमा पार्टी एकता गरेर ‘अजङ्ग’को नेकपा बनेर भारी बहुमतको वामपन्थी नामको सरकार बनेता पनि यो सरकार न त कम्युनिष्टको सरकार हो, न त यसले समाजवाद स्थापना गर्न सक्छ । नेकपा स्वयम् कम्युनिष्ट पार्टी होइन । परन्तु वाम एकता, कम्युनिष्ट सरकार, राष्ट्रवाद, समृद्धि, सुशासन, शान्ती र सुखी नेपाली जस्ता अत्यन्तै लोकपृय नारा दिएर चुनाउमा भोट मागेपछि कम्युनिष्टप्रति अगाध आस्था, विश्वास र भरोसा बोकेका नेपाली जनताको भोट बटुल्न वर्तमान सरकार सफल भयो । यसलाई त रोक्न सकिएन । कम्युनिष्टको भ्रममा परेर भोट दिएका जनातालाई सहजै र सरल रूपबाट वर्तमान सरकार र सरकारी पार्टी नेकपा सच्चा सिद्धान्तनिष्ट कम्युनिष्ट पार्टी होइन भनेर बुझाउन निकै गाह«ो छ । त्यसका लागि समय लाग्ने कुरा निश्चितै छ । दोस्रो कुरा नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्वमा चलेका विगत छ दशकदेखिका जनआन्दोलन, किसान आन्दोलनका रूपमा चलेका विभिन्न वर्गसङ्घर्ष, झापा आन्दोलनहरूको संश्लेषित रूपमा भएको दशवर्षे महान् जनयुद्धसमेतले गम्भीर धक्का खाएपछि जनतामा निकै ठूलो निरासा, नेता कार्यकर्तामा आएको पलायनता, कुण्ठा र वितृष्णाले गर्दा पुनः त्यसप्रकारको वर्गसङ्घर्ष उठान गर्न पनि निकै ठूलो मूल्य चुकाउनु पर्ने अवस्था छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा क्रान्तिका लागि वस्तुगत अवस्था जतिसुकै अनुकूल रहेपनि युगान्तकारी परिघटनाका रूपमा भएको युद्धले धोका खानुबाट पैदा भएको चुनौती निकै पेचिलो हुने रहेछ । त्यसले आत्मगत अवस्थाको विकास गर्न सितिमिति दिँदो रहेनछ । अहिलेको क्रान्तिकारी सङ्कट हो यो ।

नेपालमा पहिलो पटक कम्युनिष्टको आवरणमा निर्माण भएको भारी बहुमतको सरकार, ‘समृद्ध नेपाल र सुखी नेपाली’को लोकप्रिय नारासँगै समाजवादी राज्यसत्ता निर्माण तर्फको यात्रा भनेर सत्ताधारी दल नेकपाले पारेको विभ्रम सानोतिनो बैचारिक आन्दोलन, भण्डाफोर, जनसङ्घर्षले चिरफार गर्न कठिन छ । त्यसका लागि नेकपाको ऊ स्वयम्बाट बैचारिक टाटपल्टाई र सरकारको फासिवादी कदम उनीहरूकै भोटरहरूले भोग्नु अनिवार्य छ । त्यसैले क्रान्तिकारी कम्युनिष्ट पार्टीले निकै सोचीविचारी धैर्यतापूर्वक कदम चाल्ने, आफ्ना कार्यकर्ता जनताको संरक्षण गर्ने र साथसाथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरूमा क्रमशः जनसङ्घर्ष उठान गर्दै जानु पर्ने आवश्यकता छ । यसैको तयारीमा पनि यो केन्द्रीय समितिको बैठक केन्द्रीत रह्यो ।

जनयुद्धलाई कथित शन्तिप्रकृया मार्फत् मुख्य नेतृत्वबाट अबसान गराइएपछि आम जनता कार्यकर्तामा जनयुद्ध असफल भएको भनेर निकै ठूलो ढोल पिटिने गरिएको छ । यसले साम्राज्यवादी थिङ्कट्याङ्कहरूलाई माक्र्सवादलाई असफल सावित गर्न गतिलो मसला त पु¥यायो नै त्यसका साथै उत्तर–माक्र्सवादीहरूलाई समेत परम्परागत माक्र्सवाद काम लाग्दैन भनेर माक्र्सवादको आधारभूत सिद्धान्त परित्याग गर्दै उत्तर–माक्र्सवादको वकालत गर्न सहज बाटो खोलिदिएको छ । नेपालमा समेत त्यसको जवर्जस्त प्रभाव पर्न थालेको छ । अझ त्यो पनि हिज जनयुद्धमा सामेल भएर वर्गसङ्घर्षको प्रत्यक्ष नेतृत्व गरेका नेता कार्यकर्ताहरूबाटै नवमाक्र्सवादको वकालत गरिनु क्रान्तिकारी धाराका निम्ति अर्को चुनौती बनेर उभिएको छ । यस्तो परिस्थितिका बिचमा हामीले जनता र कार्यकर्तामा क्रान्तिकारी आशावाद जगाउँदै मालेमावादलाई दह«ोसँग समाउन र सङ्घर्षको ठोस योजना बनाएर क्रियान्वयनमा लैजानु पर्ने भएको छ । यतिखेर सम्मपन्न भएको पार्टीको केन्द्रीय समितिको बैठकले त्यसदिशामा क्रमशः बाटो सोभ्mयाएको छ ।

बैठकमा गत माघदेखि यही जेठसम्म सञ्चालन भएको पाँच महिने अभियानको गम्भीर समीक्षा गरियो । अभियान अपेक्षाकृत सफल नभएपनि मरुभूमीमा छटपटाएकाहरूलाई एकमुठी पानी दिन सफल भएको निष्कर्ष रह्यो । क्रान्तिकारी विचार र पार्टीलाई चौतर्फी घेराबन्दी, आक्रमण र संशोधनवादको हावाहुण्डरी चलेको बेलामा क्रान्तिको सपना देखिरहनु आफैमा एउटा सफलता त हुँदै हो त्यसमा पनि संशोधनवादको भण्डाफोर गर्न, हाम्रो पार्टी पोखरा सम्मेलनले पारित गरेको राजनीतिक कार्यदिशा जनता र कार्यकर्तासम्म लैजान केही हदसम्म सफल भएको निष्कर्ष पनि यो बैठकको रह्यो । सम्मलेनले प्रचण्ड स्कूलले निर्माण गरेको अराजक भीड जममा पार्ने संगठनात्मक संरचनालाई सापेक्षित रूपमा चुस्त बनाउनका लागि केन्द्रीय सदस्य बन्न पाँचवटा मापदण्ड तय गरेको थियो र त्यसका लागि छ महिने परीक्षण अवधि पनि तोकेको थियो । यो आफैमा सुद्धिकरणको पहिलो शर्त र अभियान पनि थियो । यतिवेलासम्म आउँदा पार्टीको अपेक्षाअनुरूप केन्द्रीय सदस्यहरू फिल्डमा को कति खट्यो र के कति कारणले खट्नमा ककस्को कमी रह्यो भन्ने वियामा पनि आफैले आत्म समीक्षा गर्दै आत्मालोचित हुने काम पनि भयो । यसले पार्टी अव प्रचण्ड स्कूल र प्रचण्ड शैलीबाट चल्न सक्दैन र चल्न दिनु पनि हुँदैन भन्नेमा बैठकमा सर्वसम्मत मत रह्यो । यो बैठकको महत्वपूर्ण उपलब्धी हो । केन्द्रीय सदस्यहरूले आफ्नो जिम्मेवारी भरपूररूपमा उपयोग गरेका जिल्लाहरूमा तुलनात्मक रूपमा अभियान प्रभावकारी भएको देखियो ।

अतः यतिखेरको नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक विगतका बैठकहरूको तुलनामा एककदम अगाडि बढेको छ । क्रान्ति गर्नका लािग पहिला क्रान्तिकारी विचार निर्माणको जरुरत हुन्छ । क्रान्तिकारी विचार निर्माण गर्ने र त्यसको नेतृत्व गर्ने कुरा सचेत प्रयत्नद्वारा सचेत नेताहरूको अगुवाइमा हुने कुरा हो । यतिवेला क्रान्तिकारी आशा, क्रान्तिकारी विचार र सङ्गठन उभारमा नभएर उतारको अवस्थामा छ ।
आज सुन्दर सपनाहरूको हत्या भएको छ । सपनाहरूको विसर्जन गराइएको छ । यसलाई विद्रुपीकरण गरिएको छ र आदर्शहरूको स्खलनता तर्फ मुलुकलाई धकेलिएको छ । एउटा निकै ठूलो युगान्तकारी परिघटना थियो दसवर्षे महान् जनयुद्ध । जनयुद्धलाई त्यसका मुख्य नायकबाटै सचेततापूर्वक विसर्जन गराएपछि आम जनतामा भएङ्कर डरलाग्दो तरिकाले निरासा, पलायनता, कुण्ठा र वितृष्णा पैदा गराइएको छ । त्यसैले जनतामा आसा जगाउन, क्रान्तिप्रति भरोसा जगाउन र नयाँ नायकहरू निर्माण गर्ने अभियानमा लगाउन जरुरी भएको छ । त्यसका लागि परिपक्व विचार निर्माणको आवश्यकता हुन्छ । परिपक्व विचार हाम्रो पार्टीले निर्माण गरेको छ । अब खाँचो छ त्यसलाई जीवनव्यवहारमा उतार्ने कुराको । त्यसतर्फ अभिप्रेरित गराउन यो बैठक एकहदसम्म सफल भएको मैले महसुस गरेको छु ।
१६ असार २०७५, घट्टेकुलो, काठमाडौं

(लेखक नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय सदस्य हुनुहुन्छ ।)